नेपाली क्रिकेटमा मनोज प्रभाकरका चुनौती

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय पूर्वक्रिकेटर मनोज प्रभाकरलाई राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गर्ने निधो गरिसकेको छ । सँगै राष्ट्रिय क्रिकेट टोलीलाई केन्या भ्रमण गराउने निश्चित भइसेकेको छ । पूर्वप्रशिक्षक पुबुदु दाशानायकेको प्रशिक्षणमा पछिल्लो पटक दुईवटा भ्रमण गरेको टोलीले अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल भयो । विभिन्न समस्या देखाउँदै पुबुदु बाहिरिएसँगै नयाँ प्रशिक्षकका लागि चुनौती भने धेरै छन् ।

पुबुदुले प्रशिक्षकबाट छोडेपछि भारतीय पूर्वक्रिकेटर मनोज प्रभाकरलाई क्यानले मुख्य प्रशिक्षक बनायो । तर नेपाली क्रिकेटमा रहेका विभिन्न चुनौतीको सामना गर्न उनलाई त्यति सहज भने हुनेछैन । किनभने प्रभाकर पहिलोपटक नेपालमा क्रिकेट प्रशिक्षक बनेर आउनुभएको छ । साथै उहाँले कुनै पनि राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको नेतृत्व सम्हाल्न लाग्दै हुनुहुन्छ । के-के हुन् त प्रशिक्षक मनोजका चुनौतीहरू, जुन नेपाली क्रिकेटमा सुधारका लागि निकै आवश्यक छन् । पछिल्लो पटक नेपालले स्कटल्याण्ड भ्रमण गर्दा नेपाली राष्ट्रिय टिमले अपेक्षा अनुसारको नतिजा निकाल्न सकेन । चार खेलमध्ये एक खेलमा मात्र सुखद् नतिजा निकालेको नेपालले बाँकी तीन खेल गुमाएपछि विभिन्न कारण केलाउन थालिएको छ । मुख्यतः टोलीमा एकजुट समस्या, ब्याटिङ समस्या बाहिरी सतहमा देखिन थालेका छन् । यससँगै एक दिवसीय मान्यता गुम्ने डर त्यत्तिकै छ । क्यानले प्रभाकरलाई मासिक १५ हजार डलरसहित अनुबन्ध गरेको नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंहले जानकारी दिनुभयो । उहाँले प्रभाकरको प्रशिक्षणमा नेपाली क्रिकेट टिमले थप उचाइ प्राप्त गर्ने विश्वास राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘पुबुदुलाई हामीले दुई वर्षको सम्झौता गरेर ल्याएका थियौं । पारिवारिक कारणले उहाँ जानुभयो । रिक्त भएको पदमा लामो कसरतपछि मनोज प्रभाकरलाई जिम्मा दिने निर्णय गरेका छौं । उहाँलाई हाराहारी १४/१५ हजार डलर (ट्याक्ससहित) दिने सहमति भएको छ । उहाँ अनुवन्ध भएसँगै नेपाली क्रिकेटले थप उचाइ पाउने अपेक्षा राखेको छ । किनभने कुनै समय भारतका लागि प्रभावकर अब्बल खेलाडी थिए । पछिल्लो समय अफगानीस्तानलाई टेष्ट नेशन्स बनाउन उहाँको देन निकै महत्वपूर्ण थियो ।’

प्रशिक्षक मनोज प्रभाकर शनिबार साँझ नेपाल आउँदै हुनुहुन्छ । नेपाली टोली सम्हाल्न आउनलाग्नुभएका मनोजलाई नेपाली क्रिकेट सुधार गर्ने चुनौती धेरै छन् । मनोजलाई सीमित स्रोत र साधनलाई अधिकतम् प्रयोग गर्नुपर्ने पहिलो चुनौती रहेको छ । प्रभाकर जहाँ क्रिकेटका लागि कुनै पनि कन्जुस्याँइ नहुने अब्बल देश भारतका खेलाडी हुनुहुन्छ । जहाँ पूर्वाधारको कुनै कमी थिएन । तर उहाँलाई नेपालमा भएको सीमित साधानको अधिकतम प्रयोग गर्दै विश्व स्तरमा प्रतिष्पर्धा गर्न योग्य टोली बनाउने चुनौती हुनेछ । अहिले टोलीमा नयाँ युवा खेलाडीको वचश्र्व रहेको छ । टोलीमा अनुभवी खेलाडी प्रायः शून्य छन् । यही अवस्थामा क्यानका मिडिया म्यानेजर दुर्गाराज पाठकलले नयाँ प्रशिक्षकले युवा खेलाडीलाई समेट्दै अनुभव दिलाउने बताउनुभयो । उहाँले ब्याटिङ पक्षको सुधारलाई प्राथमिकितामा राख्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

घरेलु एकदिवसीय प्रतियोगिता पछिल्लो दुई वर्षदेखि आयोजना हुन नसक्दा नेपालको लगानी कुन स्तरको छ भन्ने प्रष्ट देखाएको छ । नेपाल, ओमान, स्कटल्याण्ड, नेदरल्याण्ड्स, नामिबिया, अमेरिका र युएईलाई एसोसियटका शीर्ष टोलीका रूपमा लिइन्छ । तर, लगानी र संरचनाको हिसावमा नेपाल र ती देशको आकाश पातालको फरक छ । तत्कालका लागि नेपाली टोलीको बलिङ औसत भए पनि सबैभन्दा ठूलो कमजोरी ब्याटिङ देखिएको छ । नेपालले हार्ने प्रायः सबै खेलको प्रमुख कारण कमजोर ब्याटिङ नै हुने गर्छ । यसका अलावा नियुक्त हुन लागेका मनोज प्रभाकरलाई पूर्वप्रशिक्षकले दर्शाएको टोलीभित्रको गुट/उपगुटको अन्त्य गर्नुपर्ने अर्को चुनौती हुनेछ ।

मुख्य खेलाडी र युवा खेलाडीबीच तालमेलको अभाव देखिन थालेको छ भने एक सदस्यले अर्को सदस्यलाई साथ नदिएको आरोप खेलाडीमा नलाग्ने गरेको होइन । वरिष्ठ खेल पत्रकार निरञ्जन राजवंशीले पनि परम्परगत ब्याटिङलाई सुधार गर्नुपर्ने र ब्याटिङ केन्द्रित प्रशिक्षण निकै आवश्यक रहेको बताउनुभयो । टोलीमा एकताको अभाव भएको टिप्पणी सतहमा आइसकेको अवस्थामा टोलीलाई एक जुट बनाउने जिम्मेवारी पनि प्रशिक्षकको काँधमा रहेको पत्रकार निरञ्जन राजवंशीले बताउनुभयो ।

प्रभाकरका लागि अर्को चुनौती प्राप्त एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई जोगाउनु रहेको छ । थोरै समयमा धेरै काम गर्नुपर्ने अवस्था प्रभाकारको जिम्मा हुनेछ । विश्वकप क्रिकेट लिग-२ को शीर्ष तीनमा रहँदै एकदिवसीय विश्वकपको बाटो जीवितै राख्नु तथा २०२४ को टी-२० विश्वकपमा नेपालको स्थान बनाउनु पनि प्रभाकरका लागि अर्को प्रमुख चुनौती हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?