कर्णालीमा फुटबल प्रशिक्षक प्रशिक्षण

हिमालय टाइम्स
Read Time = 3 mins

सुर्खेत । फुटबल प्रशिक्षक उत्पादन गर्न कर्णालीमा सञ्चालन गरिएको चारदिने प्रशिक्षक प्रशिक्षण कोर्स सम्पन्न गरिएको छ । एन्फाको सहयोग र जिल्ला फुटबल संघ सुर्खेतद्वारा आयोजित चारदिने प्रशिक्षक कोर्स प्रदेश राजधानी सुर्खेतमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा कम्युनिटी कोचिङ कोर्स एन्फाका केन्द्रीय सदस्य रविन चन्दले आधारभूतरूपमा दिइएको प्रशिक्षक कोर्ससम्बन्धी तालिमले खेल र खेलाडीका लागि विकास एवं अवसर दुवै हुने बताउनुभयो ।

कम्युनिटी कोर्स गरेपश्चात् क्लबसँग समन्वय गरी अगाडि बढ्ने जनाउँदै केन्द्रीय सदस्य चन्दले आगामी प्रशिक्षणमा पनि एन्फाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विषम परिस्थितिका बाबजुद डी लाइसेन्स केन्द्रित प्रशिक्षण भए पनि सी, बी र त्यो अगाडिको चरणमा पुग्न एन्फाले सहयोग गर्ने उहाँको भनाइ थियो ।

कर्णाली प्रदेशमा पहिलोपटक आयोजित प्रशिक्षणले फुटबल क्षेत्रको विकासमा ठूलो सहयोग पुग्ने एन्फाका सदस्य सञ्जीव सिंहले बताउनुभयो । उहाँले सुर्खेतबाट श्रीलंका जाने क्याम्पमा धनसिं विकजस्ता खेलाडी छनोट हुनु गौरवको विषय भएको बताउनुभयो ।

प्रशिक्षक एवं एन्फा सदस्य नवीन महर्जन तथा सैनिक आवासीय विद्यालय सुर्खेतका प्राचार्य प्रेमबहादुर विश्वकर्माले प्रशिक्षणले खेल क्षेत्रमा आकर्षण बढ्ने बताउनुभयो । सहभागीको प्रतिनिधित्व गर्दै सुर्खेतका खेलाडी अस्मिता नेपालीले प्रशिक्षणमार्फत् नेतृत्व र प्राविधिक दुवै कुरा सिकाएको भन्दै प्रशिक्षण निकै उपलब्धिमूलक भएको जनाउनुभयो । उक्त कार्यक्रममा साबिक मध्यपश्चिमाञ्चल विकास क्षेत्रका ३० जना खेलाडीको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?