प्रांगारिक कृषि अभियन्ता पौडेल पनि चुनाव लड्ने

Read Time = 5 mins

चितवन । खानाका लागि खेतीपाती अभियन्ता डा. कृष्णप्रसाद पौडेलले आगामी मंसिर ४ मा हुने संघीय निर्वाचनका लागि उम्मेद्वारी घोषणा गर्नुभएको छ । चितवनका ३ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. २ बाट चुनावमा उठ्ने उहाँले आइतबार चितवनमा पत्रकार सम्मेलन गरी जानकारी गराउनुभएको छ ।

पौडेलले कृत्रिम रसायन र घातक विषको अन्धाधुन्ध प्रयोगले माटो र मानव स्वास्थ्य सबैभन्दा बढी संकटमा परेको र हालको कृषि प्रवृत्ति नफेर्दासम्म हाम्रै कारणले हाम्रो प्रकृति थप विनाश हुने र मानव जीवन नै धराशायी हुने भन्दै दिगो कृषि अभियानलाई सार्थक बनाउन आफूले उम्मेद्वारी घोषणा गर्नुपरेको जिकिर गर्नुभयो ।

पौडेलले आधारभूत वस्तुमा परनिर्भर हाम्रो समृद्धि दिगो नहुने भन्दै खाना र खेतीपातीको सवाल सम्बोधनबिना समाजवादको परिकल्पना अर्थहीन हुने पनि बताउनुभयो । वर्तमान अवस्थालाई फेर्न राजनीतिक पुनर्जागरण र प्रकृतिको पुनरुत्थान सँगसँगै गर्नु अनिवार्य हुने उहाँको भनाइ छ । आफ्ना मुख्य नीतिगत लगावका रूपमा माटो विषमुक्त राख्ने र मानव स्वास्थ्य जोगाउने, खाना र खेतीपाती सपार्ने, स्थानीयतामा आधारित प्रकृतिसम्मत विकासमा जोड दिने, प्रशासनिक नेतृत्वको पुनर्गठनको आवश्यकताको बहस र पहल गर्ने र राजनीतिक नेतृत्वमा युवा हस्तक्षेपका लागि सहजीकरण गर्ने रहेको उहाँले बताउनुभयो ।

दल र उमेरमाथि उठेको प्रश्नमा जवाफ दिँदै पौडेलले मुद्दाका अगाडि आफू सांसद बन्ने कुरा गौण भएकाले दलविशेषभन्दा पनि मुद्दाविशेष आफ्नो उम्मेद्वारी भएको पनि उहाँले बताउनुभयो । आफू लामो समय आबद्ध रहेको राजनीतिक पार्टीमा आफ्नो दाबी रहेको र राजनीतिक नेतृत्वले विवेकसम्मत निर्णय गर्ने अपेक्षा रहेको उहाँले बताउनुभएको छ ।

यदि कोही खाना र खेतीपाती, कर्मचारीतन्त्रको पुनर्संरचना, विकासको स्थानीयकरण र राजनीतिमा युवा हस्ताक्षेपको सहजीकरण गर्ने प्रस्ताव लिएर कोही चुनाव लड्न गर्न तयार भए आफू सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो । क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दाबी गर्नुभएका भरतपुरका स्थानीय बासिन्दा पौडेल पेशाले कृषिविज्ञ हुनुहुन्छ । पौडेलको प्राज्ञिक जीवन कृषि, पर्यावरण र खानपिनसँग सम्बन्धित छ । रामपुरबाट कृषिमा बिएस्सी र बेलायतबाट वन विज्ञानमा स्नातकोत्तर पौडेलले प्राकृतिक स्रोत र मानिसको सम्बन्ध अध्ययन गरेर विद्यावारिधि हासिल गर्नुभएको हो ।

२०३६ देखि २०३९ सम्म तीन वर्ष नेकपा (माले) सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु र युवा दलमा सक्रिय उहाँ २०३७ सालमा अनेरास्ववियु पश्चिमाञ्चल कमिटी सदस्य हुनुभएको थियो भने २०३७ सालमा पक्लिहवा कृषि क्याम्पसको स्ववियु उपसभापतिमा निर्वाचित हुनुभएको थियो । पञ्चायती शासनविरुद्ध आन्दोलन गर्दागर्र्दै २०३९ सालमा उहाँ भैरहवामा जेल पर्नुुभयो । २०३९ सालदेखि ०४१ सम्म दुई वर्ष देशकै विकट डडेल्धुरामा गएर कृषि प्राविधिक सहायकको काम पनि गर्नुभयो । २०४६ सालमा पौडेल अनेरास्ववियुको केन्द्रीय परिषद् सदस्यमा निर्वाचित हुँदै २०४७ सालमा पार्टी सदस्यता प्राप्तिपछि २०५६ सालसम्म संगठित सदस्यको हैसियतले गृहजिल्ला चितवनमै रहेर काम गर्नुभयो । उहाँले नेकपा (एमाले) को प्राकृतिक स्रोत केन्द्रीय विभाग सदस्य र नेकपा विभाजन हुनुअघिसम्म केन्द्रीय कृषि विभागको सदस्यका रूपमा काम गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?