पार्टीभित्रैका नेताहरू मिलाउनै सकस : प्रचण्ड

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सबैभन्दा ठूलो चुनौती नेताहरूलाई मिलाउनमा भएको बताउनुभएको छ । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौं वार्षिक साधारणसभा कार्यक्रममा शनिबार सम्बोधन गर्दै प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘नेताहरू एकढिक्का भएर जाने हो भने जनता जुरुक्कै उठ्ने स्थिति अहिले पनि देख्छु ।’ प्रचण्डले पार्टीभित्रको अन्तरविरोधका कारण स्थानीय तह निर्वाचनमा आफूहरूले ५० भन्दा बढी स्थान गुमाउनुपरेको जिकिर गर्नुभयो । आफूलाई सबैभन्दा ठूलो चुनौती नेताहरू मिलाउनमा भएको भन्दै उहाँले भन्नुभयो, ‘नेताहरू मात्र मिलाउन सक्ने हो र एकढिक्का भएर यो पार्टीलाई नेतृत्वमा स्थापित गर्ने भन्ने हो भने जनतामा दुःख छैन ।’

तराई मधेशमा हजारौँ पार्टी प्रवेश गरिरहँदा आफ्नै पार्टीका नेताहरू तँछाडमछाड गरेर बसेको उहाँको आरोप थियो । उहाँले संघ र प्रदेशको निर्वाचन आइरहेका बेला पार्टीलाई एकताबद्ध ढंगले अघि बढाए देशको नेतृत्व माओवादीले गर्ने अवसर प्राप्त हुने बताउनुभयो ।

जनतामा माओवादीप्रति आशा र भरोसा नटुटेको तर केही नेताहरूमा पार्टी नेतृत्वप्रतिको विश्वास धर्मराएको अध्यक्ष प्रचण्डको भनाइ थियो । प्रचण्डले संविधान रक्षाका लागि बनेको सत्ता गठबन्धनलाई अघि बढाएर मुलुकको परिवर्तनलाई थप विकसित गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।

अध्यक्षमा पुन
पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको अध्यक्षमा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इञ्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन चयन हुनुभएको छ । प्रतिष्ठानको शनिबार सम्पन्न सातौँ वार्षिक साधारणसभाले उहाँलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । यसअघि प्रतिष्ठानको अध्यक्षमा गोरखाका हितराज पाण्डे हुनुहुन्थ्यो ।

प्रतिष्ठानको उपाध्यक्षमा नुवाकोट क्षेत्र नम्बर-१ का प्रतिनिसिधसभा सदस्य एवं माओवादी पोलिटब्युरो सदस्य हितबहादुर तामाङ र श्रीकृष्ण अधिकारी तथा महासचिवमा निर्मल आचार्य चयन हुनुभएको छ ।

नुवाकोटका स्थायी बासिन्दा बोगटी तत्कालीन एकीकृत (नेकपा माओवादी)का उपाध्यक्ष हुुनुहुन्थ्यो । उहाँको ६१ वर्षको उमेरमा २०७१ भदौ ३० गते हृदयाघातका कारण निधन भएको थियो । पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर-३ बाट निर्वाचित बोगटी ऊर्जा, शिक्षा र संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री हुनुभएको थियो । बोगटीको नाममा स्थापना भएको प्रतिष्ठानले शिक्षा, स्वास्थ्य लगायतका सामाजिक सेवाका कार्यहरू गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?