Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

मध्यमवर्ग सर्वहारा होइनन्

हिमालय टाइम्स
Read Time = 17 mins
A A- A+

✍️ स्वयम्भुनाथ कार्की
कम्युनिष्ट पार्टीको घोषणपत्रमा परिभाषा गरिएअनुसार सर्वहारा भनेको त्यो मजदुर हो जोसँग उत्पादनको कुनै साधन हुँदैन । जीवित रहन आफ्नो श्रमशक्ति बेच्न विवश हुन्छ । शायद यसैलाई आधार मानेर होला डा.नरेन्द्र चापागाईं आफ्नो नेपाली शब्दभण्डार नामक शब्दकोशमा सर्वहाराको अर्थ लेख्नु हुन्छ ‘सबै कुरा नष्ट भएको, श्रीसम्पत्ति, जग्गाजमिन तथा अधिकार केही पनि नभएको’ । यी परिभाषाको कसीमा हेर्दा वर्तमानमा आफूलाई सर्वहारा ठान्ने अपवादबाहेक सबै मध्यमवर्गमा पर्दछन् । अझ मध्यमवर्ग भन्न असजिलो लागेमा निम्न मध्यमवर्ग भने पनि हुन्छ तर सर्वहारा किमार्थ भन्न सकिँदैन । निम्न मध्यमवर्ग सर्वहारावर्गको मित्रको रूपमा मनिएको छैन, उनीहरूलाई रूढीवादी तथा प्रतिगामी भनिएको छ । (कम्युनिष्ट पार्टीका घोषणापत्र, दुसरा संशोधित संस्करण १९८६ पृ. ४२-४३) ।

बुर्जुवाको उत्पादन साधनमा काम गरेर ज्याला लिने सर्वहारा हो । कुनै साधन भाडामा वा ठेक्कामा लिएर श्रम गर्ने श्रमिक पनि सर्वहारा होइन (उही पृ.७६) । यसले किस्तामा रिक्सा लिएर पसिना बगाई किस्ता तिरेर बा“की रहेको खर्च गर्ने रिक्सावाला सर्वहाराको कोटीमा पर्दैन । अर्काको जमिन कमाएर ठेक्का वा अधियाँ बुझाउनेहरू त निर्विवाद मध्यमवर्ग नै हुन् । एकदुई औजार वा मेसिन आफ्नो स्वामित्वमा राखेर त्यसमा श्रम गर्ने, ऋणपान गरेर अलिकति साधन जुटाई आफ्नो साधनमा श्रम गर्ने सर्वहारा वर्गमा पर्दैनन् । त्यस्तै भूमिहीनको श्रेणीबाट केही भूमिप्राप्त गर्ने वा उत्पादन साधनमा आफ्नो स्वमित्व हासिल गर्ने बित्तिकै सर्वहारा रहँदैनन् । व्यक्तिगत सम्पत्तिको आर्जन वा उत्तराधिकार हुने बित्तिकै त्यो व्यक्ति सर्वहारा हुँदैन ।

सर्वहारावर्गको पार्टीको रूपमा स्थापित कम्युनिष्ट पार्टीको सिद्धान्तलाई एक वाक्यमा भन्न सकिन्छ : निजी स्वमित्वको उन्मूलन । यस वाक्यले भावनात्मक विशेषता पनि देखाउँछ । सर्वहारासँग निजी सम्पत्ति नहुने मात्र होइन निजी सम्पत्तिको मोह पनि हुनु हुँदैन ।

योे कुरा माक्र्स एंगेल्सको कम्युनिष्ट पार्टीको घोषणपत्रमा गरेको सर्वहाराको परिभाषाले नै निश्चित गरेको छ । सम्पत्ति तथा उत्पादन प्रणालीको व्याख्या गरेर आर्थिक र उत्पादन प्रणालीमा व्यक्तिको स्थानको आधारमा वर्गहरूको आधिकारिक परिभाषा माक्र्स र एंगेल्सबाहेक अरूको शायदै होला । सर्वहारावर्गको पार्टी भनेर स्थापित कम्युनिष्ट पार्टीको घोषणापत्रको भूमिकामा २४ जुन, १८७२ मा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्स लेख्छन् ‘घोषणापत्र त एक ऐतिहासिक दस्तावेज बन्यो, जसलाई बदल्ने अब हामीलाई कुनै अधिकार रहेन ।’
यस परिपे्रक्षमा सर्वहारावर्गको जुन परिभाषा यस ग्रन्थमा गरिएको छ त्यो अपरिवर्तनीय तथा आधिकारिक हो जसलाई परिवर्तन गर्ने अधिकार कसैलाई छैन । वर्ग विश्लेषणमा मध्यमवर्गमा परेर पनि आपूmलाई सर्वहारा भनेर भ्रममा पर्ने जमातबाट मध्यमवर्गको अहित हुने त छँदैछ सर्वहारावर्गलाई पनि त्यस जमातबाट हानी नै पुग्दछ ।

सर्वहारावर्गको पार्टीको रूपमा स्थापित कम्युनिष्ट पार्टीको सिद्धान्तलाई एक वाक्यमा भन्न सकिन्छ : निजी स्वमित्वको उन्मूलन । (उही पृ.४७) । यस वाक्यले अझ भावनात्मक विशेषता पनि देखाउँछ त्यो के हो भने सर्वहारासँग निजी सम्पत्ति नहुने मात्र होइन निजी सम्पत्तिको मोह पनि हुनु हुँदैन । पुँजीपति र सर्वहारा दुवै वर्ग एक अर्काका विपरीत तर परिपूरक हुन्, चुम्बकमा उत्तरी र दक्षिणी ध्रुव झैँ, विद्युत्मा ऋणत्मक र धनात्मक तार भए जस्तै । यदि माक्र्सले परिकल्पना गरेको साम्यवाद भएको खण्डमा सर्वहारा आफ्नो निजी नभएर अरू कसैको उत्पादन साधनमा काम गरिरहेको हुनेछ । सामूहिक स्वामित्वको अस्तित्व स्वीकार गर्दा कुनै विशाल कारखानाको शेयरधनी त्यसै कारखानाको मजदुर भएसरह त्यस साधनमा उसको स्वामित्व रहनेछ ।

यसरी पुँजिपतिको आफ्नो सम्पत्ति दिन दुगुणा रात चौगुणा बढाउने र त्यस सम्पत्तिले सम्पूर्ण सुख भोग गर्ने चाहनामा गरिने उद्यममा आफ्नो जीविका चलाउन मानसिक तथा शारीरिक श्रम गर्ने वर्गको ठूलो हिस्सा मध्यमवर्गको हुन्छ, तर पारम्परिक सोचको वसीभूत भएर सो श्रम गर्ने वर्ग सर्वहारा हो भन्ने भ्रम व्याप्त छ । कुनै समयमा यो कुरा शायद सा“चो थियो होला तर अहिले आफू सर्वहारा भएको भ्रम पाल्ने जमातले आफ्नो सही वर्ग चिनेको खण्डमा सर्वहारावर्गको सही संख्या निश्चित रूपमा थोरै हुन आउँदछ । किनभने वर्तमानमा धेरै सर्वहाराको वर्ग उन्नति भएर मध्यम वर्गमा आएका छन् । कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सको परिभाषाको सर्वहारा गणना गर्ने हो भने त्यस मुलुकको कूल जनसंख्याको साह्रै थोरै प्रतिशत हुने कुरा अतिशयोक्ति नहोला ।

वर्तमानमा केवल ज्यालाले मात्र जीवनयापन गर्ने र आफ्नो सञ्चित धन शून्य भएकाहरू आफ्नो आसपास खोज्ने हो भने शिला खोजेझैँ खोज्नुपर्छ । संख्या देखाउन उत्पादनको साधन ठेक्कामा लिएर काम गर्नेहरूको जमात देखाउन सकिएला तर माक्र्स र एंगेल्सको परिभाषाअनुसार तिनीहरू सर्वहारा होइनन् । उनीहरूको परिभाषाअनुसार बुर्जुवाको उत्पादन साधनमा काम गरेर ज्याला लिने सर्वहारा हो । कुनै साधन भाडामा वा ठेक्कामा लिएर श्रम गर्ने श्रमिक सर्वहारा होइन । (कम्युनिष्ट पार्टीका घोषणापत्र, दुसरा संशोधित संस्करण १९८६ पृ.७६) ।

कुनै कालखण्डमा भएका सर्वहारामध्ये अधिकांशको मध्यमवर्गमा वर्गोन्नति भइसकेको छ । यसलाई यदि मध्यमवर्ग मान्न तयार नहुने हो भने निम्न मध्यमवर्ग भन्न सकिन्छ, सर्वहारा त कुनै अवस्थामा भनिँदैन । यसले सावित गर्न खोजेको कुरा के हो भने सर्वहारावर्ग समाप्तितर्पm उन्मुख छ तर यसको समाप्ति अन्यायपूर्ण तरिकाबाट नभई वर्गोन्नतिको सम्मानजनक तरिकाबाट हुँदैछ । यसै अर्थले अबको न्यायपूर्ण व्यवस्था भनेको यो परिवर्तनलाई गति दिने हो । मध्यमवर्गलाई सर्वहारामा तानेर सर्वहाराको हित गर्ने सोच आधुनिक जमानामा कत्तिको सान्दर्भिक होला भन्ने कुरामा खुला छलफल गर्ने बेला भइसकेको छ ।

आफ्नो थातबासमा बसेर स्वतन्त्रतापूर्वक सरल जीवनयापन गर्न पाउने व्यवस्था नै मध्यमवर्गको व्यवस्था हुनसक्छ । यसका निमित्त अर्कालाई नपिरीकन आफ्नो कमाइ गरेर खान पाउने अवस्था नै मध्यमवर्गको आकांक्षा हो । क्षमता र योग्यताको आधारमा समाजमा आफ्नो स्थान बनाउन नपाउने अवस्था मानव सभ्यताको विनासतर्फको पाइलो हो । आफ्नो सञ्चित सम्पत्ति खर्च गरेर, समाज तथा मुलुकको साधन स्रोत उपभोग गरेर हासिल गरेको क्षमता आफ्नो थातबासको विकासमा उपयोग गर्न नपाउनु तथा त्यसको लाभ वैदेशिक रोजगारीको नाममा विदेशले पाउनु भण्डार खनेर आँगन पुर्ने कुरा हो । आफ्नो थातबासमा बस्ने तथा बन्धुबान्धवसँग रम्ने इच्छाको आलंकारिक रूप नै राष्ट्रवाद हो र यो नै मध्यमवर्गको आफ्नो आधारभूत सोच भूमि हो ।

पुँजिवादसँग जोडिएको अन्तर्राष्ट्रियवाद वा विश्व भूमण्डलीकरण तथा साम्यवादको सोच राष्ट्रिय सोचभन्दा व्यक्तिवादी सोच हो (श्रमजीवीहरूको कुनै देश छैन । (कम्युनिष्ट पार्टीका घोषणापत्र, दुसरा संशोधित संस्करण १९८६ पृ.५३) । अन्तर्राष्ट्रिय प्रभावलाई उच्च स्थानमा राख्ने समाजवादमा सबैले आफ्नो ठाउँ र आफन्तको स्थानलाई भन्दा व्यक्तिवादी वा समूहवादी हितलाई प्राथमिकतामा राख्ने गर्दछन् । यस कारणले यी सबै वादले मध्यमवर्गको हित गर्न नसक्ने कुरा प्रष्ट छ ।

आफ्नो थातबासमा बस्ने तथा बन्धुबान्धवसँग रम्ने इच्छाको परिपूर्ति निमित्त स्वावलम्बी समाज चाहिन्छ । वर्ग संघर्षमुक्त वर्ग वर्गबीचमा समन्वय भएको समाज चाहिन्छ । स्वरोजगार र त्यसबाट पैदा हुने आत्मनिर्भरता मध्यमवर्गमा आधारित उत्पादन प्रणालीमा मात्र सम्भव छ । सामान्यतया जीवनयापनका निमित्त आवश्यक पर्ने साजसमानहरूको प्रमुख उत्पादक र उपभोक्ता मध्यमवर्ग आफैँ हुँदा यो वर्ग आत्मनिर्भर हुन्छ । ठूला-ठूला दर्शनशास्त्रका ठेली खार्ने, अर्थशास्त्रका प्रकाण्ड पण्डितहरू वा अन्य बुद्धिजीवीहरूलाई यो कुरा अपच हुन सक्छ । तर, तीन-चार दशकमात्र पहिलेको मुलुकको गाउँले समाजमा चलेको चलन हेर्ने हो भने यो कुरा स्वतः सावित हुन्छ । त्यस बखतको समाज धेरै कम वस्तुको निमित्तमात्र समाजबाहिर अरूमा निर्भर थियो ।

अरूमा निर्भर हुनुपर्ने वस्तुमा नभई नहुने किसिमका वस्तु त नगन्य नै थिए । खेतीमा आधरित त्यतिबेलाको उत्पादनमा नगदको आदानप्रदान न्यून थियो । वस्तु विनिमयको आधारमा मूल्य चुकाइने परम्परामा मुद्रामा हुने अवमूल्यन वा वस्तुको मोलको तलमाथिले केही फरक पार्दैनथ्यो । बाली उठाउने बेलामा दिने भनेर उत्पादनको निश्चित हिस्सा ज्याला दिने चलनको अवशेष त अहिले पनि छँदैछ । मध्यमवर्गमा आधारित उत्पादन प्रणाली बिक्री विनिमयको मात्रा र उत्पादको क्षमता जस्ता कारणले गर्दा पहिले स्थानीय आवश्यकतामै खपत हुने गर्दथ्यो ।

शान्तिपूर्ण सहअस्तित्व, समान व्यवहार अनि भेदभावरहित समाजको कल्पना मध्यम वर्गको अभिष्ट हो । यो लक्षमा पुग्न आज विश्वमा प्रचलित कुनै वाद सक्षम छैनन् भन्ने कुरा विस्तारै-विस्तारै प्रमाणित हुँदैछ ।

त्यसपछि बचेको मात्र त्यो स्थानबाट बाहिर निकासी हुने कारणले गर्दा बाली उठाउने बेलामा सबै बाहिर निकासी गरेर अरू बेला आफ्नो त्यो उत्पादन फेरि महँगोमा खरिद गर्नुपर्ने अवस्था सामन्यतया थिएन । यसरी उत्पादक समुदायको खाद्य संप्रभुता कायम थियो । वादको विद्वानको रूपमा आफूलाई चिनाउन गौरव गर्ने विद्वत वर्गले फेरि एकपटक आत्मामन्थन गरेर बहुजन हितायको मन्त्रलाई आत्मसात गरेर चिन्तन गर्नुपर्ने आजको माग हो । कुनै वादले विद्वान पैदा गर्ने होइन विद्वानले वाद पैदा गर्ने हो । यदि यो कुरा असत्य भएको भए कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले साम्यवादको सिद्धान्त प्रतिपादन गर्न सक्ने थिएनन् । पूर्वीय पद्धतिमा ऋषिहरूले समाज र राज्य व्यवस्थाको निमित्त अनेकौं सिद्धान्तको प्रतिपादन गरेर आफ्नो दायित्व पूरा गरेको उदाहरण पर्याप्त छन् ।

विद्वानहरूलाई समाजले आफ्नो शिरको रूपमा मानेको छ भने विद्वानहरूले कुनै वादको अधिन भएर काम गर्नु समाजप्रतिको अपराध हो कि होइन स्वमूल्यांकन गर्न आवश्यक भएको छ । आपूmले समाजलाई देखाएको बाटोले यदि समाजको अहित गर्दछ भने त्यसको नैतिक दायित्व विद्वत वर्गमा पनि पर्नुपर्छ । स्वच्छ प्रतिस्पर्धा गरेर स्वतन्त्र उद्यमबाट आफ्नो थातबासको उन्नति गर्ने र बन्धुबान्धवसँग जन्मदेखि मृत्युपर्यन्तसँगै बस्न पाउने व्यवस्था अन्य वाद जस्तो अरूलाई निषेध गर्ने व्यवस्था होइन । शान्तिपूर्ण सहअस्तित्व, समान व्यवहार अनि भेदभावरहित समाजको कल्पना मध्यम वर्गको अभिष्ट हो । यो लक्षमा पुग्न आज विश्वमा प्रचलित कुनै वाद सक्षम छैनन् भन्ने कुरा विस्तारै- विस्तारै प्रमाणित हुँदैछ ।

पुँजीपतिहरूको एकाधिकार, साम्यवादको राप तथा समाजवादको वृद्धि रोकेर सधैँ यथास्थितिमा राख्ने प्रणालीले मध्यमवर्गको मात्र अहित गर्ने होइन स्वयं मानव सम्यताको विनाश गर्ने कुरा हास्याष्पद लागे पनि कटुसत्य हो । यो हुरीमा मध्यम वर्गले आफ्नो अस्तित्वलाई अभिशाप ठान्न थालेको छ । यसैले ऊ भित्री मनले पुँजीपति हुने चाहना राखेर सकेसम्म सर्वहारा कहलिन चाहन्छ । यसको यो चाहना नै अहिलेको निमित्त खतरनाक छ । स्वरोजगार र आत्मनिर्भरताको निमित्त मध्यम वर्गीय उत्पादन प्रणाली नै एकमात्र विकल्प हो जसले संघर्ष होइन माया पैदा गर्छ । विश्वका कुनै मुलुकको तेजी मन्दी यसका सामुन्ने बेअसर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?