विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयले जोड दिनुपर्छ : प्रधानमन्त्री

Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयहरुले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा नेपाल प्राध्यापक सङ्घले आयोजना गरेको ‘६० औँ वार्षिक दिवस/हीरक महोत्सव’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठी’ मा बोल्दै प्रधानमन्त्री देउवाले विश्वविद्यालयहरुले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले कुनै देशको विकास त्यस देशको शिक्षाको गुणस्तरले मापन गर्ने बताउनु भयो । उहाँले विश्वविद्यालयहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेको नयाँ ज्ञान र प्रविधिलाई आफ्नो पाठ्यक्रममा समावेश गरी दक्ष जनशक्ति बनाउन जोड दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विश्वविद्यालयका समस्या, चुनौतीहरुलाई आपसी संवाद र समस्याको समाधान गर्ने कुरामा जोड दिन चाहन्छु । यसमा प्राध्यापक संघको पनि आवश्यक भुमिकाको अपेक्षा गर्दछु । कुनै पनि मुलकको विकास त्यस देशको शिक्षाको गुणस्तरले मापन गर्दछ । विश्वविद्यालयहरुले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेको नयाँ ज्ञान र प्रविधिलाई आफ्नो पाठ्यक्रममा समावेश गरी विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने शैक्षिक जनशक्ति उत्पादनमा जोड दिनुपर्दछ ।’

उहाँले विश्वविद्यालयहरुको शैक्षिक गुणस्तरलाई प्रतिष्पर्धी बनाउन प्राध्यापकहरु प्रयत्नशील हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले उच्च शिक्षालाई अनुसन्धानमुलक, जीवनोपयोगि, रोजगारमुलक बनाउनुपर्नेमा जोड दिनुुभयो ।

उहाँले भन्नुभयो, ‘विश्वविद्यालयको पठन-पाठनलाई गुणस्तरीय, समसामयिक, प्रविधिमैत्री हुनेगरी अघि बढाउने मुल जिम्मेवारी पाएका प्राध्यापकहरुले उच्च शिक्षालाई अनुसन्धानमुलक, जीवनोपयोगि, रोजगारमुलक बनाउने, देश र जनताको हीतमा आफूलाई अझ समर्पित गर्दै लानुहुनेछ भन्ने अपेक्षा छ ।’

उहाँले विश्वविद्यालयहरुका समस्याहरुलाई आपसी संवादमा समाधान गर्नुपर्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?