पानीकै दुःखमा कोइलावास

Read Time = 8 mins

-विवेक खड्का
दाङ । कोइलावासको कुवामा बाह्रैमास पानी हुन्थ्यो । त्यही पानीबाट भात भान्सादेखि सबै काम गर्न पुग्थ्यो । उति बेला कोइलावास खोलामा पनि पानी हुन्थ्यो । जबसम्म कोइलावास खोलामा पानी बग्यो, कुवामा पनि पानी अडियो । कोइलावास खोलामा ढुंगा उत्खनन् गरिएपछि पानीको सतह पनि गहिरिन पुग्यो । जसले गर्दा अहिले कोइलावासमा पानीको दुःख छ ।

खानेपानीको लागि धेरै पटक बजेट आयो । धारा जोडिए तर ती धाराले पानी दिएनन् । चैत–वैशाख लाग्यो कि भारतमा पानी थाप्न जानुपर्ने बाध्यता अहिले पनि छ । कोइलावासमा पानी र बिजुली एक्सचेञ्ज छ । भारतीय सीमा सुरक्षा बल एसएसवीले नेपालको बिजुली बाल्छ भने कोइलावासका नेपालीलाई भारतीय सीमा सुरक्षा बल एसएसवीले खानेपानी दिन्छ । यो क्रम अहिले पनि जारी छ तर पछिल्लो पटक कोइलावासमा नेपाली भूमिबाट पानी तानेर वितरण गर्ने योजना अघि बढेको छ । जसअन्तर्गत एक सय धारा कोइलावासमा वितरण गरिएको छ । धारामा पानी झार्न भरपर्दाे पानीको स्रोत नहुँदा कोइलावासमा पानीको दुःख बढ्दै गएको स्थानीय कल्लु सिद्धिकीले बताउनुभयो ।

‘पानीको दुःख अहिले पनि उस्तै छ । खानेपानीका धारा वितरण गरिएको छ । त्यसमा पानी भन्दा बढी हावा आउँछ’,  उहाँले भन्नुभयो, ‘महिनामा मुस्किलले एक हप्ता पानी आउँछ ।’ कोइलावासका स्थानीयले इनारको पानी खाँदै आएका थिए तर त्यो इनार सुकेपछि पानीको संकट गहिरिएको हो । स्थानीय तहमा जनप्रतिनिधि आएपछि बितेको पाँच वर्ष पानीले प्राथमिकता पायो । पानी टंकी बन्यो । एक सय घरमा धारा पनि वितरण भयो । पहिलो डिप बोरिङबाट केही समय पानी चल्यो तर त्यो डिप बोरिङबाट राम्रो पानी आएन । त्यसपछि अर्काे बोरिङ धसियो । यसबाट सबैलाई पुग्ने पानी आएको छैन । हरेक दिन बिहान ७ बजेदेखि साढे ८ बजे डेढ घण्टा मात्रै धारामा पानी छोडिन्छ । ‘पानीको मूल छैन । जमिनमुनिको पानी पनि राम्रोसँग भेटिएको छैन’, स्थानीय अतिउल्लाह खानले भन्नुभयो, ‘चाहिएको बेलामा धारामा पानी आउँदैन । समितिले राम्रोसँग काम गर्न सकेको छैन ।’

कोइलावास खानेपानी उपभोक्ता समितिले करिब एक सय धारा वितरण गरेको छ । तर ती धारामा पानी राम्रोसँग आउँदैन । यस वर्ष पनि कोइलावासको पानीको लागि प्रदेश सरकारले ३४ लाख बजेट विनियोजन गरेको छ । अघिल्लो पटक करिब एक करोडको हाराहारीमा बजेट थियो । त्यो बजेटबाट पूर्णरुमा पानी सञ्चालन हुन सकेको छैन । यसपालिको बजेटबाट डिपबोरिङ, पानी टंकी र बजार क्षेत्रमा पाइपलाईन पुनर्निर्माणमा काम हुने वडा अध्यक्ष खालिक सिद्धिकीले बताउनुभयो । ‘पानी पु¥याउने कोसिस त भएको हो तर डिप बोरिङबाट पानी राम्रोसँग आएन’, उहाँले भन्नुभयो,‘अब नयाँ डिप बोरिङसहित नयाँ पानी टंकी पनि बनाउनुपर्नेछ । त्यसपछि पानी पुग्छ कि ।’ कोइलावास बजारमा अहिले पनि पानीको समस्या रहेको उहाँले सुनाउनुभयो । ‘कतै मोटो पाइप छ । कतै मसिनो पाइप छ । जसले गर्दा पानी वितरण सहज भएको छैन’,  उहाँले भन्नुभयो, ‘खानेपानी आयोजनालाई पुनर्निर्माण गरेर सञ्चालन गर्नुपर्ने देखिन्छ ।’

कोइलावासमा एक सय २० घरधुरीको बसोवास छ । कोइलावास नाका शुरु भएपछि कोइलावासमा चहलहपल बढ्छ । पानीको संकट उतिबेला धेरै पर्ने देखिन्छ । कोइलावासमा पानीको भरपर्दाे आयोजना सञ्चालन गर्न सरकारले ध्यान दिन सकेको छैन । यहाँको पानी संकट नयाँ होइन । तीन दशकअघिबाट यहाँ पानीको समस्या पर्दै आएको छ । भारतीय भूमिबाट पानी ल्याएर खानुपर्ने बाध्यता छ । एसएसवीको क्याम्पबाट पानी बोकेर प्यास मेटाउनुपर्ने बाध्यता कोइलावासले भुलेको छैन । भूमिगत पानीको संकटका कारण कोइलावासमा पानी समस्या गहिरिएको हो । कोइलावास खोलामा पानी नहुँदा कोइलावास काकाकूल हुँदै आएको छ ।

पानी पुनर्भरणका लागि बाँध

कोइलावास खोलाको संरक्षण र बाँध निर्माण गरेर पानीको पुनर्भरणको योजना अघि सारिएको छ । जसका लागि गाउँपालिकाको प्राविधिक टोलीले खोलाको सर्वे गरेको छ । नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम (लापा) को आर्थिक तथा प्राविधिक सहयोगमा यस वर्ष खोलामा बाँध निर्माण गरेर पानीको पुनर्भरणको योजना छ । आर्थिक वर्ष २०७७/०७८ मा पनि कोइलावासमा बाँध बनाइएको थियो तर त्यो बाँध अधुरो छ । यसपटक पुनः बाँध निर्माण गरेर पानीको पुनर्भरणको योजना रहेको इञ्जिनियर शेषमणि पौडेलले बताउनुभयो । ‘विगतमा खोलाको ढुंगा, गिट्टी, बालुवा उत्खनन् भएर निकासी भएको रहेछ । जसले खोलाको सतह गहिरिन पुग्यो । छेउछाउमा पहिरो गएको पाइयो’, उहाँले भन्नुभयो, ‘खोलामा बनाइने बाँधले पानीको सतह बढ्ने आशा छ ।’ बाँध निर्माण गर्न ५५ लाख बजेट छ । यो बजेट अपुग हुने भएकाले थप बजेट आवश्यक पर्ने इञ्जिनियर पौडेलले बताउनुभयो । कोइलावासमा पानीको जलाशय निर्माण आवश्यक रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बताउनुभयो । ‘कोइलावासको विकासको लागि यहाँ पानीको उपलब्धता जरुरी छ । त्यसका लागि जलाशय बनाउन आवश्यक छ’ उहाँले भन्नुभयो, ‘कोइलावास शहर निर्माणको क्रममा पानीको जलाशयको पनि योजना निर्माण हुनेछ ।’

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?