कांग्रेस कार्यसम्पादन समिति बैठक : उम्मेदवारी मनोनयनको अधिकार सभापति देउवालाई, पार्टीभित्र अस्तित्वको लडाइँ सुरु भएको इतर समूहको उद्घोष

अनिल क्षेत्री
Read Time = 13 mins

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि उम्मेदवारी मनोनयनको अधिकार पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी विधानबमोजिम उम्मेदवारी मनोनयनको अधिकार सभापति देउवालाई दिएको हो ।

बैठकले विधानको व्यवस्थाबमोजिम प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीबाट प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणाली तर्फको उम्मेदवारी दर्ता गर्न सभापति देउवाले उम्मेदवारी मनोनयनको औपचारिक पत्र दिने निर्णय गरेको छ । आवश्यक प्रक्रिया पुर्‍याएर पार्टीका सम्बन्धित निकायबाट नाम प्रस्ताव गर्न निर्देशन गर्ने र औपचारिक पत्र पठाउने जिम्मा सभापति देउवालाई दिने बैठकले निर्णय गरेको छ ।

कार्यसम्पादन समिति बैठकको निर्णय बुँदा नं.२ मा भनिएको छ, ‘२०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्नका लागि पार्टी सभापति श्री शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने ।’

उम्मेदवार सिफारिस गर्न परिपत्र गर्ने
नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि उम्मेदवार सिफारिस गर्न आफ्ना मातहतका समितिलाई परिपत्र गर्ने निर्णय गरेको छ । शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो । कांग्रेस पार्टी विधानअनुसार मातहतका पार्टी समितिले कम्तीमा तीनको जनाको नाम सिफारिस गर्नुपर्ने र जसमा एकजना महिला अनिवार्य हुने व्यवस्था गरेको छ । बैठकले आगामी निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवारका आकांक्षीको नाम सिफारिस गर्न तल्ला तहका कार्यसमितिलाई परिपत्र गर्ने निर्णय भएको जानकारी दिँदै सहमहामन्त्री भीष्मराज आङ्दम्बेले भन्नुभयो, ‘हाम्रो विधानले तल्ला तहबाट उम्मेदवार सिफारिस गर्ने र संसदीय समितिले टुंगो लगाउने व्यवस्था गरेको छ । त्यहीअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ क-कसको आकांक्षा छ भन्ने कुरा तल्ला तहबाट सिफारिस गर्न बैठकले परिपत्र गर्ने निर्णय गरेको छ । अब कार्यालयले त्यहीअनुसार तल्ला तहलाई परिपत्र गर्नेछ ।’ मिश्रित निर्वाचन प्रणालीअनुसार नेपालमा ६० प्रतिशत प्रत्यक्षतर्फ निर्वाचित हुने र समानुपातिकतर्फ ४० प्रतिशत निर्वाचित हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार राजनीतिक दलहरूले उम्मेदवारी दिनेछन् ।

चुनाव लक्षित अभियान भदौ १० गतेदेखि
पाँच दलीय गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित जनलहर सिर्जना गर्नेगरी १५ दिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । शनिबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी भदौ १० गतेदेखि २४ गतेसम्म देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिँदै सहमहामन्त्री महेन्द्र यादवले भन्नुभयो, ‘यसअघि स्थानीय तहको सम्मुखमा कांग्रेसले घर-घर जाऔँ, कांग्रेस जिताऔँ अभियान सञ्चालन गरेको थियो । त्यस्तै, प्रकृतिको अभियान फेरि सञ्चालन गर्ने निर्णय भएको छ । यसअघि भदौ २ देखि २४ गतेसम्म सञ्चालन गर्ने भन्ने केन्द्रीय समिति बैठकको तयारी थियो । तर, प्राविधिक कारणवश त्यसलाई स्थगित गरेर १० देखि २४ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय भएको छ ।’ बैठकले अभियानका लागि केन्द्रीय समितिबाट प्रतिनिधि तोक्ने पनि निर्णय गरेको छ ।

दल दर्ता गर्ने जिम्मा मुख्यसचिव पौडेललाई
नेपाली कांग्रेसको शनिबार बसेको कार्यसम्पादन समिति बैठकले आगामी निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ऐनबमोजिम दर्ता गर्ने निर्णय गरेको छ । बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्ने जिम्मेवारी पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिएको छ । शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले चुनावका लागि कांग्रेसको दल दर्ता गर्ने जिम्मेवारी मुख्यसचिव पौडेललाई दिने निर्णय गरेको जानकारी दिँदै सहमहामन्त्री भीष्मराज आङ्दम्बेले भन्नुभयो, ‘२०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सोसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गरिनेछ । कानुनमै पार्टीको केन्द्रीय कार्यकारी समितिको निर्णय संलग्न हुनुपर्ने व्यवस्था छ । त्यहीकारण यो बैठकबाटै दल दर्ता गर्ने निर्णय गरिएको हो ।’ बैठकले साउन ३० र ३१ गते काठमाडौंमा गर्ने तयारी भएको स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेलाको तयारीका विषयमा समेत छलफल भएको छ ।

पार्टीभित्र टिकट वितरणमा मनपरी नगर्न चेतावनी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पार्टीभित्र संस्थापनइतर समूहका नेता अर्जुननरसिंह केसीले गठबन्धनका नाममा पार्टीभित्र अन्याय हुने गरी टिकट वितरण नगर्न पार्टी नेतृत्वलाई चेतावनी दिनुभएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै नेता केसीले भन्नुभयो, ‘गठबन्धनको नाममा टिकट वितरण गर्दा मापदण्ड मिच्ने काम नहोस् । एकातिर मापदण्ड र अर्कोतिर मन पर्नेलाई टिकट दिने काम नहोस् । यसले परिणाम गम्भीर बनाउन सक्छ । गठबन्धनको लक्ष्य पनि पूरा हुँदैन । मनपरी गर्दा गठबन्धन जुन लक्ष्यका लागि बनेको हो त्यो लक्ष्य पूरा हुँदैन ।’

अहिले पार्टीभित्र पनि विविधता रहेको भन्दै संस्थापन पक्षले सबै पक्ष समेटिने गरी न्यायोचित रूपमा टिकट वितरण गर्नुपर्ने केसीको भनाइ छ । सत्ता गठबन्धन दलबीच आगामी चुनावमा तालमेल गरेर जाने निर्णय भएर सिट बाँडफाँटको गृहकार्य भइरहेका बेला नेता केसीले आगामी निर्वाचनमा ६० प्रतिशत सिट पनि कांग्रेसका लागि कमै हुने जिकिर गर्दै भन्नुभयो, ‘कांग्रेस आज मुुलुकको सबैभन्दा ठूलो पार्टी हो । हामी परिबन्धले अहिले गठबन्धन गर्नुपर्ने अवस्थामा पुगेका छौँ । यसमा कांग्रेसले ६० प्रतिशत सिट पाउनुपर्ने कुरा सामान्य हो । हामीसँग धेरै जना नेताहरू हुनुहुन्छ । संगठन छ । त्यसैले ६० प्रतिशत सिट पनि कमी नै हुन्छ । तर फेरि पनि सहमतिमा दुई÷चार सिट तलमाथि हुन सक्छ ।’

संस्थापनइतर समूहले माग्यो ४० प्रतिशत हिस्सा
नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीभित्र अस्तित्वको लडाइँ सुरु भएको उद्घोष गरेको छ । शनिबार काठमाडौंमा आफू निकटको भेला गरी केन्द्रीय सदस्य डा.शेखर कोइराला समूहले पार्टीभित्र अस्तित्वको लडाइँ सुरु भएको उद्घोष गर्दै पार्टी सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अगाडि बढेको आरोप लगाउँदै अन्तरसंघर्षको चेतावनीसमेत दिएको हो । सभापति देउवाबाट न्यायोचित व्यवहारसहित ४० प्रतिशतका लागि संघर्ष जारी राख्ने जानकारी दिँदै उक्त समूहका एकजना नेता जगदीश्वरनरसिंह केसीले भन्नुभयो, ‘हामीले पार्टीभित्र न्यायोचित रूपमा भूमिका दिने कुरा उठाउँदै आएका हौँ । आठ महिना भयो अहिलेसम्म कुनै पनि निर्णय प्रक्रियामा प्रतिस्पर्धी समूहको एकजनालाई पनि समेट्नुभएको छैन । राष्ट्रियसभा निर्वाचनदेखि आजसम्म कतै पनि समेट्नुभएको छैन । भ्रातृ संस्थाको नेतृत्व चयन र गठन गर्दा पनि समेट्नुभएन । अब न्यायोचित निर्णय गर्नुहुन्न भने ४० प्रतिशत चाहियो । ४० प्लस चाहियो । सभापतिको अभिभावकीय ठाउँबाट सोचेर अगाडि बढाउनुभएको भए यो विवाद आउने थिएन नि । अब अस्तित्वको लडाइँ लड्नुपर्ने भयो ।’

काठमाडौंको बत्तिसपुतलीमा नेपाली कांग्रेस नुवाकोटका पूर्व-सभापति जगदीश्वरनरसिंह केसीको संयोजनमा भएको भेलामा इतर समूहका दोस्रो तहका नेता सहभागी थिए । भेलामा केन्द्रीय सदस्य प्रतिमा गौतम, मधु आचार्य र नेताहरू गुरुराज घिमिरे, मनोजमणि आचार्य, केशव सिंह, रञ्जित कर्ण, सुवास पोखरेल, गोमा केसीलगायत ८० जनाको उपस्थिति रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?