धादिङमा पहिलोपटक डायलासिसका बिरामीको सफल उपचार

हिमालय टाइम्स
Read Time = 3 mins

-बाबुराम श्रेष्ठ

धादिङ । धादिङ अस्पतालमा पहिलोपटक डायलासिस सेवा सुरु भएको छ । जिल्ला अस्पताल धादिङमा बिहीबार विशेषज्ञ डाक्टर दिनेश रेग्मीको टोली र तालिमप्राप्त नर्स अस्मिता भुसालको टोलीले मिर्गाैलापीडित बिरामी पदमबहादुर थपलियाको सफल उपचार गरेको हो ।

साउन २२ गते बागमती प्रदेश सरकारको सहयोगमा सञ्चालित उक्त सेवाको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले शनिबार उद्घाटन गर्नुभएको थियो । डायलासिस उद्घाटन गरेको चार दिनपछि बिहीबार पहिलोपटक बिरामीको डायलासिस गरिएको हो ।

मुख्यमन्त्री पाण्डेले धादिङ अस्पतालमा डायलासिस सेवा सुरु गरेसँगै अस्पतालको सेवा गुणस्तरीय बनाउनुपर्ने बताउनुभएको थियो । धादिङ जिल्लाको एकमात्र सरकारी अस्पतालमा डाइलायसिस सेवा सुरु भएपछि अहिले धादिङका नागरिकहरूमा खुसी छाएको छ । धादिङ अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. मधुकर दाहालले छोटो समयमा गरिएको चमत्कारको चर्चा हुन थालेको छ । उहाँको सक्रियतामा अस्पतालको मुहार नै परिवर्तन भएकोमा बिरामीलगायत धादिङवासीहरूले मेसु दाहाललाई धन्यवाद व्यक्त गरेका छन् ।

धादिङबेसीमा रहेको एकमात्र सरकारी अस्पतालमा डायलासिस सेवा नहुँदा जिल्लाबाहिर चर्का मूल्य तिरेर बिरामीको उपचार गर्नुपर्ने बाध्यता थियो । तर, धादिङ अस्पतालले आफ्नो सेवा विस्तार गर्नेक्रममा डायलासिस सेवा सुरु भएसँगै मिर्गौला परीक्षणका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा दाहालले जानकारी दिनुभयो ।

धादिङका १३ वटै स्थानीय तहका बिरामीहरूलाई सेवा दिँदै आएको धादिङ अस्पताल ५० शश्याको भए पनि हाल १०० शश्यामा स्तरोन्नतिका लागि प्रयास भइरहेको छ । चारवटा डायलासिस उपकरणसहित व्यवस्थापन गरिएको सेवाले पहिलेदेखि डायलासिस गरिरहेका बिरामी लाभान्वित हुने डा. दाहालले बताउनुभयो ।

हेमो डायलासिस र पेरिटोनल डायलासिस गरी मिर्गौला रोगीहरूलाई दुई प्रकारले डायलासिस गरिनेसमेत बताउनुभएको छ । धादिङ अस्पतालमा सुरु गरिएको डायलासिस सेवा हेमो डायलासिस भएकाले कुनै पनि रोगका कारण मिर्गौलामा असर पर्यो भने धादिङ अस्पतालमा डायलासिस गर्न सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?