कविता : खुला धरती

हिमालय टाइम्स
Read Time = 1 min

✍️ ज्ञानप्रसाद भट्टराई
धर्ती हो सबको साझा, नासो हाम्रो बराबरी,
लाखौँ जीवनकी माता, माया गर्छिन् बराबरी ।।

सृष्टिकी जननी एक, सन्तान ती अनेक छन् ।
असुर जन्मँदा केही, साराले दुःख पाउँछन् ।।

समानधर्तीको धर्म, माया दिन्छ बराबरी ।
तिर्खा मेट्न नदी पुग्दा, पिऊ भन्छ सधैँ भरि ।।

साराका मन बन्दी छन्, बन्दी छन् सबका तन ।
घुमूँ झैँ लाग्छ संसार, तोडेर सब शासन ।।

प्रकृति सबको साझा, प्रकृति उपहार हो ।
पुस्तौनि हक लाग्ने रे, गर्ने यो नर दुष्ट हो ।।

रक्तको साँध भो घेरा, धर्ती टुक्र्यो कति कति ।
आमाको मन रुँदैछ, भन्छिन् जुट न सन्तति ।।

आमाको काखमा बस्छ, पिउँछ दूध तन्तनी ।
दाजुभाइ लडेका छन्, दूधको पोषले अनि ।।

कलिको बासले गर्दा, सत्ताले मत्त शासक ।
रजो तमो गुणी भक्त, शासक अधिनायक ।।

धर्ती जुट्छ मनै जुट्दा, जुट्ने त्यो मन मात्र हो ।
वेदको ज्ञानले सारा, विश्व नै परिवार भो ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?