चाडपर्वको नाममा सडकमै व्यापार

हिमालय टाइम्स
Read Time = 5 mins

-सञ्जीवकुमार मिश्रा

बारा । अरू दिनको तुलनामा चाडपर्वकोे समयमा बजारमा भिडभाड र चहलपहल बढ्नु स्वाभाविक कुरा हो । तर, भिडभाड र चहलपहल बढ्ने बेलामा सडकमै व्यापार गर्नु र सर्वसाधारणलाई बजारमा आवतजावतमा समस्या खडा गर्नु कदापि उचित होइन । कुनै पनि बहानामा सडक अतिक्रमण गर्न नहुने कानुनी मान्यता भए पनि बाराको सदरमुकाम कलैयादेखि लिएर ग्रामीण बजारहरूमा चाडपर्वको नाममा सडकमै व्यापार गर्नेक्रम बढेको छ ।

सडकपेटीमा ठेला, पसल थापेपछि आवतजावत गर्न समस्या भएको नगरवासीहरूले गुनासो गरेका छन् । एकातिर पार्किङस्थल, अर्कोतर्फ भाजा, फलफूल, राखी व्यापारीहरूले सडक नै अवरुद्ध गरी व्यापार व्यवसाय सञ्चालन गरेका कारण सर्वसाधारणलाई बजारमा आवतजावत गर्न समस्या भएको कलैया उपमहानगरपालिका-१ की अनिता देवीले जानकारी दिनुभयो । सबैभन्दा बढी हामी महिलाहरूलाई आवतजावतमा समस्या भएको उहाँले जानकारी दिनुभयो । एकातिर पसलेहरूले फुटपाथ छेकेर आ–आफ्नो पसलका सामानहरू राखेका छन् भने अर्कोतिर भाजा, फलफूल राखी बेच्नेहरूले सडकमै पसल थापेर बिक्रीवितरण गर्ने गरेका कारण बजारमा किनमेल गर्न जानआउन समस्या भएको उहाँले जानकारी दिनुभयो ।

बजारमा भिड छ, बाटो पूरै जाम भएको छ महागढीमाई नगरपालिका–१० गञ्जभवानीपुरबाट किनमेल गर्न आउनुभएका रमेशप्रसाद गुप्ताले जानकारी दिनुभयो । किनमेल गर्न जाँदा बाटो नै बन्द हुने गरी पसल थापेका कारण समस्या भएको जानकारी उहाँले बताउनुभयो । गुप्ताले भन्नुभयो, ‘भिडभाड हुने दिनमा पनि कुनै व्यवस्थापन गरिएको छैन, मनोपोली पसलेहरूले बाटोमै व्यापार व्यवसाय सुरु गरेका छन् ।’ चाडपर्वका बेला बजारमा भिडभाड हुने र यसै भिडभाडमा मौकाको फाइदा उठाउँदै चोरी, पाकेटमारीजस्ता घटनाहरू बढ्ने गरेको नगरवासीहरूले गुनासो गरेका छन् ।

बाराको कलैयामा मात्र होइन, गञ्जभवानीपुर, बरियारपुर, कोल्हवीलगायत भित्री सडकखण्डको दुवैतर्फ फलफूल, तरकारी, राखी बेचबिखन गर्नुका साथै सडकमै ठेला, रिक्सा, अटो लगाएपछि मानिसहरूलाई आवतजावत गर्न समस्या भएको हो । यसरी पर्वको नाउँमा सडकमै व्यापार गर्नेक्रम बढेसँगै आमनागरिकहरूले सास्ती खेप्नुपरेको छ ।

अहिले सडकमै सार्वजनिक बस, अटो रिक्सासहित ठेला र सडकपेटीमा पसल सञ्चालन गरेपछि आमसर्वसाधारणलाई आवतजावत गर्नसमेत कठिनाइ भएको छ । स्थानीय पसले एवं स्थानीयवासीले समेत सडकछेउमै ठेला पसल, फुटपाथ पसल सञ्चालन गरेपछि पैदल यात्रा गर्न समेत कठिनाइ भएको कलैया उपमहानगरपालिका–१६ का पैदलयात्री श्यामबाबु यादवले बताउनुभयो ।

चाडपर्वको नाउँमा सडकमै व्यापार गर्दा दुर्घटनाको जोखिम बढ्दै गएको अस्थायी ट्राफिक प्रहरी कार्यालय कलैयाका प्रमुख जयराम पुडासैनीले जानकारी दिनुभयो । चाडपर्वको समयमा मानिस तथा सवारीहरूको भिडभाड अनि आपराधिक गतिविधि हुन सक्ने आशंका रहे पनि यसरी सडकमै व्यापार व्यवसाय गर्दा ट्राफिक व्यवस्थापन गर्न समस्या हुनुका साथै दुर्घटना दिनप्रतिदिन बढिरहेको पुडासैनीले बताउनुभयो  ।

यता नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले बजारको समस्या चाँडै समाधान हुनुपर्ने बताउनुभयो । खुद्रा व्यापारीहरूलाई व्यवस्थापन गरेर बजार व्यवस्थितरूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिनुभयो  ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?