शुक्लाफाँटाका पुतली पहिलो पटक पुस्तकमा

हिमालय टाइम्स
Read Time = 10 mins
A A- A+

-राजेन्द्र भट्ट

महेन्द्रनगर । पुतली-कोही निक्खर काला, कोही खैरा। कोही सप्तरङ्गी, कोही एउटा गाढा रङका। पुतली शब्द सुन्ने बित्तिकै प्रायस् सबैको मस्तिकमा फुलबारी र प्रकृतिको सुन्दरता स्मरण हुन्छ। बेग्ला–बेग्लै रङ र आकारमा घरआगन वरपर जताततै रङ्गी विरङ्गी पुतली देख्दा जो सुकैको मन हर्षित र आनन्दित हुन्छ।

प्रकृतिमा रमाएर उडिरहेका पुतली देख्दै आएका केही व्यक्तिले तिनका तस्विर र प्रजातिको खोजी गर्ने निधो गर्नुभयो। हुनत कामकाजका सिलसिलामा सधैंजसो संरक्षित क्षेत्रकै वरपर रहने उहाँहरूले वन्यजन्तुसँगै पुतलीका तस्बिर क्यामरामा कैद गर्दै आउनुभएको थियो तर संकलित तस्बिरमा रहेका पुतलीको नालीबेली यकिन थिएन। सौखका लागि खिचिएका तस्बिर अहिले एक पुस्तकमा संग्रहित छन्।

पुतली हेर्दा सुन्दर देखिने मात्र होइन यिनले प्रकृतिमा ठूलो भूमिका निर्वाह गरिरहेका हुन्छन्। बोटविरूवामा हुने परागसेचनमा पुतलीको भूमिका महत्वपूर्ण रहने गरेको छ। प्रमुख संरक्षण अधिकृत पौड्यालले भन्नुभयो– ‘भेटघाटमा पुतलीका बारेमा कुरा भए। कार्यक्षेत्रमा जाँदा तस्बिर खिचेर सबैले संकलन गरेका रहेछन्। अहिले विज्ञहरूसँग बसेर तिनको इतिवृत्ति खोजी गरी पुस्तक प्रकाशित गरेका छौं।’

पुतली सामान्यतया जहाँसुकै देखिने किरा प्रजातिको जीव हो। प्रायजसो जताततै देखिने यी जीव कतिथरीका हुन्छन् ? ट्वाक्क जवाफ दिने मानिस कमै भेटिएलान्। धेरैजसो त मौनता साधेरै बस्छन्। धेरैका लागि यो चासोको विषय नै होइन तर यस प्रश्नको जवाफ केही हदसम्म यस पुस्तकले दिनेछ। प्रस्तुत पुस्तकमा कञ्चनपुर जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने पुतलीहरूसम्बद्ध जानकारी समेटिएको छ।

पहिलो पटक शुक्लाफाँटामा किरा फट्याङ्ग्रा प्रजातिको अध्ययन अनुसन्धान गरिएको हो। आधा दशकको अध्ययन र अनुसन्धानपछि ‘वटरफ्लाइ अफ् शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज’ शीर्षकको पुस्तक प्रकाशित भएको छ।

जैविक विविधताले भरिएको शुक्लाफाँटामा रहेका पुतलीबारे आधिकारिक तथ्याङ्क समावेश गरी प्रकाशन गरिएको यो पहिलो हो। यसअघि यहाँ चार प्रजातिका वन्यजन्तुबारे मात्रै अध्ययन र अनुसन्धान हुँदै आएको छ। जसमा बाघ, गैंडा, बाह्रसिंगा र कृष्णसार रहेका छन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पुतलीबारे गरिएको अध्ययन र अनुसन्धानमा सहभागी सदस्य तथा शुक्लाफाँटा राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यालय प्रमुख लक्ष्मीराज जोशीका अनुसार सात सदस्यीय टोलीले क्यामरामा कैद गरेका पुतलीका तस्बिर पुस्तकमा समावेश गरिएका छन्। ‘संरक्षित क्षेत्रमा लामो समयदेखि लागेका सबै जनाको प्रयासमा संग्रहित तस्विर यस पुस्तकमा छन्। ती तस्बिर देखाएर विज्ञहरूसँग छलफल गरेपछि तिनको नामकरणसहित पुस्तक प्रकाशित गरेका हौं।’

पुस्तकमा समावेश गरिएका तस्विरहरू प्रमुख संरक्षण अधिकृतदेखि प्राविधिकसम्मले खिचेका छन्। पुस्तकमा प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्याल, संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन, सहायक संरक्षण अधिकृत रविन चौधरी, रेञ्जर यम रावत, कोषका प्रमुख लक्ष्मीराज जोशी, कोषकै प्राविधिक देवराज जोशी र धर्मजित साउदले खिच्नुभएको हो।

पुतलीका तस्बिर संकलन तथा अध्ययन अनुसन्धानमा संलग्न टीमका सदस्य प्रमुख संरक्षण अधिकृत पौड्याल भन्नुहुन्छ– ‘शुक्लाफाँटा विविधताले भरिएको संरक्षित क्षेत्रमध्ये एक हो। यहाँ रहेका किरा फट्याङ्ग्राको अध्ययन अनुसन्धान यसअघि भएको थिएन। त्यसलाई तस्विरसहित लिपिबद्ध गर्नु ठूलो उपलब्धि हो। यो सबैको सामूहिक प्रयासमा सफल भएको छ। मूलतस् पुतलीको अभिलेख निर्माण गर्नु हाम्रो उद्देश्य थियो।’

अहिले शिवपुरी राष्ट्रिय निकुञ्जमा कार्यरत प्रमुख संरक्षण अधिकृत पौड्याल यसअघि शुक्लाफाँटामा कार्यरत हुनुहुन्थ्यो। ‘शुक्लाफाँटामा रहँदा पुतलीबारे चासो जाग्यो। अरूले पनि यसमा रुचि राख्दै आएका थिए। सबैले संकलन गरेका पुतलीका तस्बिर समावेश गरी पुस्तक प्रकाशन गरिएको हो।’ प्रमुख संरक्षण अधिकृत पौड्याल थप्नुहुन्छ– ‘शुक्लाफाँटा पर्यटकका लागि उचित गन्तव्य हो। पुतलीप्रति चासो राख्ने पर्यटकका लागि यो पुस्तकले सहजीकरण गर्ने आशा राखेका छौं।’ नेपालमा झण्डै पौने सात सयको हाराहारीमा पुतलीका प्रजाति रहेका छन्। तीमध्ये एकसय ११ प्रजातिका पुतलीको तस्बिर यस पुस्तकमा संग्रह गरिएका छन्। तराईका जिल्लाका संरक्षित क्षेत्रमा पुतलीबारे अध्ययन अनुसन्धान गरी पुस्तक प्रकाशन गरिएको यो पहिलो पटक हो।

कोषका कार्यालय प्रमुख जोशी भन्नुहुन्छ- ‘अहिलेसम्म शुक्लाफाँटामा रहेका चार वन्यजन्तुको नियमित अनुगमन र गणना हुँदै आएको छ। चाँडै यहाँ रहेका गोहीको पनि गणना गर्ने तयारी भैरहेको छ। पुतलीको अध्ययन अनुसन्धान भने बिरलै हुने गरेकाले पनि यसलाई उपलब्धि नै मान्नुपर्छ।’ शुक्लाफाँटाभित्रका ताल र नदीमा गोही छन् तर अहिलेसम्म तिनको यकिन संख्या गणना गरिएको छैन।

३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटामा ५२ प्रजातिका स्तनधारी, चार सय २६ प्रजातिका पक्षी, १७ प्रजातिका उभयचर तथा सरिसृप, २४ प्रजातिका माछा छन्।

छ सय ६५ प्रजातिका वनस्पति रहेको शुक्लाफाँटा ६५ प्रतिशत वनक्षेत्र, करिब २४ प्रतिशत घाँसे मैदान, सात प्रतिशत सिमसार र करिब चार प्रतिशत झाडी तथा बुट्यान रहेका कार्यालयको तथ्याकंमा उल्लेख छ।

किरा फटयाङ्ग्रा प्रजातिको महत्त्व

जमिनमा बस्ने धेरै जीवमध्ये किरा पनि पर्दछन्। तिनले मानिससहित अन्य विभिन्न प्रजातिलाई नोक्सानीमात्रै होइन महत्वपूर्ण फाइदा समेत पुर्‍याइरहेका हुन्छन्।

यी चरा र स-साना स्तनघारी प्राणीका लागि आहारा हुन्। यिनले विश्वको करिब ७५ प्रतिशत बालीनाली परागसेचन गर्छन्। किराहरूले माटो भर्ने र कीट व्यवस्थापन गर्ने काम समेत गर्दछन्। त्यससँगै कीरा फट्याङ्ग्राहरूले विश्वको ७५ प्रतिशत उब्जनीमा सघाउने गरेका तथ्य छन्।

विभिन्न अध्ययनले विशेषगरी आर्थिक रूपमा सम्पन्न मुलुकहरूमा किराहरूको संख्या ठूलो मात्रामा घटेको देखाएका छन्। ‘बायोलोजिकल कन्जरभेसन जर्नल’ मा प्रकाशित एउटा नयाँ अध्ययनले भने पछिल्लो डेढ दशकयता विश्वभरिका ७३ वटा अध्ययनहरूको समीक्षा गरेको छ। जसमा उक्त कुरा उल्लेख गरिएको छ।

अनुसन्धानका अनुसार विश्वका सबै क्षेत्रमा कीराको संख्या घट्दै जाने हो भने आगामी केही दशकमा विस्तारै किरा र उनका प्रजाति हराउँदै जानेछन्। कीराहरूको एक तिहाइ प्रजातिलाई लोपोन्मुख भनेर वर्गीकरण गरिएको छ।

कीराहरू घट्दो क्रमले खाद्यचक्रमा असर पर्ने चिन्ता व्याप्त छ। चरा, स्तनधारी प्राणी र माछाजस्ता जीवका लागि किरा मुख्य आहार भएकाले त्यस्ता जनावरको समेत अस्तित्व सकिने खतरा बढेको छ। समयमै सरोकारवालाहरूले ध्यान नदिए यो गम्भीर चिन्ताको विषय हो।

श्रोत : आइएनएस-स्वतन्त्र समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?