निहारिका राजपुत र नाबालकलाई तत्काल न्याय दिलाउन सरकारसँग सांसदको माग

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाण्डौं । नेकपा एमालेकी सांसद निरुदेवी पालले निहारिका राजपुत र नाबालक दुवैलाई सरकारले तत्काल न्याय दिलाउन माग गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद पालले सरकारसँग यस्तो माग गर्नुभएको हो । उहाँले सरकारले दोषी प्रमाण प्रशस्त हुँदा समेत निहारिकालाई न्याय दिन नसकेको आरोप लगाउनु भयो ।

सांसद पालले बलात्कार हिंसामा परेका महिलालाई सरकारले तत्काल न्याय दिनुपर्ने बेलामा सरकार हराएर खोज्नुपर्ने अवस्था आएको बताउनु भयो । उहाँले निहारिका नारीको अस्मितालाई खेलौनाको रुपमा हेरी रहेको यो समाजलाई चुनौती दिने हिम्मत गर्दै अगाडि बढेको तर राज्यले न्याय दिन नसकेको दाबी गर्नुभयो ।

सांसद पालले निहारिका राजपुत आफू माथि भएको बलात्कार र बलात्कार स्वरुपमा जन्मिएको सन्तान दुवैको न्यायका लागि पटक-पटक अनसन बस्दा समेत सरकारले डिएनए परीक्षण नगर्नु पीडितलाई अझै पीडा दिनु भएको बताउनु भयो । उहाँले निहारिका र निर्मला पन्त जस्ता छोरीहरुले न्याय कहिले पाउने सरकार भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सरकार कता हराएको खोजी गरी पाउँ । पीडित महिलाहरुलाई तत्काल न्याय दिलाई पाउँ । नारीको अस्मितालाई खेलौनाको रुपमा हेरीरहेको यो समाजलाई चुनौती दिने हिम्मत गर्दै अगाडि बढेकी छन् । निहारिका राजपुत आफू माथि भएको बलात्कार र बलात्कार स्वरुपमा जन्मिएको सन्तान दुवैको न्यायका लागि निहारिका राजपुतले पटक–पटकका अनसनपछि आत्मादाहको असफल प्रयास गरेकी छिन् । आज यो देशमा जनताको सरकार भएको भए निर्दोष निहारिकाले न्याय पाउनुपर्ने हो । यो अदालतबाट जन्मिएको प्रमादेशी सरकार हो भन्ने कुरा यी र यस्तै धेरै घटनाहरुले प्रमाणित भइसकेको छ । दोषीले उन्मुक्ति पाइरहनु र पीडित दिन प्रतिदिन थप पीडामा हुनु हाम्रो कस्तो न्याय प्रणाली हो सरकार ? २०७५ भदौ ५ गते जन्मिएका निहारिकाको बच्चालाइ न्याय कस्ले दिने सरकार ? अपराध गर्ने उन्मुक्ति पाइराख्ने हो भने सयौं निहारिकाका समाजले बनाइराख्ने छ । निहारिका निर्मला जस्ता छोरीहरुले न्याय कहिले पाउने सरकार ? प्रश्न हाम्रो सामाजिक चेतना माथिको पनि हो । अहिले महिला आफ्नै घर,समाज र बाटोमा समेत सुरक्षित छैनन् । ढिलो न्याय पाउनु नपाउनु हो । निहारिकाको सन्तान दिन प्रतिदिन हुर्किंदै गर्दा ती अवोध बालकले नपाएको अधिकार उनले कहिले पाउने सरकार ? यति संवेदनशिल कुरामा टुलुटुलु हेरेर नबस सरकार ? सरकारको प्रणालीको आँखा कान मुख केही नभएको हो ? बलात्कार पीडित र नाबालक दुवैले छिटो भन्दा छिटो न्याय पाओस् भन्ने सरकारसँग माग गर्दछु ।’

सांसद पालले अहिले महिला आफ्नै घर, समाज र बाटोमा समेत सुरक्षित नभएको दाबी गर्नुभयो । उहाँले बलात्कारबाट पीडितले ढिलो न्याय पाउनु नपाउनु सरह भएको भन्दै निहारिका र अवोध बालकले अहिले नपाएको अधिकार कहिले पाउने सरकारलाई प्रश्न गर्नुभयो । सांसद पालले यस्तो संवेदनशिल कुरामा सरकार टुलुटुलु हेरेर बसेको आरोप लगाउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?