जापानको जनसंख्या घट्दो अवस्थामा, ६५ वर्षभन्दा माथिको जनसंख्यामा भने वृद्धि

Read Time = 3 mins

टोकियो । जापानको जनसंख्या घट्दो अवस्थामा रहेको छ । जन्मभन्दा मृत्यु हुने जापानी नागरिकको संख्या बढ्दो छ । २०२२ जनवरी १ सम्म जापानको कुल जनसंख्या १२५ दशमलव ९३ मिलियन थियो, जुन १९५० मा रेकर्ड गरिएको तथ्यांक पछि सबैभन्दा ठूलो गिरावट हो ।

यो पछिल्लो सरकारी तथ्यांक बुधबार सार्वजनिक भएको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जारी गरेको तथ्यांक हेर्दा मृत्युको संख्या जन्मभन्दा बढी भएको छ । जापानको कुल जनसंख्या १२ करोड ५९ लाख २७ हजार ९०२ मा झरेको छ । यो तथ्यांक अघिल्लो वर्षको भन्दा सात लाख २६ हजार ३४२ ले कम हो ।

मन्त्रालयका अनुसार, जापानी नागरिकको संख्या २०२१ मा ६ लाख १९ हजार १४० ले घटेर १२ करोड ३२ लाख २३ हजार ५६१ रहेको थियो । जसमा १४ लाख ४० हजारको मृत्यु हुँदा आठ लाख १० हजारको जन्म भएको थियो ।

महामारीको बीचमा कडा सीमा प्रतिबन्धका कारण, जापानमा बसोवास गर्ने विदेशीहरूको संख्यामा पनि ठूलो गिरावट आएको छ । श्रमिक जनसंख्या मानिने १५ देखि ६४ वर्ष उमेर समूहका मानिसको अनुपात कुल जनसंख्याको रेकर्ड ५८ दशमलव ९९ प्रतिशत रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ भने ६५ वर्षभन्दा माथिका मानिसको प्रतिशत २९ प्रतिशत छ ।

जापानले मुलुकको जनसंख्या बढाउन जन्मदर बढाउने र मानिसहरूलाई शहरी क्षेत्रभन्दा बाहिर बस्न प्रेरित गर्ने नीति ल्याएको छ । तर, सरकारको नीतिले पनि जनसंख्या बढाउन भने सकेको छैन ।

जापानमा ६५ वर्षभन्दा माथिको जनसंख्यामा भने वृद्धि भएको छ । समग्र जनसंख्याको २९ प्रतिशत मानिसहरू ६५ वा सोभन्दा धेरै उमेरका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष यो उमेर समूहको हिस्सा पनि ०.२७ प्रतिशतले बढेको हो । जापानको जनसंख्यामा ६५ वर्षमाथिको उमेर समूहको हिस्सा सन् १९९४ यताकै उच्च हो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?