कविता : गाउँ गाउँको सिंहदरबार

हिमालय टाइम्स
Read Time = 3 mins

✍️ भवानीशंकर चापागाईं

धेरै वर्षपछि घर फर्किए र हेर्दै गएँ
धेरै नै परिवर्तन भएछ मेरो गाउँ
गणतन्त्र र संघीयताले फेरेछ
मेरो गाउँको पुरानो चलन चल्तीको नाउँ
नाउँ फेरिएपछि
हिजोका पाटी पौवा र मठ मन्दिरहरू
कुनै अध्यक्षको नाममा
कुनै सचिवको नाममा
नामसारी भएका रहेछन्
सबै निकायका सबै नेताजीहरूले
नयाँ नयाँ गाडी चढ्न पाएका रहेछन्
स्वकीय सचिव नराखी पनि मन्त्रीले
उसको तलब सुविधा खाएको रहेछ
नेताजीको घर हेरेपछि पो थाहा भयो
सिंंहदरवार त गाउँ गाउँमा आएको रहेछ
डाक्टरको त के कुरा गर्नु

वृद्ध बाआमा भोक नलाग्ने ओखती माग्दा रहेछन्
वृद्ध भएका बाआमालाई वृद्धाश्रममा राखेर
युवाहरू विदेशतिर लाग्दा रहेछन्
विदेशी संस्कृति भित्रिएर
मेरो संस्कृति उठ्न नसक्ने गरी
दल दलमा फसेको रहेछ
मेरो काकाको फाटेको दौरा हेर्दा पो थाहा भयो
सिंंहदरवार गाउँगाउँमा पसेको रहेछ
हामीले धानखाने खेत प्लटिङ भएर
घडेरी बने पनि सबै घडेरी बाँझै रहेछन्
बल्ल बल्ल रोपेको धानले
न मल पाएछ धाँजा फाटेको खेतले न पानी पाएछ
मेरी बहिनीले तिजमा न सँगिनी गाइन्
न भाइले बालन वा हाक्पारे गीत गाएछ
भत्केका पुल र बाटाहरू हेर्दा पो थाहा भयो
सिंंहदरबार त गाउँगाउँमा आएछ
पुराना कर्मचारी फालिएछन्
नेताका नातागोताकाले मात्र
नयाँ जागिर पाएछन्
नयाँ नयाँ गाडी चढे पनि
मर्मत र इन्धन खर्च केवल
बिल बनाएर मात्र खाएछन्
कुम्ल्याउने धेरै भएछन्
निरिह जनताले केवल
आश्वासन र भाषण मात्र पाएको रहेछ
अभाव र बेरोजगारी देख्दा पोे थाहा भयो
सिंंहदरबार त गाउँगाउँमा आएको रहेछ
म जस्तै युवाले रगत पसिना बगाएर पठाएको
विप्रेषणले मेरो देश चलेको रहेछ
नेताहरूको खर्च धान्दाधान्दै
मेरो देशको अर्थतन्त्र भित्रभत्रै जलेको रहेछ
अब डर नमानी उठ युवा हो
यो देश विकसित बनाउन
चाहे तिमी यस युद्धमा मर्नुपर्छ
गाउँ गाउँमा आएको सिंहदरबरलाई फर्काउन
तिमीले अब केही न केही त गर्नुपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?