माझी समुदायमा धारो छ, पानी छैन

हिमालय टाइम्स
Read Time = 6 mins

-डम्मर बुढा मगर

बागलुङ । घरैअगाडि पहेँलो रङका धाराहरू छन् । तर, बागलुङ नगरपालिका–१ माझी बस्तीका स्थानीयलाई खानेपानीको समस्याले सताइरहेको छ । खानेपानीको चरम अभावलाई टार्न खानेपानी आयोजना निर्माण भयो तर धारा बनेको एक वर्षसम्म पनि पानी आउँदैन । माझी बस्तीका स्थानीयहरूले अहिले कालीगण्डकी किनारबाट पानी बोकेर उपभोग गर्दै आएका छन् ।

खानेपानीको चरम अभाव टार्नका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले तीन वर्षअघि सुरु गरेको माझी बस्ती लिफ्ट खानेपानी योजनाको पूर्वाधार निर्माण सम्पन्न भए पनि पानी आउन नसक्दा घरमा रित्तो धारो एक वर्षदेखि हेर्दैछन् माझी समुदाय ।

२०४८ सालमा बागलुङ पोखरा सडकखण्ड विस्तारका क्रममा विस्थापित माझी समुदायहरूलाई २० वर्ष बाङ्गेचौर खेल मैदानमा राखियो । बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१ रामरेखास्थित कालीगण्डकी किनारामा तीन वर्षअघि मात्रै जग्गा खरिद गरेर नयाँ घर व्यवस्थापन गरिएको थियो ।

माझी बस्तीमा १४ नमुना घर निर्माणसँगै उनीहरूले आफ्नै घर पाए पनि अन्य सेवासुविधा पाउन सकेका छैनन् । नमुना बस्तीमा एक घर एक धारा वितरणका लागि तीन वर्षअघिदेखि सुरु भएको खानेपानी आयोजना एक वर्षअघि नै सकियो, ट्यांकी, धारोलगायत पूर्वाधार निर्माण सम्पन्न भइसक्यो तर एक वर्षदेखि पानी भने खस्न सकेको छैन ।

उपभोक्ता समिति, वडा कार्यालय र खानेपानी तथा सरसफाइ कार्यालयको समन्वय अभावमा योजना सम्पन्न भए पनि पानी आउन नसकेको हो । एक घर एक धारा पु¥याउने माझी बस्ती खानेपानी आयोजना निर्माण गर्दै झण्डै ३० लाख खर्च भइसकेको छ । तर, माझी बस्तीको घरमा पानीबिनाकै धारो बनेको एक वर्ष पुगिसकेको छ । माझी समुदायले दैलोमा खानेपानीको धारो बनेको एक वर्ष बित्दासमेत खानेपानी नआएको दुखेसो गरेका छन् ।

कालीगण्डकी किनाराको खानेपानीलाई लिफ्टमार्फत् करिब ५०० मिटर माथि ताने पनि नमुना बस्तीमा खानेपानी वितरण गर्ने योजना अधुरै बनेको बागलुङ नगरपालिका–१ का वडाध्यक्ष जयबहादुर केसीले बताउनुभयो । उहाँले नयाँ जनप्रतिनिधि आएपछि तत्कालै आयोजना पनि सुचारु गर्नका लागि काम थालिरहेको बताउनुभयो ।

‘खानेपानी समस्या समाधानका लागि अघिल्ला जनप्रतिनिधिहरूले के गरे त्यो बुझ्नै पर्दछ, म निर्वाचित भएर आएपछि यसको समस्याका विषयमा जानकारी पाएँ, अहिले खानेपानी तथा सरसफाइ कार्यालय र नगरपालिकासँग समन्वय भइरहेको छ,’ वडाध्यक्ष केसीले भन्नुभयो, ‘विद्युत् जोडेर पम्प चलाएमात्रै पानी आउँछ, त्यसमा समन्वयको मात्रै अभाव देखियो ।’

कोरोना महामारीका कारण खानेपानी योजना समयमै नसकिएको र अहिले विद्युत् जडानको काम नहुँदा पानी आउन नसकेको माझी बस्ती खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष कृष्ण माझीले बताउनुभयो । माझीले कोरोनाकालमा आफैं बिरामी भएर महिनौँ बस्दा आयोजनामा समय दिन नसकेको भन्दै खानेपानी कार्यालयसँग समन्वय गरेर विद्युत् जडान गरी पानी तान्नका लागि पहल गर्ने बताउनुभयो ।

माझीले १४ घरमा धारा निर्माण, ट्यांकी तथा वितरण पाइपलगायत भौतिक पूर्वाधारमा खानेपानी कार्यालयको ३० लाख खर्च भइसकेको जानकारी दिनुभयो । अध्यक्ष माझीले माझी बस्तीमा हिउँदमा खानेपानीको चरम अभाव भएको भन्दै हिउँदसम्म खानेपानी धारोमा ल्याउने गरी आफूले सरोकारवाला निकायलाई झकझकाउने बताउनुभयो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी तथा इन्जिनियर ईश्वरीप्रसाद शर्माले हिउँदभित्रै माझी बस्तीमा खानेपानी ल्याउने गरी कार्यालयले काम गर्ने बताउनुभयो । ‘हामीले आयोजना सम्पन्न भयो भन्ने हिसाबले अघिल्लो दुई आर्थिक वर्षअघिको योजनालाई हेर्यो, पानी खसाल्ने काम उपभोक्ता समितिको समन्वयममा हुनुपर्दथ्यो, अब हामी स्थलगत अनुगमनपछि आवश्यक बजेट खर्चेर पानी तान्ने उपकरण जोड्नेछौँ,’ शर्माले भन्नुभयो, ‘हिउँदभित्रै माझी बस्तीमा लिफ्टमार्फत् खानेपानी पुर्याउँछौं ।’

स्थानीयले हरेक दिन धारो हेर्छन् तर पानी आउँदैन । सरोकारवाला निकायले ध्यान दिएर काम गरे धारोमा पानी आउन धेरै समय नलाग्ने उनीहरू बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?