स्तनपान घटाउँदै आमाहरु, बालबालिकाको स्वास्थ्यमा समस्या

Read Time = 6 mins
A A- A+

-विवेक खड्का

दाङ । दाङमा कमै आमाहरूले मात्रै सन्तानलाई स्तानपान गराउने गरेका छन् । स्तनपान गराउने आमाको संख्या घट्दै गएको हो । जन्मेको एक घण्टाभित्रै दूध खुवाउने आमाहरू न्यून मात्रै रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०७८/७९ मा ३ प्रतिशत आमाहरूले मात्रै एक घण्टाभित्रमा बच्चालाई दूध खुवाउने गरेको तथ्याङ्क रहेको छ । यो संख्या अघिल्लो वर्षभन्दा २ प्रतिशत कम हो ।
आर्थिक वर्ष ०७७/७८ मा ५ दशमलव ३ प्रतिशत तथ्याङ्क रहेको थियो । आर्थिक वर्ष ०७८/७९ मा त्यो संख्या घटेको हो । आर्थिक वर्ष २०७८/०७९ मा ३ दशमलव ३ प्रतिशतले मात्रै जन्मेको एक घण्टाभित्रै दूध खुवाएको रेकर्ड रहेको स्वास्थ्य कार्यालय दाङ सुरक्षित मातृत्व शाखा कार्यालयकी फोकल पर्सन सीता कुँवरले जानकारी दिनुभयो ।

दाङमा पूर्ण स्तनपान गराउने आमाको संख्या ६५.१ प्रतिशत छ । आर्थिक वर्ष ०७८/७९ मा छ महिनासम्म आमाको दूधमात्रै खुवाउनेको संख्या जिल्लामा नौ हजार छ सय ४९ छ । अघिल्लो वर्ष चार हजार नौ सय ६३ रहेका फोकलपर्र्सन कुँवरले बताइन् । जिल्लामा रहेका नौ सय ३० जना महिला स्वास्थ्य स्वयम्सेविका र सामुदायिक स्वास्थ्य कार्यक्रमबाट आएको तथ्याङ्कअनुसार दाङमा जन्मेको एक घण्टाभित्र आमाको दूध खुवाउनेको संख्या ०७८/७९ मा दुई सय ६८ मात्र रहेको छ । आर्थिक वर्ष ०७७/०७८ मा यो संख्या चार सय ६६ थियो ।

बालबालिकाको स्वास्थ्यमा समस्या

पछिल्लो समय आमाहरूले शिशुलाई स्तनपान नगराउने वा गराए पनि थप खानेकुरा खुवाउँदा बालबालिकाको स्वास्थ्यमा समस्या देखिने क्रम बढेको चिकित्सकहरूले बताएका छन । बच्चा छ महिनाको नहुँदासम्म आमाकै दूध मात्रै खुवाउनुपर्ने र त्यसको विकल्प अरू खोज्न नहुने उनीहरू बताउँछन् ।
तर स्तनपानको सट्टा वा स्तनपानसँगै बच्चालाई दूध अथवा लिटो खुवाउने प्रवृत्ति विशेषगरेर सहरी क्षेत्रमा बढेको उनीहरूको अनुभव छ । त्यसो गर्दा बालबालिकालाई आवश्यकताभन्दा बढी पोषण हुने र त्यसले पछिसम्म स्वास्थ्यमा नकारात्मक प्रभाव देखापर्ने उनीहरूको भनाइ छ ।

बालरोग विशेषज्ञ डा.कुुवेर रेग्मीले पहिलो सन्तान भएका नयाँ आमाहरूमा धैर्यता कम हुने हुँदा दूध नआउने र त्यसको असर बच्चाको शरीरमा परिरहेको बताउनुभयो । ‘दूध पुगेन भनेर एक वा दुई महिनादेखि नै लिटो खुवाइदिने गरेको एकदमै धेरै पाइन्छ जुन एकदमै हानीकारक हो’, उहाँ भन्नुहुन्छ, ‘बट्टाको दूध दिनु पनि राम्रो होइन, तर जसरी ठोस आहार दिइन्छ, त्यो चाहिँ एकदमै गलत हो ।’

‘स्तनपानलाई बढाउन जनचेतना अभिवृद्धि गर्न सहयोग गरौं’ भन्ने नाराका साथ यो वर्ष पनि विश्व स्तनपान सप्ताह संसारभर मनाइएको छ । सही तरिकाले स्तनपान कसरी गराउने भन्ने विषयमा ३० वर्षअघि देखि नै विश्व स्तनपान सप्ताह सुरू गरेर जनचेतना जगाउने काम भैरहेको भएता पनि अझैसम्म स्तनपानमा सुधार नआएको भन्दै मातृ शिशु स्वास्थ्यमा संलग्न चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन् । मातृ शिशु दुबैको राम्रो स्वास्थ्यका लागि स्तनपानमा सुधार ल्याउन जरूरी रहेको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद बहादुर शाहीले जनाकारी दिनुभयो । सन् १९९२ देखि संसारभर हरेक वर्ष १ देखि ७ अगष्टसम्म विश्व स्तनपान सप्ताह मनाउँदै आएको छ । यस वर्ष पनि स्तनपान सप्ताह गरिएको छ ।

स्तनपान कक्ष नहुँदा समस्या

सार्वजनिक तथा निजी संघसंस्थामा स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने ऐनमा उल्लेख छ । तर दाङका अधिकांश सरकारी तथा गैरसरकारी कार्यालयमा यसको व्यवस्था छैन । कार्यालयमा कार्यरत महिला कर्मचारी तथा सेवा लिन आउने सेवाग्राहीलाई बच्चालाई स्तनपान गराउन सहज होस् भनेर कार्यालयमै कक्षको स्थापना गर्नुपर्ने व्यवस्था भए पनि जिल्लाका अधिकांश कार्यालयमा यसको अभ्यास भएको पाइँदैन । स्तनपान नवजात शिशुको अधिकार र आमाको कर्तब्य भए पनि व्यवस्थित कक्ष निर्माण नहुँदा महिलाहरूले खुल्ला स्थानमा असहजरूपमा स्तनपान गराउनु पर्ने बाध्यता छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?