राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगरेको भन्दै आपत्ति

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाण्डौं । जनता समाजवादी पार्टी नेपालकि सांसद लिलादेवी सिटौलाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद सिटौलाले विगतमा केपी ओली नेतृत्वको सरकारले नागरिकता सम्बन्धी अध्यादेश ल्याउँदा राष्ट्रपतिले प्रमाणिकरण गरेको तर अहिले संसदबाट पारित भएको विधेयकलाई प्रमाणिकरण नगरेको भन्दै आपत्ति जनाउनुभएको हो ।

उहाँले राष्ट्रपति राष्ट्रको हुन्छ कि कुनै पार्टी विशेषको हुन्छ ? भन्ने प्रश्न समेत गर्नुभयो । उहाँले नागरिकता विधेयक प्रमाणिकरण गर्न राष्ट्रपतिको ध्यानाकर्षण गराउनु भयो ।

सांसद सिटौलाले भन्नुभयो - ‘केपी शर्मा ओलीज्यूले लगभग दुई तिहाई नजिकको सरकार तीनवर्ष चलाउनु भयो । २२ महिनासम्म नागरिकता विधेयक समितिमा छलफल भयो तर विधेयकका रुपमा उहाँले संसदमा ल्याउनुभएन । जब प्रधानमन्त्रीको कुर्सी हल्लियो तब उहाँले त्यही अहिले सरकारले विधेयकको रुपमा ल्याएर पास गरेको नागरिकता विधेयकलाई अध्यादेशको रुपमा ल्याउनु भयो । र राष्ट्रपतीज्यूले त्यो अध्यादेशलाई लालमोहर लगाउनु भयो । तर आज त्यही अध्यादेशको रुपमा केपी शर्मा ओलीज्यूले ल्याउनुभएको विधेयक संसदमा आयो र पास भएर गयो तर उहाँले लालमोहर लगाउनु भएको छैन । यो विडम्बना । राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर राष्ट्रपति राष्ट्रको हुन्छ कि कुनै पार्टीको हुन्छ कि कुनै व्यक्ति विशेषको हुन्छ कि ? म सम्बन्धित पद र त्यस पदमा रहनु हुने सम्माननीय व्यक्तिको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उहाँले देशका अगुवा नेताहरुको जुँगाको लडाइँका कारण देश अस्थिर भइरहेको बताउनु भयो । उहाँले देशको परराष्ट्र नीति पार्टीपिच्छे फरक रहेको भन्दै देशको परराष्ट्र नीति एउटै हुनुपर्ने बताउनु भयो । परराष्ट्र नीति एउटै भएमात्रै देश स्थिर रुपले अगाडी बढ्न सक्ने उहाँको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?