पुस्तक : आम भुटानी शरणार्थीको भोगाइ ‘द हिमालयन’

Read Time = 10 mins

✍️ गीता अधिकारी
आम भुटानी शरणार्थीको भोगाइ संघर्ष र पीडासँग जोडिएको पुस्तक ‘द हिमालयन’ पाठकमाझ आएको छ । द हिमालयन ‘मेरो भुटानदेखि अमेरिकासम्मको यात्रा’ पुस्तक स्रष्टा नर प्रधान (मित्र) ले पाठकमाझ ल्याउनु भएको हो । अंग्रेजी संस्करणमा निकै लोकप्रिय रहेको ‘द हिमालयन’लाई नेपाली संस्करणका रूपमा पनि पाठकमाझ ल्याइएको छ । यसको अंग्रेजी संस्करण निकै नै बिक्री भइरहेको बेलामा नेपाली संस्करण पनि पाठकमाझ स्रष्टा प्रधानले ल्याउनुभएको हो ।

नेपाली संस्करणको अनुवाद जितेन्द्र श्रेष्ठले गर्नुभएको छ । ताराहाङ राईको भाषाविन्यास रहेको कृतिको लेआउट तथा मुद्रण सर्वदा प्रिन्टिङ सोलुसन प्रा.लि.ले गरेको छ । ११० पृष्ठको यो कृतिको आवरण पनि आकर्षक रूपमा प्रस्तुत गरिएको । शरणार्थी र आप्रवासीहरूका लागि आशाको केन्द्र क्लिभल्यान्ड, ओहायोका निर्देशक एलिन विल्सनले कृतिमा भूमिका लेख्नु भएको छ । यसमा ‘बुबासँगको बाल्यकाल’, ‘बुबाविनाको जीवन’, ‘बालबालिकाको काम (एक नागरिकदेखि शरणार्थीसम्म), ‘एउटा शिविरबाट अर्को शिविरको यात्रा’, ‘दोस्रो दर्जाका मानिसहरू’, ‘अमेरिका प्रस्थान’, ‘क्लिभ ल्याण्ड, मेरो नयाँ गाउँ’, ‘गोप्य प्रेम कथा’, ‘व्यापारको अनुभव’, ‘अरूलाई सहायता गर्ने मेरो इच्छा’ र ‘मेरो जीवनबाट सिक्न सकिने पाठहरू जस्ता विभिन्न एघार शीर्षकमा विषयवस्तु प्रस्तुत गरिएको छ ।

भुटानदेखि निष्काषित हुनु परेको कारुणिक यर्थाथता, शिविरका दुःख, दैनिकी र अमेरिकामा गरेको संघर्षलाई बढो कलात्मक ढंगबाट स्रष्टा प्रधानले पाठकमाझ प्रस्तुत गर्नु भएको छ ।

स्रष्टा प्रधानले ‘म यो पुस्तक भविष्यका लागि आशा गुमाउने र जीवनदेखि हार खाएकाहरूलाई समर्पित गर्दछु । उनीहरूका लागि, म राष्ट्रपति फ्राङ्लिन डि.रुजवेल्टले भनेका कुरा सम्झाउन चाहन्छु, ‘हामीले सधैँ आशा, विश्वास, क्षितिजभन्दा बाहिर एउटा राम्रो जीवन, राम्रो संसार छ भन्ने विश्वास राखेको छौँ ।’ कृति तमाम पीडाबाट ग्रुजिएका र निराश भएकालाई आशाको दीप बालिरहन आग्रह गर्दै समर्पण गर्नुभएको छ ।

‘प्रत्येक शरणार्थीसँग एक भित्री कथा हुन्छ, जुन हामी सबैको लागि उपयोगी हुन्छ, प्रोत्साहन दिन्छ र समाजलाई राम्रोसँग व्याख्या गर्दछ । ‘दि हिमालयन’ नर प्रधानको भुटानबाट सुरु भएको यात्राको शक्तिशाली कथा हो । उनले मातृभूमि छाड्नुको पीडा, नेपालको शरणार्थी शिविरहरूको कठिनाइपूर्ण जीवन र अन्ततः अमेरिकामा आफ्नो भविष्यको पुनर्निर्माण गर्ने आशाको बीचमा यो पुस्तकमा शरणार्थीहरूको उत्तरचढावयुक्त जीवनलाई पाठकमाझ प्रस्तुत गरेका छन् । ‘दि हिमालयन’ ले अमेरिकी समाजको खुलापनलाई चित्रण गर्दछ, जुन विश्वको हरेक कुनाबाट आएका आप्रवासीहरूद्वारा निरन्तर समृद्धिको पथमा छ,’ पुस्तकमा भनिएको छ ।

आफ्नो मुटुभन्दा प्यारो देश भुटान, आफ्नो गाउँ, समाज र सम्पूर्ण श्रीसम्पत्ति छोडेर अन्धकार भविष्यको पछि लाग्नुको पीडालाई स्रष्टा प्रधानले कृतिमा यर्थाथ कुरालाई कथानक रूपमा प्रस्तुत गर्नुभएको छ । कृति पढ्दै गर्दा कति बेला आफैँ आँसु चुहिन्छ पत्तै हुँदैन त कति बेला आक्रोशले दनदनी बल्न पुगिन्छ । मनभित्र एक खालको विद्रोह जन्मिछ, क्रुर अत्याचरका विरुद्ध । पुस्तकमा भुटानदेखि निष्काषित हुनु परेको कारुणिक यर्थाथता, शिविरका दुःख, दैनिकी र अमेरिकामा गरेको संघर्षलाई बढो कलात्मक ढंगबाट स्रष्टा प्रधानले पाठकमाझ प्रस्तुत गर्नु भएको छ ।

पुस्तकमा शरणार्थीले भोग्नु परेका अनेक पीडा, मातृभूमि छोड्नु पर्दाको छटपटी, विदेशी भूमिमा रहेर सम्पन्नताको जीवन जिउँदै गर्दा पनि मातृभूमिप्रति अगाध माया, आस्थाका हरेक शब्द लेखले मसीलाई आँसु बनाएर यसमा व्यक्त गर्नुभएको छ । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’, एक प्रसिद्ध संस्कृत श्लोकलाई स्रष्टा प्रधानले यस कृतिमा पनि चरितार्थ गर्नुभएको छ ।

पुस्तकमा अत्यन्तै मार्मिक र यथार्थमा आधारित तथ्य कथानकका रूपमा प्रस्तुत गरिएको छ । पुस्तकमा एक नेपालीभाषी भुटानीले आफ्नो जीवनमा भोग्नुपरेको त्रासदीपूर्ण घटनाको यथार्थ रूपमा चित्रण गरेको हुँदा पाठकलाई यसले भावबिहृवल बनाउँदछ ।

यो पुस्तक शरणार्थी जीवनको बारेमा अध्ययन अनुसन्धान गर्न एक राम्रो सन्दर्भ सामग्रीका रूपमा रहेको छ । यस अर्थमा यो पुस्तक संग्रहणीय हुन पुगेको छ । ‘हामी भुटानमा जन्मिए पनि हाम्रो रगतमा नेपालीपन छ, हाम्रो भाषा, संस्कृति, संस्कार, परम्परा नेपाली हो । हाल अमेरिकी नागरिक भए पनि आमाको विशेष चाहना भएकोले पुस्तकलाई नेपाली भाषामा अनुवाद गरी पाठकमाझ ल्याएको छु, यो पुस्तकमा भुटानदेखि अमेरिकासम्मको यात्राका विभिन्न सन्दर्भ प्रस्तुत गरेको छु’, स्रष्टाले पुस्तकमा आफ्नो भनाइ यसरी राख्नुभएको छ । पुस्तकले भोलिका नेपालीभाषी भुटानीलाई आफ्नो देशको इतिहासको एक क्रुर कालखण्ड बुझ्नका लागि सहयोग गर्नेछ ।

पुस्तकमा स्रष्टा प्रधानले प्रस्तुत गर्नुभएका हरेक विषयवस्तुले पाठकलाई बाँधेर राख्दछ । पुस्तक पढ्न सुरु गरेपछि यसमा प्रस्तुत गरिएका घटनाक्रमले छोड्न मन लाग्दैन । यसपछि के भयो होला भन्ने कौतुहलताले पाठकलाई बाँधेर राख्दछ । पुस्तकमा अत्यन्तै मार्मिक र यथार्थमा आधारित तथ्य कथानकका रूपमा प्रस्तुत गरिएको छ । पुस्तकमा एक नेपालीभाषी भुटानीले आफ्नो जीवनमा भोग्नुपरेको त्रासदीपूर्ण घटनाको यथार्थ रूपमा चित्रण गरेको हुँदा पाठकलाई यसले भावबिहृवल बनाउँदछ ।

आफ्नो भाषा, साहित्य, कला संस्कृतिको उत्थान, संबद्र्धन र संरक्षणमा थुप्रै नेपालीभाषी भुटानी अहोरात्र लागि पर्नुभएको छ । यस मेसोमा स्रष्टा नर प्रधान (मित्र) को नाम पनि अंग्रपंक्तिमा आउने गर्दछ । नेपालीभाषी भुटानीहरूले आआफ्नो ठाउँबाट यस्ता कार्य गर्दै आउनुभएको भए पनि पछिल्लो समय उहाँहरू इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकामार्फत विभिन्न कार्यक्रम गर्दै आउनुभएको छ । डिल्लीराम अधिकारीको अध्यक्षतामा रहेको यो संस्थाले नेपालमा पनि धेरै कार्य गर्दै आएको छ ।

नेपाली गीत संगीतको श्रीवृद्धि, कला संस्कृतिको संरक्षण र संर्बद्धनमा उहाँहरूका कार्य अतुलनीय रहेका छन् । विभिन्न रियालिटी सोहरू पनि यस संस्थामार्फत हुँदै आएका छन् । यसका लागि यस संस्थाका अध्यक्ष अधिकारीप्रति हार्दिक धन्यवाद टक्र्याउँछु । उहाँका कार्यले अझ व्यापकता पाओस् भन्ने कामना गर्दछु । स्रष्टा प्रधानको कलमले अझ नयाँ–नयाँ कृति जन्माओस् र त्यसको हामीले रस्वादन गर्न पाइराखौँ यही गीता कामना ।

Subscribe
Notify of
guest
3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
suman
suman
2022-08-17 8:04 pm

यर्थाथ परक कृतिको राम्रो साङ्गो पाङ्गो गीता जीको

Ramesh
Ramesh
2022-08-22 11:15 am

एकदमै प्रेरणदायी पुस्तक छ यो
गीताजीले राम्रोसँग केस्रा केस्रा केलाउनुभएको छ ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?