लाय्कु भैलः नाच हेर्न उपराष्ट्रपति आज राति भक्तपुर आउँदै

Read Time = 3 mins

भक्तपुर । उपराष्ट्रपति नन्दकिशोर पुन पासाङले मध्यपुर थिमिको ऐतिहासिक लाय्कु भैलः नाच अवलोकन गर्ने हुनु भएको छ। मध्यपुर थिमि नगरपालिकाको औपचारिक निमन्त्रणामा उहाँ नाच हेर्न आज राति भक्तपुर आउन लाग्नुभएको हो ।

मध्यपुर थिमिमा गाईजात्राको भोलिपल्टदेखि विविध साँस्कृतिक नाच हुने गरे पनि राष्ट्रियस्तरमा प्रचारप्रसार नभएकोले ओझेलमा छन् । यस्ता साँस्कृतिक महत्वका सम्पदाको प्रचार होस भनेर उपराष्ट्रपतिलाई निमन्त्रणा गरेको मध्यपुर थिमिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनु भयो । यी नाचहरू अवलोकनका लागि पहिलो पटक विशिष्ट व्यक्तित्वको आगमन हुन लागेको नगरप्रमुख श्रेष्ठले बताउनु भयो ।

आजदेखि चार दिनसम्म मध्यपुर थिमिमा लाय्कु भैलः, महाकाली नाच तथा निलबाराही गण नाचलगायतका ऐतिहासिक तथा साँस्कृतिक नाच सुरू हुँदैछ । लायकु भैलः, मध्यपुर थिमिको ऐतिहासिक लाय्कु (दरवार) बाट निस्कने भएकोले मल्लकालिन अवस्थामा यसको राजकीय सम्मान तथा सहभागिता रहको देखिन्छ ।

नेपाल संवत ६३३ मा भक्तपुरमा अनिकाल पर्दा राजा सुवर्ण मल्लले भक्तपुरको नवदुर्गा नाच, बोडको निलबाराही नाचसँगै थिमिमा लाय्कु भैलः नाच सञ्चालन गरेको जनविश्वास छ । स्थानीय किंवदन्तीअनुसार थिमिमा भूतप्रेत, दैत्य तथा दानवहरूले दुःख दिन थालेपछि आराध्यदेवी बालकुमारीको पूजा आरधना गरी देवीको आज्ञा बमोजिम यो नाच शुरू गरेको हो ।

लाय्कु भैलः नाचमा ज्यापुंगः (बेताल) –१ जना, भैलः (भैरव) –२ जना र दागिं (कुमारी) २ जना गरी पाँच जनाको नाच हुने गर्छ । लाय्कुमा वृहत् भोजको आयोजना गरी बेलुका ८ः३० बजेतिरबाट लाय्कु भैलः निकालिने छ । यही जात्रा अवलाकेनका लागि उपराष्ट्रपति राति ९ बजे आउने कार्यक्रम छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?