कांग्रेस प्रवक्ता महतद्वारा नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण

हिमालय टाइम्स
Read Time = 4 mins

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नुवाकोट क्षेत्र नं १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गर्नुभएको छ । साउन २४ गते रातिको भीषण वर्षाले नुवाकोट क्षेत्र नं १ को तादी खोलामा आएको बाढीले दुप्चेश्वर–३ राउतबेशी, तादी–४ सातबिसे र पञ्चकन्या–४ थप्रेक जोड्ने पक्की पुल, पञ्चकन्या–२ आप्र र तादी–५ बाहुनवेशी जोड्ने पक्की पुल, पञ्चकन्या–१ को सिमारा फाँट र लिखु–३ सूर्यमति र १ ढिकुरे जोड्ने पक्की पुलहरू क्षतिग्रस्त भएका छन् ।

पञ्चकन्या र तादी जोड्ने पुलको क्षति अवलोकन गरेपछि उहाँले भन्नुभयो, ‘साउन २४ गते राति परेको भीषण वर्षाले नुवाकोट क्षेत्र नं १ मा अकल्पनीय विनास निम्त्याएको छ । पन्चकन्या र तादी गाउँ पालिका जोड्ने आप्र पूल क्षतिग्रस्त भएको छ । सडक कार्यालय र स्थानीय तहको समन्वयमा भत्किएको पुलको तुरुन्त पुनर्निर्माण गरी आवागमन सुचारु गर्नुपर्दछ । बाढीपहिरो प्रभावित क्षेत्रकालागि थप बजेट उपलब्ध गराउन म सरकारसँग जोडदार माग गर्दछु ।’

उहाँले अगाडि भन्नुभयो, ‘बाढीले सातबिसे र थप्रे जोड्ने तादी खोलामाथिको पुल पनि क्षतिग्रस्त बनाएको छ । आवागमन सहज बनाउन जतिसक्दो छिटो यसको पुनर्निर्माण गर्नुपर्दछ । यसतर्फ सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु ।’

आलो पहिरो नथामिएको र सिमसिम पानी परिरहेको बेलामा बाढी पहिरो प्रभावितसँग प्रत्यक्ष भेट्ने, राहत, क्षतिपूर्ति, पुनःस्थापना तथा पुनर्निर्माणका बारेमा छलफल गर्ने उद्देश्यले बाढी पहिरोग्रस्त क्षेत्रमा डा. महत पुग्नुभएको थियो । राउतबेशीको निरीक्षण भ्रमणपछि उहाँले भन्नुभयो, ‘बाढीपहिरोले दुप्चेश्वर–३ राउतबेशीमा विनासलिला मच्चाएको छ । यो प्राकृतिक प्रकोपबाट पीडित र प्रभावित नागरिकहरूलाई राहत तथा विपद्बबाट भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन र भत्किएका भौतिक संरचनाहरूको पुनर्निर्माणको लागि शीघ्र कदम चाल्न म नेपाल सरकारसँग माग गर्दछु ।’

डा. महतले बाढीबाट क्षतिग्रस्त तादी खोलामा निर्मित बुद्धभूमि हाइड्रोपावरको पनि निरीक्षण गर्नुभएको थियो । बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण र प्रभावित नागरिकहरूको भेटपछि डा. महतले स्थानीय जनप्रतिनिधिहरूसँग राहत, पुनःस्थापना र पुनर्निर्माणको बारमो छलफल पनि गर्नुभएको थियो ।

उहाँले स्थानीय जनप्रतिनिधिहरूलाई पहिले पहिरो र बाढीले पुर्याएको क्षतिको यथार्थ विवरण संकलन गर्न, प्रभावितहरूको सूची तयार पार्न र क्षतिग्रस्त भएका संरचनामध्ये सानातिना र थोरै रकमले हुने मर्मतसम्भार पालिकाको बजेटबाट सम्पन्न गर्न सुझाव दिनुभयो । डा. महतले प्राविधिक सहयोग चाहिने र ठूलो रकम चाहिने संरचनाको हकमा प्रदेश सरकार र संघीय सरकारसँग यथोचित बजेट यथाशीघ्र उपलब्ध गराउन आफूले पनि सक्दो सहयोग गर्ने वचन दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?