सडकको खाल्डाखुल्डी नपुरिँदा दुर्घटना बढ्यो

हिमालय टाइम्स
Read Time = 4 mins

विराटनगर । पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्डको खाल्डाखुल्डी मर्मत नहुँदा दैनिक दुर्घटना बढ्दै गएको छ । मोरङको उर्लाबारी नगरपालिकामा रहेको पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्ड ६/सात महिनादेखि पिच गरिएको ठाउँमा भएका खाल्डाखुल्डी नपुर्दा सवारी र यात्रुहरूले सास्ती व्यहोर्दै आउनुपरेको हो । सात महिना अघिदेखि यस्तो समस्या हुँदासम्म सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयको गुनासो छ ।

बाटोका खाल्डाखुल्डीका कारण यात्रुहरू दैनिक दुर्घटनामा पर्ने गरेका छन् । उक्त खाल्डाखुल्डी दुर्घटनाबाट यातायातहरूमा ठूलो क्षति भएको स्थानीयहरू बताउँछन् । यही बाटो दैनिक हिँड्ने चालकहरू यस क्षेत्रमा डरमा सवारी गुडाउनु परेको बताउँछन् ।

उनीहरूले विगत पाँच महिनायता सडकको स्थिति दयनीय रहेको बताए । उनीहरूले बाटो मर्मत हुन नसक्दा कुनै पनि बेला दुर्घटना हुने बताए । स्थानीय सरकारले लापरबाही गरेर मर्मतसंहार नगर्दा सडक दुर्घटनाबाट हरेक दिनजसो दुर्घटना हुने गरेको उनीहरूको भनाइ छ । उनीहरूले सडक निर्माण गरेको ६ महिना नबित्दै खाल्डाखुल्डी हुने समस्या रहेको बताएका छन् ।

उक्त बाटो हुँदै दैनिक प्रदेश सरकारका सांसद, मन्त्री र मुख्यमन्त्री हिँड्ने गरे पनि आवश्यक चासो नदिएको स्थानीयहरू बताउँछन् । बाटो भत्किएकै क्षेत्र उर्लाबारी–३ मंगलबारेमा सडक विभागको कार्यालय छ । तर, सडकको अवस्था न सांसदले देख्छन् न त सडक विभागले नै हेर्छ । कार्यालय परिसरमा सडक आसपास राखिने ठूल्ठूला बोर्ड र कार्यालयको अवस्था भने झारैझारले भरिएको र माकुराको जालैजालोले भरिएको छ । कार्यालय नामको मात्रै रहेको स्थानीयको गुनासो छ ।

देशकै मुख्य बाटोको हालत यस्तो हँुदासम्म कुनै पक्षबाट चासो दिएको देखिँदैन । दैनिक हजारौँको संख्यामा गाडी गुड्ने बाटोको यो अवस्थाले स्थानीयहरू हरेक दिनजसो सडक दुर्घटना हुने गरेको बताउँछन् । यही बाटो भएर धेरै यातायात जिल्लाको सदरमुकाम विराटनगर र देशको संघीय राजधानी काठमाडौं जाने गरेका छन् । यही बाटोमा ठाउँठाउँमा पटके कर र ट्राफिक चेकिङ हुन्छ । तर, बाटोले भने मर्मतसम्म पाएको छैन । महिनौँदेखि साना सवारी फस्ने खाल्डाखुल्डी हुँदासम्म तीनै तहका सरकार मौन छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?