‘ए’ डिभिजन लिग पुस ८ बाट

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो वर्षका लागि शहीद स्मारक ‘ए’, ‘बी’, ‘सी’ डिभिजन लिगको मिति तय गरेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहीबार बसेको दोस्रो कार्यसमिति बैठकले लिगको मिति टुंग्याएको हो ।

बैठकले ‘ए’ डिभिजन लिग पुस ८ देखि चैत ४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । गत वर्ष फागुनमा सम्पन्न ‘ए’ डिभिजन लिगको उपाधि मच्छिन्द्र क्लबले जितेको थियो ।

यस्तै ‘ए’ डिभिजन लिग सकिएलगत्तै चैत ६ देखि ‘बी’ डिभिजन लिग सुरु हुनेछ । ‘बी’ डिभिजन लिग २०८० वैशाख १५ गते सम्पन्न हुनेछ । त्यस्तै ‘सी’ डिभिजन लिग भने २०८० वैशाख १८ गतेबाट जेठ २७ गतेसम्म आयोजना गर्ने एन्फाले निर्णय गरेको छ ।

यस्तै, एन्फाले ‘सी’ डिभिजन लिग भने असोज १ देखि असोज ३० गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ । बैठकले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण असोज २३ देखि मंसिर २ गतेसम्म आयोजना गर्न दिने निर्णयसमेत लिएको छ ।

एनएसएल आयोजकसँग छलफलका लागि अध्यक्ष पंकजविक्रम नेम्वाङको संयोजकत्वमा समितिसमेत गठन भएको छ । तर, एनएसएल र गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदको मिति भने जुधेको छ । नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्मका लागि तय भइसकेको छ ।

गत वर्ष पहिलोपटक आयोजना भएको एनएसएलमा सात टोलीको सहभागिता थियो । आयोजक नेपाल स्पोटर््स एन्ड इभेन्ट मेनेजमेन्टले दोस्रो संस्करणका पुराना सात र नयाँ तीन गरी १० टोलीको नाम यसअघि नै सार्वजनिक गरिसकेको छ । त्यस्तै, खेलाडीको अक्सनसमेत भइसकेपछि विवाद बढ्दै जाँदा एनएसएल हुने, नहुने शंका बढेको थियो ।

यस्तै, एन्फा कार्यसमिति बैठकले असोज ११ गते बंगलादेशविरुद्ध दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको अलग्गै मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले एकमात्र मैत्रीपूर्ण खेलका लागि प्रदीप हुमागाईंलाई कार्यवाहक प्रशिक्षक बनाउने निर्णय गरेको हो ।

अमेरिका बस्दै आउनुभएका हुमागाईंले एक दशकअघि थ्री स्टार क्लबलाई लिग च्याम्पियन बनाउनुभएको थियो । गत वर्ष नेपाल सुपर लिग (एनएसएल) मा उहाँले ललितपुर सिटी एफसी क्लबलाई प्रशिक्षकत्व दिनुभएको थियो । तर, खराब नतिजा आएपछि उहाँ बर्खास्तीमा पर्नुभएको थियो । जेठमा कुवेतमा राष्ट्रिय टोलीले एसियन कप छनोट खेलेयता अल्मुताइरी नेपाल फर्कनुभएको छैन ।

यस्तै बैठकले अर्को महिना हुने महिला साफ च्याम्पियनसिपका लागि टिकट दर निर्धारण गरेको छ । दशरथ रंगशालामा भदौ २१ गतेदेखि असोज ३ गतेसम्म हुने साफ च्याम्पिनसिपका लागि भिआइपीतर्फ ५०० र साधारणतर्फ ३०० रुपैयाँ टिकट दर तोकेको छ ।

साफ च्याम्पियनसिपमा दक्षिण एसियाका सातै राष्ट्रका टोलीको सहभागिता रहनेछ । नेपालसहित श्रीलंका र भुटान समूह ‘बी’ मा छन् । समूह ‘ए’ मा साबिक विजेता भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?