रेसुंगा नगरपालिकाद्वारा आँखाको प्रेसर मापनयन्त्र हस्तान्तरण

हिमालय टाइम्स
Read Time = 3 mins

-रमेश विश्वकर्मा

गुल्मी । गुल्मीको रेसुंगा नगरपालिकाले नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घासलाई आँखाको प्रेसरमापन यन्त्र हस्तान्तरण गरेको छ । नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीको वार्षिक कार्ययोजना बैठकको अवसरमा रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले उक्त यन्त्र हस्तान्तरण गर्नुभएको हो ।

यन्त्र हस्तान्तरण गर्दै नगर प्रमुख पन्थीले नगरपालिकाको नीति, कार्यक्रम र बजेटमा नै समावेश गरी जिल्लामा आँखा उपचारलाई शुलभ बनाउने उद्देश्य रहेको बताउनुभयो । ‘नगरका नागरिकहरूको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण पक्ष हो,’ नगर प्रमुख पन्थीले भन्नुभयो, ‘आफ्नो कार्यकालमा यो कार्यक्रमलाई निरन्तरता दिंँदै शुलभ स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन प्रतिबद्ध रहनेछु ।’ नागरिकहरूलाई गुणस्तरीय र शुलभ तरिकाले उपचार सेवा प्रदान गर्न पनि नेपाल नेत्र ज्योति संघलाई उहाँले आग्रह गर्नुभयो ।

यो यन्त्र खरिदका लागि नगरपालिकाले आ.व.०७७/०७८ मा १२ लाख विनियोजित गरेका थियो । जसअन्तर्गत ११ लाख १७ हजार ५७० बराबरको आँखाको प्रेसरमापन यन्त्र ई–टेण्डरमार्फत खरिद गरि हस्तान्तरण गरिएको योजना शाखा प्रमुख विनोद मरासिनीले जानकारी दिनुभयो ।

त्यस्तै, रेसुंगा नगरपालिकाभित्रका आँखाका बिरामीहरूको निःशुल्क शल्यक्रिया गर्नका लागि नगरपालिका र नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्रबीच सम्झौता गरिएको छ । अब नगरभित्रका आँखाको शल्यक्रिया गर्नुपर्ने बिरामीको निःशुल्क उपचार गरिने नगर प्रमुख पन्थीले बताउनुभयो । ‘नगरपालिकाले आफ्नो जिम्मेवारी पूरा गर्ने उद्देश्यमा एउटा इँटा थप्ने काम गरेका छौँ ।’ उहाँले भन्नुभयो, ‘निःशुल्क आँखा उपचार सेवाले नेत्र ज्योतिको क्षेत्रमा ठूलो सहयोग पुग्ने अपेक्षा राखेका छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?