उद्योग क्षेत्रमा ५८ अर्ब बढी विदेशी लगानी प्रतिबद्धता

Read Time = 3 mins

काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ मा नेपालको उद्योग क्षेत्रमा २३ मुलुकका लगानीकर्ताले दुई सय ९५ उद्योगका लागि ५८ अर्ब ४० करोड २७ लाख लगानी प्रतिबद्धता जनाएका छन् । जुन अघिल्लो वर्षभन्दा झण्डैै १० प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७७/७८ मा एक ८४ उद्योगका लागि ४९ अर्ब २९ करोड १५ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो ।

उद्योग विभागका अनुसार सबैभन्दा बढी लगानी चीन, स्पेन र अमेरिकी लगानीकर्ताको रहेको छ । ती मुलुकका लगानीकर्ताबाट झण्डै ५० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको हो । चीन, स्पेन र अमेरिकी लगानीकर्ताले क्रमशः १३ हजार छ सय एकजना, २९ जना र सात सय २९ जनालाई रोजगारीसहित लगानी प्रतिबद्धता जनाएका छन् । खासगरी साना तथा मझौला उद्योगका लागि लगानी प्रतिबद्धता आएको बताइएको छ ।

पर्यटन, होटल, प्रविधि र थोरै उत्पादनमूलक उद्योगका लागि लगानी आएको हो । अमेरिकापछि भारत, सिंगापुरलगायत मुलुकका लगानीकर्ताको लगानी धेरै रहेको छ । भारतले तीन अर्ब १४ करोड ३८ लाख रुपैयाँ, सिंगापुरले एक अर्ब रुपैयाँ, अस्ट्रेलियाले ५० करोड ६६ लाख रुपैयाँ र क्यानडाले ४९ करोड ७५ लाख लगानी प्रतिबद्धता जनाएका छन् । भारतले १२, सिंगापुरले एक, अस्ट्रेलियाले चार, क्यानडाले चार उद्योगमा क्रमशः छ सय ६३ जना र २९ जना, एक सय ८८ जना, दुई सय ९३ जनालाई रोजगारीको प्रतिबद्धता जनाएका छन् ।

गत वर्ष २३ मुलुकले उद्योग स्थापना तथा लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । बेलायतले ४१ करोड ५० लाख रुपैयाँ, इटलीले ३६ करोड रुपैयाँ, जापानले १५ करोड रुपैयाँ, ताइवानले १२ करोड रुपैयाँ र नेदरल्यान्ड्सले ११ करोड ८० लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । बेलायतले सात, इटलीले पाँच, जापानले दुई, ताइवान र नेदरल्यान्ड्सले एक उद्योगमा क्रमशः दुई सय ९३, दुई सय १७, ७८, ७७ र एक सय पाँचजनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?