ऋषितर्पणी र गाईजात्रा प्रसंग

Read Time = 15 mins

✍️ तोयराज नेपाल

श्रावणशुक्ल पूर्णिमालाई ऋषितर्पणी पूर्णिमा भनिन्छ । यस दिन जनै लगाउने जति सबैले नित्य कर्म समाप्त गरेपछि गुरु शिष्य सबै मिलेर नदी आदि जलाशयमा गएर संकल्पपूर्वक श्रावणी स्नान गर्नुपर्छ । धेरै जना मिलेर गरिने स्नान भएको हुँदा यसलाई गणस्नान पनि भनिनन्छ । तर संक्रान्तौ ग्रहणे चैव सूतके मृतके पि वा ।
गणस्नानं न कुर्वीत नारदस्य वचो यथा ।
अर्थात् संक्रान्ति, ग्रहण, सूतक र जुठामा यो स्नान गर्न निषेध छ भन्ने नारदको वचन छ । यसमा दश किसिमको स्नान गर्नुपर्दछ । जो यस प्रकार छन्-
भष्म–गोमय–मृद्–वारि–गोमूत्रं गोमयं पयः ।
दध्याज्यं दर्भ इत्येते विहिताः क्रमशो दश ।
दध्याज्यं दर्भ–मन्त्राश्च विहिताः क्रमशो दश ।। इति पाठन्तरम् ।
अर्थात् १-भष्म स्नान (खरानी दलेर स्नान गर्ने) २-गोमय (गोबर) ३-मृद् (माटो) ४-वारि (पानी) ५-गोमूत्र (गहुँत) ६-गोमयं पयः गाईको दूध, ७– दही ८- आज्यम् (घ्यू) ९-दर्भ (कुश) र १०-मन्त्रसमेत गरी दश किसिमका स्नान हुन्छन् । स्नानपछि भष्म, चन्दन आदि धारण गरेर स्नानांग तर्पण गर्नुपर्छ । अनि सूर्याेपस्थान, सन्ध्यावन्दनादि सकेर उपाकर्म गर्नुपर्छ ।
श्रावण्यां प्रौष्ठपद्यां वा क्प्युपाकर्म यथाविधि । युक्तश्छन्दांस्यधीयीत मासान् विप्रोक्र्धपञ्चमान्ञ । मनुः।
सम्प्राप्ते श्रावणस्यान्ते पौर्णमास्यां दिनोदये ।
स्नानं कुर्वीत मतिमान् श्रुतिस्मृतिविधानतः ।।
उपाकर्मादिकं प्रोक्तमृषीणाञ्चैव तर्पणम् ।
शूद्राणां मन्त्ररहितं स्नानं दानं च शस्यते ।
उपाकर्मणि कर्तव्यमृषीणाञ्चैव पूजनम् ।। भविष्यपुराण ।
अर्थात् उपाकर्म भनेको वेदाध्ययनको आरम्भको उत्सव हो । यो कर्म आजबाट आरम्भ गरेर साढे पाँच महिनासम्म प्रत्येक दिन आ-आफ्ना शाखाका वेद अध्ययन गर्दै अन्त्यमा पौष या माघमा रोहिणी नक्षत्र परेका दिन नदीतटमा गएर विधिपूर्वक उत्सर्जन अर्थात् अध्ययन समाप्तिको उत्सव गर्नुपर्दछ । आजैका दिन अरुन्धतीसहित कश्यपादि सप्तर्षिहरूको पूजा पनि गर्नुपर्दछ । सप्तर्षिहरू यसप्रकार छन्-
१- कश्यप २-अत्रि ३- भरद्वाज ४- विश्वामित्र ५- गौतम ६- जमदग्नि २-वसिष्ठसमेत सप्त ऋषि र अरुन्धतिको पनि पूजा गर्नुपर्दछ । अनि रुद्राभिषेक गर्नुपर्दछ । त्यसपछि ऋषिलाई तर्पण पनि गर्नुपर्दछ । ऋषिलाई तर्पण गर्ने पर्व भएकोले यस पर्वको नाम नै ऋषितर्पणी पूर्णिमा भनिन्छ । आजै यज्ञोपवीको (जनैको) संस्कार गरी यज्ञेपवीत धारण गर्नुपर्दछ । यज्ञोपवीतसंस्कारमा पहिले तन्तुदेवताको वाहन गरी पूजा गर्नुपर्छ । तन्तुदेवताहरू यस प्रकार छन्-
१-ॐ कार २- अग्नि ३- सर्प (नाग) ४- सोम, ५-पितृ ६-प्रजापति ७-अनिल (वायु) ८- यम र ९- विश्वेदेवहरू रहन्छन् । तिनको आवाहन गरी पूजा गर्नुपर्छ । त्यसपछि ग्रन्थि (शिखा) मा तीन देवताको १-ब्रहृमा २-विष्णु र ३- रुद्र-को आवाहन र पूजा गर्नुपर्दछ ।

त्यसपछि कृताकृत अर्थात् गरे पनि हुने नगरे पनि हुने, ऋषिश्राद्ध गर्ने विधान छ । यो श्राद्ध नगर्दा प्रत्यवाय (पाप) नलाग्ने र गर्दामा फलातिशय हुने श्राद्ध भएको हुँदा गर्नेलाई फलप्राप्ति हुन्छ भने नगर्नेलाई पाप लाग्दैन । त्यसपछि यज्ञोपवीत धारण गर्नुपर्छ । यज्ञोपवीत धारण गर्दा पहिले आचमन गरेर विनियोग गर्नुपर्दछ- ॐयज्ञोपवीतमितिमन्त्रस्य परमेष्ठी ऋषिः लिंगोक्ता देवता श्रौतस्मार्तकर्मानुष्ठानसिद्ध्यर्थं नूतनयज्ञोपवीतधारणे विनियोगः ।

त्यसपछि यज्ञोपवीतलाई दुवैहातमा लिएर हातजोडी दशपटक गायत्रीमन्त्रले अभिमन्त्रण गर्नुपर्दछ । अनि तलको मन्त्र उच्चारण गरी यौटा एक्ले जनै लिएर दाहिने हात ठाडो पारेर पहिले हातबाट छिराएर पछिशिरबाट धारण गर्नुपर्दछ । मन्त्र यसप्रकार छन्-ॐ यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत् सहजं पुरस्तात् । युष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतम्बलमस्तु तेजः ।। ॐ यज्ञोपवीतमसि यज्ञस्य त्वा यज्ञोपवीतेनोपनहृयामि ।। इति । त्यसपछि अर्को एक्ले जनै लिएर पहिले जस्तै गरी पहिले दाहिने हात ठाडो परेर हातबाट छिराएर पछि शिरबाट छिराउनु पर्दछ । अनि पुरानु यज्ञोपवीत निकालेर त्याग गर्नुपर्दछ । पुरानो जनै त्याग गर्दा यो मन्त्र पढ्नुपर्छ ।

एतावद्दिनपर्यन्तं ब्रहृमत्वं धारितं मया । जीर्णत्वात्तत्परित्यागो गच्छ सूत्र यथासुखम् ।। इति । यसपछि आचमन गरेर यथाशक्ति गायत्री जप गरेर जप अर्पण गर्नुपर्दछ । अनेन नवीनयज्ञोपतीतधारणार्थे कृतेन यथाशक्तिगायत्रीजपाख्येन कर्मणा भगवान् सूर्यनारायणः प्रीयतां न मम । ॐ तत् सत् परब्रहृमार्पणमस्तु । यसै दिन रक्षाबन्धनको पूजा गरेर धारण गर्नुपर्छ । यसको मन्त्र यस प्रकार छ । येन बद्धो बली राजा दानवेन्द्रो महाबलः । तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।। इति । (बली राजामा रो रि सूत्रले दीर्घ भएको हो)

यसदिन विभिन्न थरीका गेडागुडीहरू तीन-चार दिनअघि नै भिजाएर उम्रेपछि क्वाँटी बनाई पकाएर खाँदा वर्षाकालमा लागेको चिसो जान्छ भन्ने पनि प्रचलन छ । यो चलन विशेषगरी नेवारजातिमा बढी छ ।

यसदिन विभिन्न थरीका गेडागुडीहरू तीन चार दिनअघि नै भिजाएर उम्रेपछि क्वाँटी बनाई पकाएर खाँदा वर्षाकालमा लागेको चिसो जान्छ भन्ने पनि प्रचलन छ । यो चलन विशेषगरी नेवारजातिमा बढी छ । ॐ हरये नमः।

गाईजात्रा पर्व
भाद्रकृष्ण प्रतिपदालाई गाईजात्रा पर्व भनिन्छ । खासगरी यो पर्वमा काठमाडौं उपत्यकाका नेवारजातिले मनाउने परम्परा छ । यस पर्वलाई भाद्रकृष्ण प्रतिपदादेखि भाद्रकृष्णअष्टमीसम्म मानाउने गरिएता पनि मुख्यरूपमा भाद्रकृष्णप्रतिपदालाई नै गाईजात्रा भन्ने गरेको पाइन्छ । यो पर्वको प्रचलन कहिलेदेखि चलेर आयो भन्ने बारे एउटा ऐतिहासिक जनश्रुति छ । जो यसप्रकार छ-
कुनै समयमा राजा प्रतापमल्लकी एउटी रानीको छोराको मृत्यु भयो । पुत्रको मृत्युमा रानी अत्यन्त विहृवल भइन् । रानीलाई सम्झाउन राजाले विभिन्न उपाय गरे तर रानीको चित्त बुझेन । अनि यसै दिन प्रतापमल्लले एउटा उर्दी गरे कि जसजसका घरमा यसवर्ष मानिसको मृत्यु भएको छ ती सबै घरबाट परिवारले गाईलाई सिँगारेर गाईको जस्तो आकार बनाएर कुमार केटालाई सिँगेर सबैले नगरपरिक्रमा गराउनू, नत्र सजाय हुनेछ भन्ने उर्दी गरे । उर्दीअनुसार हरेक मृतकका घरबाट गाई र कुमार केटालाई सिँगारेर निकाली नगरवासीहरू तिनका साथमा जताततैबाट लर्काे लागि सहर परिक्रमा गर्दै दरबार अगाडि अएपछि रानीले देखेर धेरै मानिसको मृत्यु भएको रहेछ, मेरा छोराको मात्र मृत्यु भएको होइन रहेछ, भन्ने बुझेर रानीको मन शान्त भएको थियो । त्यसैकारण यस समयदेखि गाई जात्राको परम्परा चलेको हो ।

यसदिन त्यसवर्ष मृत्युभएका परिवारका सदस्यको सद्गतिप्राप्ति हवोस् भन्ने कामना राखेर स्वर्गीय पितृका नाममा यसवर्ष मृत्युभएका घरबाट गाईलाई सिँगापटार गरेर निकालेर नगरपरिक्रमा गराइन्छ । साथसाथै गाईको अनुहारजस्तो मुखुण्डो लगाएर कुमार केटालाई सिँगारेर र गणेशको मूर्तिलाई पनि सिँगारेर नगरपरिक्रमा गराइन्छ । अगाडि पछाडि गाईका आकारका चित्र टाँसी टुप्पामा गाईका सिङ जस्तै आकारका दुईटा परालका सिङ बनाएर डोकामा राखी पुरोहितद्वारा गाई, गणेश र डोकाकोको पूजा गराई मृतकका घरबाट निकालेर नगरपरिक्रमा गराइन्छ । ती गाई गणेश र कुमार केटाहरूलाई घरघरबाट पूजा गरिन्छ ।

गाईजात्रका दिन यमलोकको ढोका अलिकति खेलिने र त्यसदिन नगर परिक्रमा गराइएका गाईका सिङद्वारा झट्का दिँदा यमलोकको ढोका पूरै खोलिने हुँदा मृतक व्यक्तिहरू सजिलै यमलोकमा प्रवेश गर्न पाउँछन् भन्ने जनविश्वास छ ।

फलफूल मिठाई रोटी आदि नैवेद्य र भेटीघाटीसमेत चढाइन्छ । कसै कसैले त जोगीको भेषमा पनि गाईलाई घरघर घुमाउँछन् । पछि सीतारामको भेषमा केटाकेटीहरूलाई निकालेर तिनको पनि पूजा गरिन्छ । यसरी कृष्णअष्टमीसम्म जात्रा निकाल्ने परम्परा छ । पहिला दिन नेवार जातिका सबैजसो घरका मानिसहरू जात्रामा सहभागी हुन्छन् भने अरू दिन मृतकका घर परिवारका साथमा केही मानिसहरू मात्र परिक्रमामा सहभागी हुन्छन् । घरबाट गाई निकालेर सहर घुमाउन गएपछि फिरेर नआाउन्जेल केही नखाने चलन छ ।

गाईजात्रबारे अर्काे पनि अचममको किंवदन्ती छ-
वर्षैभरि मेरका व्यक्तिहरू सिधै यमलोक जान नपाई यत्रतत्र प्रेतरूपमा भौँतारिएर रहेका हुन्छन् । गाईजात्रका दिन यमलोकको ढोका अलिकति खेलिने र त्यसदिन नगर परिक्रमा गराइएका गाईका सिङद्वारा झट्का दिँदा यमलोकको ढोका पूरै खोलिने हुँदा मृतक व्यक्तिहरू सजिलै यमलोकमा प्रवेश गर्न पाउँछन् भन्ने जनविश्वास छ । नेवारजातिमा गाईजात्राका अघिल्ला दिनसम्म मृत्युहुने व्यक्तिको मलाम जाँदा एककिसिमको छाता पनि लैजाने परम्परा छ । किनभने मृतक व्यक्ति यमलोकमा प्रवेश नपाई बाहिरै बस्नु पर्‍यो भने उसले भिज्नु नपरोस् भन्ने विचारले यसो गरिएको हो ।

तर, गाईजात्रका दिन यमलोकको ढोका खुला रहने हुँदा त्यसदिन मर्ने व्यक्तिका लागि छाता लगिँदैन । उपत्यका बाहिरका नेवार जातिको बस्तीमा भने यो सप्ताहभरि लाखेजात्रा मनाउने चलन छ । विभिन्न पत्रपत्रिकामा हास्यव्यंग्य प्रदर्शन गरी मनोविनोद गर्ने परम्परा पनि छ । गाईजात्राका मुख्यदिन भाद्रकृष्ण प्रतिपदाका दिन भने पत्रपत्रिकामार्फत व्यक्तगत गाली बेइजती गरिए पनि मुद्दा नलगाउने परम्परा पनि छ । जे होस् वैदिक सनातनीहरूले गाईलाई लक्ष्मीको रूपमा स्वीकारी जुनसुकै कर्म गर्दा पनि गाईको पूजा गरेर गाई दान गरेरमात्र कर्म गर्ने हाम्रो परम्परा छ । गाईको पञ्चगव्य पवित्र र स्वास्थ्यकारक छ । त्यसैले गाईको सेवा गर्दा मनुष्यको कल्याण हुन्छ । ॐ गवे नमः । ॐ हरये नमः ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?