मेस्सी र नेमार बालोन डि’ओरको मनोनयनमा पर्न असफल

Read Time = 4 mins

काठमाडौं । अर्जेन्टिनाका स्टार लियोनल मेस्सी तथा ब्राजिलका स्टार नेमार यस वर्षको प्रतिष्ठित बालोन डि’ओरको मनोनयनमा पर्न असफल हुनुभएको छ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेल्नुहुने दुवैजनालाई बाहिर राख्दै फ्रान्स फुटबल म्यागेजिनले बालोन डि’ओरको मनोनयन सार्वजनिक गरेको हो ।

सर्वाधिक सातपल्टको बालोन डि’ओर विजेता मेस्सी सन् २००६ पछि पहिलोपटक मनोनयनमै पर्न असफल हुनुभएको हो । फ्रान्स फुटबल म्यागेजिनले पेरिसमा अक्टोबर १७, २०२२ मा यो अवार्ड प्रदान गर्दै छ । उक्त अवार्डका लागि ३० जनाको मनोनयन नाम सार्वजनिक गर्दा नेमार पनि उक्त सूचीमा अटाउनुभएन ।

च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलमा स्पेनिस क्लब रियल म्याड्रिडसँग पेनाल्टीमा गोल गर्न नसकेपछि मेस्सीको आलोचना भएको थियो । त्यसलाई पनि मेस्सी मनोनयनमा नपर्नुको कारण मानिएको छ ।

रियल म्याड्रिडलाई ला लिगा र च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका कप्तान करिम बेन्जेमा मनोनयनमा पर्नुभएको छ । रियलबाट ६ तथा इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुलबाट पनि समान ६ खेलाडी मनोनयनमा परेका छन् ।

मनोनयनमा परेका खेलाडीहरूमा करिम बेन्जेमा (रियल म्याड्रिड), थिवाउट कोर्टुवा (रियल म्याड्रिड), भिनिसियस जुनियर (रियल म्याड्रिड), क्यासमिरो (रियल म्याड्रिड), लुका मोड्रिच (रियल म्याड्रिड), एन्टेनियो रुडिगर (रियल म्याड्रिड/चेल्सी), मोहम्मद सलाह (लिभरपुल), ट्रेन्ट एलेक्सान्डार आर्नाेल्ड (लिभरपुल), लुयस डियाज (लिभरपुल), फाविन्हो (लिभरपुल), डार्विन नुनेज (लिभरपुल/बेन्फिका), भर्जिल भान डाइक (लिभरपुल), रियाद महारेज (म्यानचेस्टर सिटी), बर्नाडो सिल्भा (म्यानचेस्टर सिटी), फिल फोडेन (म्यानचेस्टर सिटी), केभिन डि ब्रुयन (म्यानचेस्टर सिटी) हुनुहुन्छ ।

त्यसबाहेक क्यान्सेलो (म्यानचेस्टर सिटी), एर्लिङ हालान्ड (म्यानचेस्टर सिटी/डर्टमुन्ड), रोबर्ट लेवान्डोस्की (बार्सिलोना/बायर्न म्युनिख), हृयुङ मिन सन (टोटनहम), हृयारी केन (टोटेनहम), योसुवा किम्मिख (बायर्न म्युनिख), साडियो माने (बायर्न म्युनिख/लिभरपुल), राफयल लियो (एसी मिलान), मेक मेइगनान (एसी मिलान), क्रिस्टोफर एनकुुकु (लाइप्जिग), क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड), केलियन एमबाप्पे (पिएसजी), हालेर (डर्टमुन्ड) र डुसान भ्लाहोभिक (युभेन्ट्स) पनि मनोनयनमा पर्नुभएको छ ।

राष्ट्रिय टोलीका प्रशिक्षक, कप्तान, खेल पत्रकार र समर्थकले दिएको मतका आधारमा एकजनाले अवार्ड जित्नुहुनेछ । विश्व फुटबलमा यो अवार्ड सबैभन्दा पुरानो र प्रतिष्ठित मानिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?