राष्ट्रवादको उज्यालो अनुहार !

डा. नारायण चालिसे
Read Time = 18 mins

सुविधा र सुरक्षामा अमेरिकीहरू सचेत रहेछन् । सबै प्रकारका सुविधा अनि सबै प्रकारको सुरक्षाका विषयमा उनीहरू गम्भीर पनि हुन्छन् सायद । झट्ट हेर्दा हामीलाई त्यस्तै लाग्छ । यहाँका प्रत्येक वस्तु नागरिकको सुविधा र सुरक्षालाई ध्यानमा राखेर बनाइएको छ । अफिस, घर, मलहरू, पार्क, वागबगैँचा, बाटोघाटो वा अरू कुनै कुरा किन नहोऊन् मसिनो गरी ख्याल गरेर बनाइएका छन् । प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिइएको छ । कुनै पनि विकासका काम पचास सय वर्षलाई ध्यानमा राखेर गरिएका छन् । प्रविधिको प्रयोग मानव जातिको सहयोग र सुरक्षाका निम्ति गरिएको छ ।

मानिस वा अन्य प्राणी जाति वा पर्यावरणका विषयमा यहाँको कानुन र नियम सक्रिय छ र त्यसलाई जतिसक्दो राम्ररी व्यवहारमा उतार्ने अभ्यास यहाँ भएको पाइन्छ । बालक, वृद्ध, अशक्त र अन्य धेरै किसिमले असक्षमहरूप्रति सरकार र अन्य प्राइभेट संघसंस्थाहरू हदैसम्म सकारात्मक र सहयोगी छन् । यहाँ बोलेर काम नगर्नेभन्दा नबोलेरै काम सम्पन्न गर्ने चलन बढी छ । बलैले गर्नुपर्ने काम पनि जुक्ति र प्रविधिको सहायताले सहजै सम्पन्न भएको पाइन्छ । अड्डाहरूमा कर्मचारीको घुइँचो बढी काम कम हुने प्रवृत्ति देखिँदैन ।

हाम्रोमा जस्तो पाँचदश जना कर्मचारीको भीड लाग्ने तर समयमा सजिलै कुनै काम हुन नसकेजस्तो यहाँ देखिँदैन यहाँ एकदुईजना मानिसले नै त्यति काम सजिलै सम्पन्न गरिदिन्छन् । कामको नाउँमा समय खेर फाल्ने श्रम नगर्ने प्रविृत्त यहाँ पटक्कै छैन । न यहाँ साँझको बिहान पनि ख्याल नगर्ने सरकारी नीति बनेका छन् न कार्यान्वयनको प्रकृति त्यस्तो प्रकारको छ । प्राकृतिक दृष्टिले हामीलाई जस्तो सुविधा उनीहरूलाई प्राप्त छैन । हाम्रो जस्तो भूवनोट यहाँ छैन ।

हामी न सुविधा न सुरक्षा दुवै दृष्टिले कमजोर रहेकालाई यो कुरा केही आश्चर्यजनक लाग्छ । हामीलाई लाग्छ अमेरिकनहरूलाई त सुनकै घर बनाएर बसे पनि पुग्छ होला ? तर त्यस्तो छैन । उनीहरू बाहिर सजधज गर्दैनन् तर भित्र आफ्नो सुविधाको औधी ख्याल गर्छन् ।

हिमालदेखि तराई मधेससम्मको जति सुन्दर र सन्तुलित मौसम र हावापानी हाम्रो देशको छ त्यस्तो प्राकृतिक सम्पन्नता यहाँ छैन र भनेजस्तो वातावरण र हावापानी पनि छैन । देश ठूलो छ । थरि थरि वातावरण पनि छ । कतै कतै ज्यादै अनुकुल वातारण र मौसम पनि होला तर धेरै ठाउँ सहज किसिमको वातारण छैन । छ महिना हिउँ पर्ने, छ महिना प्रचण्ड गर्मी हुने ठाउँ छन् । हाम्रोतिर हिउँ पर्ने ठाउँमा गर्मी कम हुन्छ, गर्मी हुने ठाउँमा हिउँ पर्दैन तर यहाँ त्यस्तो छैन । कतै गर्मी मात्रै कतै हिउँ मात्रै । बलपूर्वक विकास गरेजस्तो लाग्छ यो भूमि । उनीहरू अब प्रकृति पनि बनाउने तहमा पुगिसकेका छन् ।

हामी न सुविधा न सुरक्षा दुवै दृष्टिले कमजोर रहेकाहरूलाई यो कुरा केही आश्चर्यजनक पनि लाग्छ । हामीलाई लाग्छ अमेरिकनलाई त सुनकै घर बनाएर बसे पनि पुग्छ होला ? तर त्यस्तो पटक्कै छैन । उनीहरू बाहिर सजधज गर्दैनन् तर भित्र आफ्नो सुबिधाको औधी ख्याल गर्छन् । हाम्रा मुस्ताङ, मनाङ, डोल्पा, हुम्लामा झैँ बाहिरबाट मुडुला घरहरूमा अफिस वा डिपार्टमेन्ट स्टोरहरू बनाएका छन् अनि सल्लाका काठले बनेका घरमा बस्छन् अमेरिकनहरू । तिनै साधारण घरहरूमा विश्वलाई आफ्नो बुद्धिले बसमा राख्न सक्ने क्षमता भएका विचारक बसेका छन् ।

प्रविधिको उच्च अवस्थालाई आविस्कार गर्न सक्ने प्राविधिकहरू बसेका छन् । विश्वका प्रसिद्ध अर्थशास्त्री र राजनीति शास्त्रीहरू बसेका छन् । हाम्रोमा जस्तो विलाशीता, हाइफाइ र आडम्बर यहाँका विशिष्ट व्यक्तिहरूमा पनि छैन । जतिसुकै ठूलो पदमा पुगेका व्यक्ति भए पनि उनीहरूले आफ्नो निर्धारित काम सरकारी नियमभित्र रहेर सम्पन्न गर्छन् । राजनीतिलाई पेसा बनाएर कमाइधमाइ गर्ने प्रवृत्ति यहाँ छैन भनिँदो रहेछ । अरूका बारेमा उनीहरू त्यति धेरै ध्यान दिँदैनन् तर आफू र आफ्नो सुविधा र सुरक्षाका विषयमा ज्यादै सजग रहन्छन् । फलानाको निन्दोचर्चोका निम्ति उनीहरूसँग समय छैन र चासो पनि छैन । अरूसँग बोल्न उनीहरू त्यति रुचाउँदैनन् ।

त्यो समय पनि उनीहरूले आफैँलाई दिन्छन् । नियम र कानुनको सम्मान गर्नु, जिम्माको काम यथा समयमा सम्पन्न गर्नुलाई उनीहरूले देशलाई माया गरेको सम्झिन्छन् । हाम्रोमा जस्तो राष्ट्रवाद देखाउने दाँत बनेको पाइँदैन । काम नगर्ने । जनता भड्काउने । सामाजिक सद्भाव बिथोल्ने । भाइचारा समाप्त गर्ने । जातीय नारा लगाएर जनता टुक्र्याउने । आपसमा अविश्वास सिर्जना गराउने । बालुवाको रोटी पकाएर जनतालाई बाँड्ने । नक्कली प्रतिबद्धता व्यक्त गर्ने । पानीमाथिको ओभानो बन्ने । झण्डा र नारा बोकेर सक्कली राष्ट्रवादी भएको नाटक गर्ने ।

बोलीमा र कागजमा देशलाई स्विजरल्याण्ड, जापान, अमेरिका बनाउने । टृष्टिकोण, योजना र लगनविनै विकासका नक्कली नारा लगाउने र घोर गणतन्त्रवादी बन्नुलाई राष्ट्रवादी मान्ने प्रवत्ति यहाँ नभएर ती सबैको व्यावहारिक अवस्थालाई यहाँ राष्ट्रवाद भनिँदो रहेछ जस्तो लाग्यो । आज तिनै मध्येका एक अमेरिकी नागरिक जसले आफ्नैको जस्तो व्यवहार गरे उनैको नाममा यी केही शब्दहरू समर्पण गर्दै छु । सन् २०१९ मा अमेरिका आउँदा पनि म यिनको पसलमा पुगेको थिएँ । इरानी बाबु अनि भारतीय आमाबाट जन्मिएका चालीस–बयालीस वर्षे, गहुँगोरो छाला, अग्लो कदका हँसिला अमेरिकी नागरिक...।

हजार बैगुन भएर पनि आफ्नै देश सम्झिनु र त्यसैको जस्तो हुन रहर गर्नु अनि कसरी हुन्छ आफू बसेको देशको उन्नति चाहनु यही त होला सक्कली राष्ट्रवाद जस्तो लाग्यो मलाई । त्यसपछि हामी भावुक भएरै बिदा भएका थियौँ ।

दुईपटक पुगेर पनि नाम सोध्नै बिर्सिएँ तर तिनको अनुहार कहिल्यै नबिर्सिने गरी मनमा बसेको छ अहिले । अमेरिकाको प्रतिष्ठित व्यापारिक केन्द्रको विशाल भवनको एउटा स्टलमा मोबाइल रिपेयर केन्द्र खोलेर बसेका रहेछन् । यसै भवनमा उनको अर्को स्टल पनि छ जहाँ उनकी अफगानी मूलकी अमेरिकी पत्नी बस्छिन् । धर्मले उनी मुस्लिम हुन् व्यवहारले उनी हाम्रा भाइ समान छन् । दुवै स्टलको मासिक पैँतीस सय डलर भाडा तिर्दा रहेछन् । अघिल्लो पटक उनले गरेको मीठो व्यवहारलाई नै सम्झेर यसपटक पनि मोबाइलसम्बन्धी काम लिएर तिनलाई खोज्दै गयौँ ।

तीन वर्ष पहिले भेटेका उनी अहिले पनि त्यही ठाउँमा छन् कि छैनन् होला भन्ने द्विविधा मनमा लिएर गएका हामी उनलाई सोही ठाउँमा भेटेर खुशी भयौँ । सुरुमा उनले अंग्रेजीमै कुरा गरे हामीले पनि टुटेफुटे अंग्रेजीमै उत्तर फर्कायौँ जब उनलाई तीन वर्षअघिको कुरा सम्झायौँ उनले तुरुन्तै चिनिहाले र थप सुमधुर व्यवहार गरे । उनलाई हामीलाई भेट्दा इण्डिया आएजस्तो भयो हामीलाई उनलाई भेट्दा नेपालै पाएजस्तो भयो । त्यसपछि उनी हिन्दीमै बोल्न थाले । हामी हिन्दीमा कुरा गर्न थाल्यौँ । हामीले आफूहरू आउनुको उद्देश्यसहित उनका हातमा मोबाइल थमाइदियौँ ।

मैले मेरो मोबाइलको साउण्ड सिस्टममा समस्या छ । नेपालमा खोलेर सफा गर्नुपर्छ भनेको थियो तर मैले दिइन मात्र के भनेको थिएँ उनले मेरो आशयलाई बुझेर हाँस्दै कमेन्ट गरे मैले बुझेँ तिमीले मोबाइल किन खोल्न दिएनौ । तिमीलाई त्यो मोबाइल पसलेप्रति भरोसा भएन । मलाई पनि जब म मेरो घर हैदरावाद जान्छु कुनै कुरामा पनि भरोसा लाग्दैन । कता के गरिदिन्छन् । के हेराफेरी गरिदिन्छन् भन्ने डर हुन्छ । यता सबै कुरा फेयर हुन्छ उता गयो कि जे कुरामा पनि शङ्का लाग्छ । न कानुन बलियो छ न मानिसहरू अनुशासित छन् । अपराध त्यत्तिकै छन् । राजनीति त झनै बिग्रिएको छ ।

खासमा तिम्रो हाम्रो देशमा किन यस्तो भर नलाग्दो अवस्था छ है ? भनेर अनुहार मलीन पारे । मलाई पनि उनलाई जस्तै नरमाइलो लाग्यो । यसरी विदेशी भूमिमा दुई दक्षिण एसियाली मुलुकका नागरिकहरूको भावना मिलेको थियो र हामीले आ–आफ्नो राष्ट्र«प्रतिको दायित्व सम्झिएका थियौँ । अनि मलाई लाग्यो जुन व्यक्ति वषौँदेखि विदेशी भूमिमा पसिनाबगाएर बसेको छ । आफ्नो देशले न लाउन दिएको छ न खान दिएको छ तर चिन्ता र चासो आफ्नै मातृभूमिको छ । उसैको बनोस्, उसैको भलोहोस् । नचाहिँदो नहोस् । यो हो राष्ट्र«वाद कि त्यो हो राष्ट्रवाद ।

नक्कली कुरा गरेर जताततैबाट राष्ट्रलाई तन्नम पार्नु राष्ट्रवाद हो कि लिनु न खानु हुँदा पनि राष्ट्रकै उन्नति र प्रगतिको चिन्तित रहनु राष्ट्रवाद हो ? त्यसो त चिन्ता गरेरै पनि राष्ट्रवादी भइने होइन राष्ट्रका प्रतिको दायित्वलाई राम्ररी निर्वाह नगर्नु पनि राम्रो त पटक्कै होइन तर जसलाई राष्ट्रले पनि केही दिन सकेको छैन उसले देशको हितमात्रै चिताउनु योगदान हो भन्ने लाग्छ ।

उनी कुरा गर्दै कामगर्दै गर्न थाले । उनले हाम्रा विषयमा पनि सोधे र भने ‘म पनि आमालाई भेट्न हैदरावाद जाँदैछु ।’ र अति ध्यानपूर्वक हाम्रा मोबाइलको समस्या समाधान गरिदिए । हामीले उनलाई कुनै मोलतोल नै नगरी काम दियौँ उनले पनि आफ्नै सम्झेर काम गरिदिए र अन्त्यमा जब हामीले पैसा दिन खोज्यौँ उनले विनम्रतापूर्वक ज्यादै थोरै पैसामात्र लिन चाहे र भने यो नलिई नहुने मेरो सामानको चार्जमात्र मैले तपाईँसँग लिएँ । मेरो परिश्रम र सीपको मैले कुनै चार्ज लिइन अर्थात् मैले लिन चाहन्न । खासमा उनले हाम्रो असी डलरको काम गरिदिए र हामीसँग जम्मा बीस डलरमात्र लिए ।

यसबीचमा उनले कोभिडले अमेरिकाको अर्थतन्त्रमा पारेको नकारात्मक असरलाई लक्ष्य गर्दै भने ‘अमेरिकाका सारा बिजनेस चौपट होगया है । ये मल भि आधा से ज्यादा बन्द हो गया है । बहुत सारे स्टल बन्द पडे हैँ । हर जगह यिसी हालत है । रेन्ट ज्यादा है सर्भाइभ करना मुस्किल हो गया है । मै भी यहाँ से फ्लोरिडा सिफ्ट हो रहा हुँ । अगली बार आइएगा तो ल्फोरिडा जरुर आइएगा । वहाँ हमारे यहाँ जैसा इन्भाइरोन्मेन्ट है ।’ ज्यादै आत्मीय थिए यी वाक्य अनि त्यत्तिकै राष्ट्रवादी थियो चिन्ता ।

हजार बैगुन भएर पनि आफ्नै देश सम्झिनु र त्यसैको जस्तो हुन रहर गर्नु अनि कसरी हुन्छ आफू बसेको देशको उन्नति चाहनु यही त होला सक्कली राष्ट्रवाद जस्तो लाग्यो मलाई । त्यसपछि हामी भावुक भएरै बिदा भएका थियौँ । अमेरिका जस्तो ठाउँमा आएर यसरी विदेशीले आफन्तको व्यवहार गर्नु साह्रै अनौठो कुरा हो । नदीलाई आफू लामो छु भन्ने घमण्ड छैन । आकाशलाई म व्यापक छु भन्ने अहङ्कार छै्रन । पृथ्वीलाई आफ्नो मातृत्वमा कुनै बडप्पन छैन । त्यस्तै विशाल सोच भएकाहरू पनि आफूहरू ठूलो भएकोमा कुनै अहङ्कार गरेको थाहा पाइँदैन । साधु, सज्जन र ज्ञानीहरूको पनि लक्षण त्यही हो ।

त्यस्तै आगन्तुकसँग छोटो, मिठो र शिष्ट व्यवहार गर्नु, हँसिलो अनुहारले बिदा हुनु अमेरिकीहरूको शिष्टाचार हो । अर्थात् जो विशाल र व्यापक छ त्यो कहिल्यै अहङ्कारी भएको थाहा छैन । सायद त्यसैले संसार यति सजिलो गरी चलेको छ । हामी भने साना कुरामा पनि ठुल्याइँ गर्ने, आफ्नो दायित्वप्रति इमानदार नहुने, मौका छोपेर नियमविपरीत काम गर्न तम्सिने जस्ता अशोभनीय काम गर्न पछि पर्दैनौँ । केही दिन पहिले मात्र बेलायत पढेर आएका भनिएका एकजना नेपाल सरकारका उच्चपदस्थ कर्मचारी (उपसचिव) लाखौँ रुपैयाँ घुससहित पक्राउ परे । यो लुकाउन नजानेर वा अति भएर बाहिर आएको सानो दृष्टान्तमात्र हो ।

यसको चरम रूप राष्ट्रका जिम्मेवार पदमा विराजमान व्यक्रिहरूबाट दिनहुँ भइरहेका छन् । हामीमा जस्तै अहङ्कार र दम्भ हुँदो हो त सायद अमेरिका यति समृद्ध बन्ने थिएन र यति राम्ररी चल्ने पनि थिएन । यति विशाल देशमा यति धेरै साधन र सुविधा पाएर पनि यिनीहरूले आफूलाई शिष्ट र शालीन उभ्याउन सक्नु यिनीहरूको उन्नतिको आधार हो जस्तो लाग्छ । र, हामी नै यस्ता नागरिक हौँ जो सधैँभरि आफ्नो दम्भमा रमिरहेका छौँ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Bijoy Kumar Rai
Bijoy Kumar Rai
2022-08-13 8:02 pm

श्रद्धेय नारायण सर, यति सशक्त प्रभावशाली यात्रा अनुभव मैले पढ्न पाएको छैन रहेछु, सायद हजुरको लेखन शैली बेजोड भएकोले हुनसक्छ । हार्दिक बधाई।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?