धादिङमा पहिलोपटक डायलासिसका बिरामीको सफल उपचार

Read Time = 4 mins

-बाबुराम श्रेष्ठ
धादिङ । धादिङ अस्पतालमा पहिलोपटक डायलासिस सेवा आजबाट सुरु भएको छ । जिल्ला अस्पताल धादिङमा आज पहिलो पटक विशेषज्ञ डाक्टर दिनेश रेग्मीको टोली र तालीम प्राप्त नर्स अस्मिता भुसालको टोलीले मृगौला पीडित बिरामी पदम बहादुर थपलियाको सफल उपचार गर्न सफल भएको हो । साउन २२ गते बागमती प्रदेश सरकारको सहयोगमा सञ्चालित उक्त सेवाको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले शनिबार उद्घाटन गर्नुभएको थियो ।

डायलासिस उद्घाटन गरेको ४ दिन पछि आज बिहिवार पहिलो पटक बिरामीको डायलासिस गरिएको हो । मुख्यमन्त्री पाण्डेले धादिङ अस्पतालमा डायलासिस सेवा शुरु गरेसँगै अस्पतालको सेवा गुणस्तरीय बनाउनु पर्ने बताएका थिए । धादिङ जिल्लाको एक मात्र सरकारी अस्पतालमा डाइलायसिस सेवा सुरु भएपछि अहिले धादिङका नागरिकहरुमा खुसि छाएको छ । धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा मधुकर दाहाल छोटो समयमा गरिएको चमत्कारको चर्चा हुन थालेको छ ।

उहाँको सक्रियतामा अस्पतालको मुहार नै परिवर्तन भएकोमा बिरामी लगाएत धादिङ बासिहरुले मेसु दाहाललाई धन्यवाद व्यक्त गरेका छन् । धादिङबेसिमा रहेको एक मात्र सरकारी अस्पतालमा डायलासिस सेवा नहुदा जिल्ला बाहिर चर्को मुल्य तिरेर बिरामीको उपचार गर्न बाध्यता थियो । तर धादिङ अस्पतालले आफ्नो सेवा विस्तार गर्ने क्रममा डायलासिस सेवा सुरु भएसँगै मिर्गौला परीक्षणको लागी काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा दाहालले जानकारी दिनुभयो ।

धादिङका १३ वटै स्थानीयतहका विरामीहरुलाई सेवा दिँदै आएका धादिङ अस्पताल ५० शैयाको भए पनि हाल १०० शैयामा स्तरोन्नतिको लागि प्रयास भैरहेको छ । ४ वटा डाइलायसिस उपकरणसहित व्यवस्थापन गरिएको सेवाले पहिलेदेखि डाइलायसिस गरिरहेका विरामी लाभान्वित हुने डा दाहालले बताउनुभयो । हेमो डाइलायसिस र पेरिटोनल डाइलायसिस गरी मृगौला रोगीहरुलाई दुई प्रकारले डाइलायसिस गरिने समेत बताउनु भएको छ । धादिङ अस्पतालमा सुरु गरिएको डाइलायसिस सेवा हेमो डाइलायसिस भएकाले कुनै पनि रोगका कारण मृगौलामा असर प-र्यो भने धादिङ अस्पतालमा डाइलायसिस गर्न सकिनेछ ।

तस्वीर : उपचार गराउँदै त्रिपुरासुन्दरी गाउँपालिका २ निवासी पदम बहादुर थपलिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?