भौतिक र अध्यात्मको सेतु ज्योतिष

हिमालय टाइम्स
Read Time = 13 mins
A A- A+

✍️ डा. नारायणप्रसाद निरौला

उज्यालो अर्थप्रदान गर्ने, प्रकाशित पार्ने ज्योतिष शब्दको अर्थ हुन्छ । व्यक्तिको वास्तविक स्वरूपलाई प्रकाशित गर्ने, जन्मजन्मान्तरको कर्मफल बताउने शास्त्रका रूपमा पनि ज्योतिषलाई लिइन्छ । कर्म अध्यात्मसँग सम्बन्धित छ । अध्यात्म भनेको आत्मिक विषयको साधना हो । कर्मद्वारा आत्मिक शक्तिमा वृद्धि हुन्छ । फलस्वरूप हामी कार्यमा सफलता प्राप्त गर्ने गर्दछौँ । ज्योतिष भौतिकदेखि अध्यात्मसम्म जोडिएको विषय हो । यसअन्तर्गत भौतिक वस्तुको ज्ञानका साथै कर्मद्वारा आध्यात्मिक उपचारका पद्धति बताएको छ । ज्योतिषलाई केवल भौतिक विषयका रूपमा मात्र नभई अध्यात्मसिद्धिका रूपमा पनि बुझ्नु पर्दछ । ज्योतिष र अध्यात्मको अन्योन्याश्रित सम्बन्ध छ ।

भूत अर्थात् देखिने भोगिने वस्तुलाई भौतिक भनिन्छ । जो पञ्चइन्द्रियजन्य हुन्छ । अर्थात् आँखाले देखिने, कानले सुनिने, नाकले सुघिने, छालले छुइने, जिब्रोले स्वाद पाइने विषयवस्तु भौतिक हुन् । यी इन्द्रियभन्दा भिन्न विषयवस्तु अध्यात्म हो । आध्यात्मिक कुरा इन्द्रियातीत हुन्छन् । जसलाई न त सुनिन्छ, न त देखिन्छ, न त स्पर्श हुन्छ, न त स्वाद हुन्छ न त सुँघेर नै थाह पाइन्छ । अध्यात्म अदृष्ट शक्ति हो । जसलाई कर्मको माध्यमद्वारा प्राप्त गर्न सकिन्छ । यसैले आत्मिक कुरा शाश्वत हुन्छन् । अदृष्ट रूपमा रहने शक्ति विशेष नै अध्यात्म हो । जसको सिद्धिका निम्ति पौरस्त्य वाङ्मयमा अनेकौं विधि बताइएको छ । वेदका कर्मकाण्ड र ज्ञानकाण्ड यसका उदाहरण हुन् ।

वैदिक कार्य विशेष कर्मकाण्ड हुन् भने गीता उपनिषद् आदि ज्ञानकाण्ड हुन् । कर्मद्वारा र ज्ञानद्वारा आत्मिक शक्तिलाई मजबुत बनाउन सकिन्छ । यही विषयलाई परिपाकमा ल्याउन वेदाङ्ग (शिक्षा, कल्प, निरूक्त, छन्द, ज्योतिष र व्याकरण), दार्शनिक पन्थ बताउन षड्दर्शन, काव्यात्मक रूपमा बुझाउन रामायण र महाभारत, इतिहासका रूपमा पुराण आएका हुन् । यसैगरी खगोल, भूगोल र अध्यात्मको सम्बन्ध दर्शाउन ज्योतिष विषयको अध्ययन र प्रयोग गरिन्छ । आजको विज्ञानले अध्यात्मलाई प्रत्यक्ष न स्वीकारे पनि अप्रत्यक्षरूपमा स्वीकारेकै छ । हामीमा विशेष प्रकारको अदृष्ट शक्ति छ, यही शक्ति नै अध्यात्म हो । हाम्रो शरीर भौतिक हो । भौतिक कुरा कालान्तरमा नष्ट भएर जान्छन् । तर आत्मिक कुरा कहिल्यै नष्ट हुँदैनन् भनी गीतामा ‘न जायते मृयते वा कदाचित्’ भनी बताइएको छ । भौतिक शरीरमा आत्मा रहुञ्जेल शरीर चल्छ, आत्मा भिन्न भएपछि निष्क्रिय हुन्छ । यसरी शरीरलाई सक्रिय बनाउने शक्ति विशेषका रूपमा अध्यात्मलाई लिन सकिन्छ ।

हामीमा विशेष प्रकारको अदृष्ट शक्ति छ, यही शक्ति नै अध्यात्म हो । हाम्रो शरीर भौतिक हो । भौतिक कुरा कालान्तरमा नष्ट भएर जान्छन् । तर आत्मिक कुरा कहिल्यै नष्ट हुँदैनन् भनी गीतामा ‘न जायते मृयते वा कदाचित्’ भनी बताइएको छ ।

यो चराचर जगत् स्वीकारे पनि नस्वीकारे पनि भौतिक र अध्यात्म दुवैको संयोगबाट चलेको छ । यी दुवै पक्षको सम्बन्धलाई ज्योतिषले जोड्ने गर्दछ । पूर्वजन्ममा आर्जित कर्मको फल यो जन्ममा जे जस्तो भोग गर्नु छ सोही कुरा हाम्रो जन्मकालिक समयका ग्रहले प्रतिनिधित्व गर्दछन् (लघुजातकम्, १।२) । जसको फलभोग निरन्तर भइरहन्छ । मात्रात्मक अवस्थितिलाई अधिक वा कम गर्न सकिन्छ । जसअन्तर्गत अनेकौं शान्तिका विधि बताइएका छन् । यसरी ग्रहजन्य दुष्प्रभावलाई शमन वा परास्त गर्ने सामथ्र्य अध्यात्मबाट प्राप्त हुन्छ ।

मानव अथाह स्रोतको भण्डार हो । अनन्त शक्तिलाई मानवले उपयोग गर्न सक्दछन् । हामीभित्र रहेको विशेष शक्तिलाई जागृत गराउने कार्य आध्यात्मिक उपचार हो । आफूमा रहेको आत्मिक शक्तिको उजागर अध्यात्मि साधनाले हुने गर्दछ । यही शक्तिलाई जागृत गराउने अनेकौं विधि छन् । जप, ध्यान, दान, हवन, तर्पण, भोजन, गमन, दर्शन, पाठ, स्नान आदि थुप्रै आध्यत्मिक उपचारका पद्धति छन् । हाम्रा नित्यकर्म पनि ऊर्जाका स्रोत हुन् । जसको प्रयोगले आत्मिक शक्ति बढ्छ फलस्वरूप प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ । भौतिक रूपमा सूर्यले ताप दिन्छन् । सूर्यका बाह्र कला छन् । जसले अग्निजन्य ऊर्जा प्रदान गर्दछन् । यसरी सूर्यलाई हाम्रो दृष्टियोग्य स्थानमा देखिनका निम्ति विशेष गणित गरिन्छ । उक्त गणितद्वारा व्यक्ति जन्मेका स्थानबाट सूर्यको कोणीय अवस्थिति पत्ता लगाइन्छ । यी सबै भौतिक विधि हुन् ।

जुन कुराको साधन गरेपछि सूर्यसँगको प्रत्यक्ष साक्षात्कार हुन्छ । सूर्य जन्मकुण्डीलमा प्रतिकूल अवस्थामा छन् । सूर्यले अधिक पापजन्य फल प्रदान गरिरहेका छन् भने सूर्यको आध्यात्मिक उपचार गर्नुपर्दछ । यसरी हेर्दा आकाशका सूर्य भौतिक रूपमा एक तापीय पिण्ड हुन् भने आध्यात्मिक रूपमा सूर्यनारायण भगवान् हुन् । यसरी सूर्यको भौतिक उपस्थितिले व्यक्तिमा परेको प्रभावको आकलन गरी आध्यात्मिक उपचार (स्नान, जप, ध्यान, दान, स्तत्रे पाठ, रत्नधारण आदि) गर्नुपर्ने विधान ज्योतिषशास्त्रमा विद्यमान छ ।

यसरी हेर्दा ज्योतिषको भौतिकदेखि अध्यात्मसम्म नै प्रत्यक्ष सम्बन्ध रहेको छ । अझ भनौँ ज्योतिष भौतिक र आध्यात्मिक दुवै पक्षको सम्बन्धकर्ता हो । आध्यात्मिक उपचार गर्नु भनेको आफूमा कमी रहेको विशेष शक्तिलाई सबल बनाउनु हो । जसरी कोरोना जित्न इम्युन पावर चाहिन्छ त्यसैगरी ग्रहजन्य दुष्प्रभाव वा तत्जन्य तात्विक प्रभावलाई कम वा अधिक गर्नका निम्ति ग्रह शान्तिका उपाय अवलम्बन गर्नुपर्दछ । जसको विधि विधान ज्योतिषशास्त्रमा उल्लेख छ । हामी अनन्त शक्तिका स्रोत हौँ । आफूमा रहेको सुप्त विशेष वृत्तिलाई जागृत गराउनु ग्रहशान्ति गर्नु हो । स्वयंमा उक्त खराब तत्वको प्रतिरोधी क्षमता विकास गर्नका निम्ति नै शान्तिका विभिन्न विधि अपनाइएका हुन् ।

कतिपयमा ग्रह कटाउने भन्ने भ्रम पनि छ । ग्रह त जहाँ छन् त्यहाँ नित्य रहिरहन्छन् । आफूमा रहेको विशेष विकारलाई हटाएर सकारात्मक ऊर्जा भर्नु नै ग्रहशान्ति हो । जसका अनेकौँ विधि शास्त्रमा उल्लेख पाइन्छ । कुन विधिले के कति ऊर्जा प्राप्त गर्न सकिन्छ भन्ने विषयमा विषय विज्ञको परामर्श लिनुपर्ने हुन्छ । ज्योतिष अध्यात्मभिन्न छैन । ज्योतिषका हरेका विषयवस्तु अध्यात्ममा अन्तर्निहित छन् । हरेक ग्रह शान्तिका भिन्न भिन्न उपाय बताइएका छन् । व्यक्तिअनुसार कार्य र प्रकृतिमा भिन्नता रहनसक्छ । आजको विज्ञानले देखेको भौतिक भन्दा सूक्ष्म विषयवस्तुको बारेमा ज्योतिषशास्त्रमा चर्चा गरिएको छ ।

भौतिक ज्योतिषलाई मान्नु र आध्यात्मिक पक्षलाई नस्वीकार्नु ज्योतिषप्रति अनास्था प्रकट गर्नु हो । जबसम्म आकाशका पिण्डलाई केवल पिण्डमात्रै देख्छौँ तबसम्म त्यो भौतिक हो । ती पिण्डभित्र आत्मिक ऊर्जा पनि देख्छौँ र प्राप्तिका साधनामा लाग्छौँ भने त्यो आध्यात्मिक हो ।

भौतिक ज्योतिषलाई मान्नु र आध्यात्मिक पक्षलाई नस्वीकार्नु ज्योतिषप्रति अनास्था प्रकट गर्नु हो । जबसम्म आकाशका पिण्डलाई केवल पिण्डमात्रै देख्छौँ तबसम्म त्यो भौतिक हो । ती पिण्डभित्र आत्मिक ऊर्जा पनि देख्छौँ र प्राप्तिका साधनामा लाग्छौँ भने त्यो आध्यात्मिक हो । शक्ति हामी आफूमै छ । आफ्नै शक्तिको जागृत गराउन हामी शान्तिका उपाय अवलम्बन गर्दछौँ । शास्त्रले कण कणलाई देवताको संज्ञा दिएको छ । प्रत्येक अणुमा ईश्वर छन् । यसैले आकाशका सूर्यादि पिण्ड पनि देवता हुन् । उक्त देवताको उपासना गर्ने मानव हुन् । जसले जसरी उपासना गर्छन् त्यस्तै फल आफूमा प्राप्त गर्दछन् । उक्त फल भनेको हेर्न मिल्ने हुँदैन । किनकि आध्यात्मिक शक्ति अदृष्ट रहन्छ ।

जसलाई स्वीकारे पनि नस्वीकारे पनि यो स्वतः रहन्छ । यी दुवै विषयवस्तुको सम्बन्धसेतुका रूपमा ज्योतिषशास्त्र रहेको छ । सर्वप्रथम भौतिक रूपमा ग्रहजन्य अवस्थिति के कस्तो छ सो को विश्लेषण हुन्छ । चिना कुण्डलीबाट फलादेश गर्ने भनेको यही नै हो । कुनै ग्रह दशा लाग्नु भनेको उक्त ग्रहको तत्व हामीमा कम वा अधिक हुनु हो ।

जसले व्यक्तिलाई उक्त तत्वमा सबल वा निर्बल बनाउनसक्छ । निर्बललाई सबल बनाउन आध्यात्मिक उपचार गर्नुपर्दछ । जसका लागि अनेकौं उपचारका विधि शास्त्रमा विद्यमान पाइन्छन् । कुन कर्म गर्दा के कस्तो फल प्राप्त हुन्छ भन्ने विषयमा पनि शास्त्रमा विशद् विवेचना गरिएको छ । यसैले ज्योतिष भौतिक र अध्यात्मको सेतु हो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?