लेखक सलमान रुश्दी भेन्टिलेटरमा, एउटा आँखा गुम्न सक्ने

Read Time = 3 mins

न्यूयोर्क । लेखक सलमान रुश्दीमाथि अमेरिकाको न्यूयोर्कमा एक कार्यक्रमको क्रममा आक्रमण भएको छ । उहाँमाथि स्टेजमा रहेका बेला चक्कु आक्रमण भएको हो । उहाँको अवस्था अहिले गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाइएको छ ।

रुश्दीका एजेन्टले उहाँको अवस्थालाई इंगित गर्दै ‘खबर राम्रो नरहेको’ बताएका छन् । भेन्टिलेटरमा रहनुभएका लेखक रुश्दी बोल्न नसक्ने अवस्थामा रहेको उहाँका एजेन्ट एन्ड्र्यु वाइलीले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

लेखकले एक आँखा गुमाउने जनाइएको छ । रुश्दीमाथि विगत लामो समयदेखि इस्लामिक समूहबाट हत्याको धम्की आउने गरेको थियो । सन् १९९८ मा प्रकाशित भएको ‘द सटानिक भर्सेज’ उपन्यासपछि उहाँमाथि ज्यान मार्ने धम्की आउने गरेको थियो । प्रहरीले आक्रमणमा संलग्न भएको अभियोगमा २४ वर्षका हादी मातरलाई न्यू जर्सीको फेयरभ्यूबाट पक्राउ गरेको छ । अन्तर्वार्ता भइरहेका बेला आक्रमणकारी कुदेर स्टेजमा गइ लेखक रुश्दी र अन्तर्वार्ताकारमाथि आक्रमण गरेको न्यूयोर्क प्रहरीले जनाएको छ ।

रुश्दीमाथि भएको आक्रमणको संसारभरबाट निन्दा गरिएको छ । फ्रान्सले सहानुभूति जनाएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले फ्रान्स उहाँको साथमा रहेको बताउनुभएको छ । ‘३३ वर्षदेखि सलमान रुस्दीले अस्पष्टताविरुद्धको लडाइँलाई मूर्त रूप दिनु भएको छ । उहाँमाथि कायर तवरले आक्रमण भयो, उहाँमाथि घृणा र पाशविक शक्तिले आक्रमण गरेको हो । उहाँको लडाइँ हाम्रो हो, यो विश्वव्यापी छ । आज पहिलेभन्दा धेरै हामी उहाँको पक्षमा उभिन्छौं’, उहाँले ट्विटरमा भन्नुभएको छ ।

यस्तै बंगलादेशकी लेखिका तसलिमा नसरीनले लेखक सलमान रुस्दीमाथि भएको घातक हमलाको निन्दा गर्नुभएको छ । रुस्दीमाथि आक्रमण हुँदा आफू स्तब्ध भएको नसरीनको भनाइ छ । उहाँले ट्वीटमा लेख्नुभएको छ, ‘मैले थाहा पाएँ, सलमान रुस्दीमाथि न्यूयोर्कमा हमला भएको छ । म साँच्चै स्तब्ध छु । यस्तो हुन्छ होला भनेर सोचेको पनि थिइनँ ।

पश्चिममा बस्दै आउनुभएका उहाँलाई सन् १९८९ देखि सुरक्षा दिइएको थियो । यदि उहाँमाथि आक्रमण हुन्छ भने इस्लामको आलोचना गर्ने जो कोहीलाई पनि आक्रमण हुन सक्छ । म चिन्तित छु ।’ तसलिमा नसरीन पनि सन् १९९४ मा आफ्नो किताबका कारण बंगलादेशबाट भागेर भारतमा शरण लिनुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?