आगामी निर्वाचनमा समावेशी सिद्धान्तको आधारमा समानुपातिक सहभागिता गराउनुपर्नेमा महिला नेतृहरुकोे जोड

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाण्डौं । आगामी प्रदेश सभा र संघीय सदस्यको निर्वाचनमा समावेशी सिद्धान्तको आधारमा समानुपातिक सहभागिता गराउनुपर्नेमा महिला नेतृहरुले जोड दिएका छन् ।

आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सदस्यको निर्वाचनमा उम्मेदवारी दिँदा महिलालाई समानुपातिक सहभागिता गराउनुपर्नेमा उनीहरुले जोड दिएका हुन् । प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला उम्मेदवारलाई बढी अवसर दिनुपर्ने र जित सुनिश्चितताका लागि पनि राजनीतिक दलहरुले आफ्नो भुमिका खेल्नुपर्ने उनीहरुको भनाइ छ ।

महिला नेतृहरुले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाँदा महिला सहभागिता कम देखिएको भन्दै प्रत्यक्ष निर्वाचन प्रणालीमा भने हरेक पार्टीहरुले महिलालाई अघि सारेर जानुपर्ने बताए । महिलालाई प्रत्यक्षतर्फ प्रतिष्पर्धा गराएर पुरुषलाई समानुपातिकतर्फ ल्याउनुपर्नु उनीहरुको माग छ । उनीहरुले हरेक निर्वाचनमा क्रमशः महिलाहरुको निर्वाचित संख्या घट्दै गएकोले महिलाहरुको लागि राजनीतिक दलहरुले एक आपसमा समझदारी गरेर महिला नेतृ उठेको स्थानमा महिला नेतृलाई नै उठाउनुपर्ने माग गरेका छन् ।

प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसाल गौतमले संविधानको माग परिपूर्ति गर्नुपरेका कारण मात्रै महिलालाई समानुपातिक निर्वाचन प्रणालीमार्फत अवसर दिइएको बताउनु भयो । उहाँले अझैपनि राजनीतिक दलहरुले प्रत्यक्षमा महिलालाई विश्वास गरेर उम्मेदवार बनाउन नसकेको गुनासो गर्नुभयो । उहाँले महिलालाई समानुपातिक नभइ प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवार बनाउन र जित सुनिश्चित गर्न आवश्यक रहेको बताउनु भयो । उपसभामुख भुसालले प्रत्यक्षबाट महिलाको उम्मेदवारी सबैभन्दा बढी दिएर महिला निर्वाचित गराएमात्र समानुपातिक निर्वाचन प्रणालीबाट महिलाको संख्या घट्ने बताउनु भयो ।

उहाँले समाजको मनोवैज्ञानिक दृष्टिकोणलाई परिवर्तन गर्नको लागि पनि प्रत्यक्ष निर्वाचनबाट महिलाहरु जान जरुरी रहेको बताउनु भयो । उहाँले अहिले एकीकृत निर्वाचनको विधेयक तयार भइरहेको र अर्को निर्वाचनसम्म विधेयकको काम पूर्ण हुने बताउनु भयो । दलभित्रका महिला नेतृत्वहरुले महिला उम्मेदवारीको मुद्दालाई साझा मुद्दा बनाएर आफ्नो दल, आफ्नो निर्वाचन क्षेत्रभित्र उम्मेदवारी लिनको लागि आफ्नो भुमिकालाई परिवर्तन गर्न जरुरी रहेको पनि बताउनु भयो । उहाँले उम्मेदवारी दिनेकुरा नभइ लिनेकुरा भएकोले महिला नै यसमा सक्रिय बन्नुपर्ने बताउनु भयो । उपसभामुख भुसालले महिलाले कुनै भयको जोखिम नलिइकन निर्वाचन लड्ने वातावरण तयार गर्ने जिम्मेवारी पनि महिला नेतृकै काँधमा रहेको बताउनु भयो ।

उहाँले उम्मेदवारीपछि विजय हुनको लागि पनि रणनीति बनाएर अघि बढ्नको लागि समय पर्याप्त रहेको बताउनु भयो । उपसभामुख भुसालले महिलाले प्रतिष्पर्धामा जान आफूलाई तयार गर्नुपर्ने भन्दै अहिलेको समयमा प्रतिष्पर्धा कोसँग गर्ने भन्नेकुरा दोस्रो भएकोले प्रतिष्पर्धामा उत्रिन आफ्नो भुमिकालाई परिवर्तन गर्ने र सशक्त ढंगबाट अघि बढाउने कुरालाई नै प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।

त्यस्तै नेकपा एमालेकी सांसद विन्दा पाण्डेले हरेक दलका महिला नेतृहरुले आफूले प्रतिष्पर्धा गर्ने निर्वाचन क्षेत्रबाट लड्छु भन्ने दाबी गर्न आह्वान गर्नुभयो । उहाँले अहिले हुने निर्वाचनमा कम्तिमा पनि ५० प्रतिशत वा समानुपातिक महिला उम्मेदवारी दिने कुरा अहिलेका राजनीतिक दलहरुले गर्नुपर्ने बताउनु भयो । उहाँले संविधानको रक्षा गर्न बनेको दाबी गर्दै आएको गठबन्धनको सरकारले यदी महिलालाई संविधानले भनेबमोजिम अधिकार दिएर संविधानको रक्षा गर्ने हो भने संवैधानिक व्यवस्थाअनुसार समानुपातिक संख्यामा महिलाहरुको पनि उम्मेदवारी दिनेकुरा सोच्नुपर्ने बताउनु भयो ।

उहाँले एक तिहाई निर्वाचन क्षेत्र आरक्षण वा समानुपातिक उम्मेदवार दुईमध्ये एकमा जानुपर्ने बताउनु भयो । अहिले यो असम्भव बताइए पनि सरकारले जोडबल गर्ने हो भने फास्टट्रयाकबाट काम गर्न सकिने उहाँले बताउनु भयो । उहाँले प्रत्यक्ष निर्वाचनमा राजनीतिक दलहरुले महिलालाई उम्मेदवार नबनाउँदा सबै महिलालाई समानुपातिक निर्वाचन प्रणालीबाट लैजनुपरेको भन्दै यसले सीमान्तकृत, अल्पसंख्यक, निम्नवर्गका पुरुषलाई असर गरेको बताउनु भयो । पहिलो हुने निर्वाचन प्रणालीमा महिलाको उम्मेदवारी संविधानसम्मत दिनुपर्नेमा उहाँको माग थियो ।

त्यस्तै नेपाली काँग्रेसकी महासमिति सदस्य एवं नेपाल महिला संघकी अध्यक्ष उषाकुमारी राउत मिश्रले कुनैपनि राजनीतिक दलले ५० प्रतिशतलाई उम्मेदवारी बनाउनैपर्ने बताउनु भयो । उहाँले शक्तिशाली नेताहरुसँग महिलालाई प्रतिष्पर्धामा उतार्नु नहुने बताउनु भयो । उहाँले समानुपातिक निर्वाचन प्रणालीबाट पुरुषलाई ल्याएर भएपनि महिलालाई आगामी संघ र प्रदेशको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी र जित सुनिश्चितताको लागि राजनीतिक दलहरुले कदम चाल्नुपर्ने बताउनु भयो ।

उहाँले गठबन्धनको नाममा जित्न सक्षम महिलाको स्थानमा अर्को पार्टीलाई पठाउने परिस्थित नदोहो¥याउन पनि आग्रह गर्नुभयो । अध्यक्ष राउतले महिला कुनै पनि तहमा बसेर काम गर्न सक्षम रहेको भन्दै चुनाव लड्नका लागि पैसा चाहिन्छ, तिमीसँग छैन भन्ने किसिमबाट महिलालाई पाखा लगाउन नहुने बताउन भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?