डेंगु फैलिएपछि बुटबलमा लामखुट्टे मार्ने अभियान

हिमालय टाइम्स
Read Time = 9 mins

-चन्द्रकान्त खनाल

बुटवल । बुटवल उपमहानगरपालिका तथा आसपासमा डेंगुका बिरामी भेटिएपछि स्थानीय सरकारहरूले डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान शुरू गरेका छन्।

२०६७ सालमा नेपालमा डेंगुको महामारी फैलिएको थियो त्यस बेला रूपन्देहीमा पनि चार जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीको तथ्यांकमा उल्लेख छ।  त्यसपछि रूपन्देहीमा प्रत्येक वर्ष साउनदेखि असोजसम्म डेंगुका बिरामी देखिन थालेको स्वास्थ्य कार्यलय रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताउनुभयो। उहाँका अनुसार २०६७/६८ मा  २९०,  २०६८/६९ मा पाँच जना २०६९/७० मा २५ जना २०७०/७१ मा १२ जना २०७२/७३ मा नौ जना २०७३/७४ मा ७ जना २०७३/७४ मा १६१ जनामा दुई जनाको मृत्यु, २०७४/७५ मा १०३१  मध्ये दुई जनाको मृत्यु, २०७६/७७ मा ६८ जना, २०७७/७८ मा २९३० मध्ये तीन जनाको मृत्यु, २०७८ मा ४६ जना र २०७८/७९को साउनमा मात्रै २६९ जना बिरामी फेला परेका थिए।

जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहले यो एक सरूवा रोग भएकाले पनि बेलाबेला दुख दिइरहने बताउनु भयो। करिब तीन हजार बढी प्रकारका लामखुट्टे भए पनि एडिस एजेप्टी पोथी जातको लामखुट्टेले मात्र सार्ने उहाँको भनाइ छ। मानिसलाई ज्वरो आउने, आँखा पहेलो हुने, हातखुट्टा जोर्नी दुख्ने जस्ता लक्षण देखिने शाहले बताउनु भयो। लामखुट्टेको संख्या कम गर्नु नै सबैभन्दा राम्रो उपाय भएको भेक्टर कन्ट्रोलर निरीक्षक शाहले बताउनु भयो।

उहाँले फरक–फरक रोग सार्ने फरक लामखुट्टे हुने बताउनु भयो। कालोमा सेतो धर्का भएको यो सजिलै चिनिने हुन्छ। एकैपटकमा एक बाईटमा फरक–फरक गरी पाँच जनासम्मलाई रोग सार्न सक्ने सम्भावना हुन्छ। जनघनत्वको तीन सय मिटरभन्दा बाहिर जाँदैन। जुनसुकै तेल हालेर पनि लार्भा मार्न सकिन्छ शाहले भन्नुभयो।

बुटबलमा डेंगुका बिरामी बढ्दै गएपछि नगरका जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वयम्‌सेविकाको सहभागितामा अभियान शुरू भएको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य संयोजक युवराज पाण्डेले बताउनु भयो। उहाँले लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान चलाइएको पाण्डेको भनाइ छ।

बुटवलमा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने, सञ्चारमाध्यमहरूबाट चेतना कार्यक्रम सञ्चालन गर्ने काम उपमहानगरपालिकाले गरिरहेको  बुटबल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बताउनु भयो।

नगरप्रमुख, उपप्रमुख र वडाअध्यक्षहरूको सल्लाहअनुसार लामखुट्टेको बासस्थानको खोजी गरी सम्भावित स्थानमा अभियान सञ्चालन भएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनु भयो। उहाँले ‘खोज र नष्ट गर’ अभियान निरन्तर सञ्चालन हुने र थप सचेतना फैलाउने काम गरिने बताउनुभयो।

बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा पाण्डेका अनुसार अहिले वडा नं. १, ५ र ६ मा उक्त अभियान सञ्चालन भइसकेको र सम्भावित अन्य क्षेत्रमा पनि सञ्चालनको क्रममा रहेको बताउनुभयो। पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न दिन नहुने र निरन्तर सरसफाइ गर्नुपर्ने उहाँको भनाइ छ।

यसैबीच बुटवल उपमहानगरपालिकाले बुटवलका जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिहरू, पत्रकार, कर्मचारीका बीचमा अभिमुखीकरण कार्यक्रम गरेको छ।

बुटवल उपमहानगरपालिकाको आयोजना, फेयरमेड फाउण्डेशन नेपाल र इन्द्रेणी ग्रामीण विकास केन्द्र बुटवलको सहकार्यमा भएको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेले डेंगुको संक्रमण बढ्दै गएकाले सावधानी र सचेतना अपनाउन आग्रह गर्नुभयो। उपप्रमुख सावित्रादेवी अर्यालले डेंगुबाट जोगिन सरसफाइका साथसाथै सावधानी अपनाउनुपर्ने बताउनुभयो। कार्यक्रममा जनप्रतिनिधि, उद्योगी, व्यवसायी, पत्रकार, सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।

डेंगुबाट कसरी बच्ने ?

डेंगु ‘एडिस एजिप्टाई’ जातको लामखुट्टेको टोकाइबाट सर्ने किटजन्य रोग हो। यो जुन सुकै उमेर समूहका व्यक्तिलाई पनि लाग्न सक्छ। खासगरी कामकोे शिलशिलामा घरबाट धेरै बाहिर निस्कनेमा र बालबच्चामा यसको सम्भावना अलि बढी हुन्छ। बालबच्चाहरूमा विशेष गरी खेल्नका लागि बाहिर जाँदा सर्न सक्छ। यो लामखुट्टेले विशेष गरी विहान र साँझ धेरै टोक्छ। अन्य समयमा नटोक्ने भन्ने चाहिँ हुँदैन्।

खासगरी डेंगु हुँदा ज्वरो आउने, शरीर दुख्ने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जीउ जोर्नी दुख्ने, शरीरमा रातोरातो बिमिरा देखा पर्ने गर्छ। साथै टाउको फुट्ला जस्तै गरी दुख्छ र ज्वरो नियन्त्रण नै हुँदैन्। सिटामोलको खाँदा पनि पाँच दिनसम्म कन्ट्रोल हुँदैन्।

सामान्यतया डेंगु ज्वरो निको हुनका लागि ५ दिनदेखि ७ दिनसम्म लाग्छ। भाइरल ज्वरो तीन दिन मै निको हुन्छ। डेंगुको ज्वरो एकदमै कडा खालको ज्वरो हुन्छ। १०३र१०४ डिग्रीसम्म ज्वरो आउँछ। भाइरल ज्वरोमा सामान्य ज्वरो आउने र रूघाखोकी लाग्ने गर्छ। सिटामोल खाँदा पनि ज्वरो नियन्त्रण भएन र प्लेटलेसको संख्या १ लाखभन्दा कम र क्रमशः घट्दै आएको अवस्था, शरीरमा रातो दाग र बिमिरा देखिन थाले, पेट अप्ठ्यारो हुने, पेटमा पानी जम्ने लक्षण देखिए तत्काल डाक्टरकोमा जानुपर्छ।

डेंगु सार्ने ‘एडिस एजिप्टाई’ जातको लामखुट्टे सफा पानीमा बस्छ। घरवरिपरी पानी जमेको ठाउँहरू, घरमा राखेको एयर कन्डिसनको पानी, फूलमा राखेको पानीमा बस्ने भएकाले त्यस्ता ठाउँहरूको पानी हटाउनु पर्छ। साथै घर वरिपरी सफा सुग्घर राख्ने र पानी जम्ने खाल्डाखुल्डी भए पुर्नुपर्छ। लामखुट्टेको टोकाइबाट बच्न घर बाहिर हिँड्दा हात खुट्टा ढाक्ने कपडा लगाएर जाने, राती सुत्ने बेलामा झुलको प्रयोग गरेर यसबाट बच्न सकिन्छ।

श्रोत : आइएनएस -स्वतन्त्र समाचार

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?