सुदर्शनसँग ‘एक्स-९’ को सम्झौता

Read Time = 3 mins

काठमाडौं । २०७१ सालमा प्रदर्शनमा आएको अभिनेत्री रेखा थापा अभिनित, निर्मित तथा निर्देशित चलचित्र ‘हिम्मतवाली’ बाट सुदर्शन गौतमले अभिनय करिअर सुरु गर्नुभएको थियो । तर, डेब्यु चलचित्र सफल भए पनि उहाँले अभिनयलाई भने निरन्तरता दिन सक्नुभएन । लामो समयदेखि क्यानडामा बसोबास गर्दै आउनुभएका उहाँले ८ वर्षपछि अभिनयमा फर्किने निर्णय गर्दै फिल्म ‘एक्स-९’ साइन गर्नुभएको छ ।

केही दिनदेखि चलचित्रको छायांकन प्रबन्ध मिलाउन क्यानडामा रहनुभएका निर्देशक मुकुन्द भट्टले यसै साता गौतमसँग कागजी सम्झौता गर्नुभएको हो । चलचित्रको केही प्रतिशत छायांकन क्यानडामा हुनेछ र त्यहाँको पार्टमा सुदर्शन देखिनुहुनेछ । निर्देशक भट्टले चलचित्रमा सुदर्शन गौतमको भूमिका सशक्त रहेको बताउनुभएको छ । चलचित्रका लागि सुदर्शनले आकर्षक पारिश्रमिक बुझेको बताइएको छ ।
८ वर्षपछि चलचित्रमा कमब्याक गर्न लाग्नुभएका सुदर्शनले राम्रो टिम र बलियो चरित्र पाएकाले आफू ‘एक्स-९’ मा काम गर्न राजी भएको जानकारी दिनुभएको छ । उहाँले क्यानडाबाटै भन्नुभएको छ, ‘म फिल्मबाट कहिल्यै पनि टाढा थिइनँ । विभिन्न कारणले समय दिन नपाएको मात्र हुँ । फेरि फिल्ममा काम गर्दा राम्रो टिम र बलियो चरित्र हुनुपर्छ भन्ने मान्यतामा अडिग थिएँ । यी सबै कुरा ‘एक्स-९’ मा पाएँ ।’

एक दुर्घटनामा दुवै हात गुमाउनुभएका सुदर्शनले बिनाहात संसारकै अग्लो शिखर सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउनुभएको छ । खुट्टाले लेखेर नेपाल कमर्स क्याम्पसबाट मास्टर्स र क्यानडामा डिप्लोमा गर्नुभएका उहाँ कम्प्युटरदेखि गाडीसम्म खुट्टैले चलाउनुहुन्छ । क्यानडामा मोटिभेसनल स्पिकरका रूपमा परिचित सुदर्शनले चलचित्र ‘हिम्मतवाली’ बाट अभिनयमा राम्रो सम्भावना देखाउनुभएको थियो ।

चलचित्रमा सुदर्शनसँगै सौगात मल्ल, अनमोल केसी, पुष्प खड्का, राज कटुवाल, अनुपविक्रम शाहीलगायतको अभिनय रहनेछ । यो चलचित्रबाट मोडल नीति शाहले अभिनेत्रीका रूपमा डेब्यु गर्नुहुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?