मेयर बालेनज्यू, तपाइँ असफल हुनु भएन : पूर्वसचिव शारदा त्रिताल

Read Time = 4 mins

मेयरज्यू
काठमाडाैँ महानगरपालिका
तपाइँ असफल हुनु भएन ।

१.  तपाइँलाई काठमाडाैँका जनताले त्यसै मेयरमा जिताएका होइनन् । यो विषयमा ख्याल गर्नुहुने नै छ ।

२. काठमाडाैँ एउटा महानगरपालिका मात्र होइन देशको राजधानी शहर पनि हो । यसका आफ्नै किसिमका ऐतिहासिक र सांस्कृतिक मूल्य मान्यता पनि छन् । यिनको संरक्षण र सम्बर्द्धन गर्ने जिम्मेवारी पनि तपाइँको काँधमा आएकोछ ।

३. राजनीति ‘जनताको लागि’ गरिनु पर्नेमा विगत केही दशकदेखि नेताहरुबाट ‘जनताउपर’ राजनीति गरिएको कारणले लामो समयदेखि हर्ताकर्ता भएका ठूला पार्टीका नेताहरुप्रति जनता निराश भएको अवस्था छ ।

४. तपाइँको चुनाव घोषणापत्रमा उल्लेख भएअनुसार पनि फोहोरको व्यवस्थापन प्राथमिकतामा परेको देखिन्छ । तर यति लामो समयसम्म पनि यसमा प्रगतिका खास लक्षणहरु देखिन नपाएको कारण तपाइँप्रति जनता निराश हुन थालेको देखिन्छ । जनताको स्वास्थ्य र देशको प्रतिष्ठासँग समेत जोडिएको फोहोर व्यवस्थापनको विषयप्रति मेयरज्यू पक्कै पनि सम्वेदनशिल हुनु नै हुन्छ होला ।

५. फोहोर व्यवस्थापनमा विगतदेखि नै दलगत राजनीतिक खिचातानी हुँदै आएको हो । अहिले पनि त्यो भइरहेको देखिन्छ । त्यसैले मेयरज्यूले सम्वेदनशिल भएर काम गरी यो समस्याको शीघ्र समाधान खोज्नु पर्यो ।

यसका लागि–

(क) विज्ञहरुसँग निरन्तर छलफल गर्नुपर्‍याे र कुन स्तरमा छलफल भइरहेकोछ त्यसको जानकारी नियमित रुपमा जनतालाई गराइरहनु पर्‍याे ।

(ख) पार्टीका प्रतिनिधिहरुसँग पनि नियमित छलफलमा रहनुपर्यो र यसबारे पनि जनतालाई जानकारी गराउनु पर्यो ताकि जनताले के भइरहेको छ भन्ने थाहा पाउन सकियोस् ।

(ग) फोहोर फालिने क्षेत्रका जनतासँग पनि निरन्तर छलफलमा रहनुपर्‍याे । पुरा गर्न सक्ने माग पूरा गर्नु पर्‍याे र गर्न नसकिने माग गर्न सकिँदैन भन्नुपर्‍याे । यसको जानकारी पनि जनतालाई दिइरहनु पर्‍याे ।

(घ) छिमेकी नगरपालिकाहरुसँग पनि छलफल र सहयोग आदानप्रदान गर्नु पर्‍याे।

(ङ) विज्ञहरुको सहयोग समेतका आधारमा संघीय सरकारसँगको समन्वयमा फोहोर व्यवस्थापनको अल्पकालीन‚ मध्यकालिन र दीर्घकालीन योजना र त्यसको कार्यान्वयन खाका बनाई सार्वजनिक गर्नुपर्‍याे । अनि सोही कार्ययोजना अनुरुप काम गरी प्रगति सार्वजनिक गर्ने परिपाटी बसाल्नु पर्‍याे।

६.  राजधानी शहरको मेयरले संयमता र सुझबुझ पनि देखाउन सक्नु पर्‍याे । अदालतले दिएका आदेशउपर सार्वजनिक प्रतिक्रिया दिनुभन्दा कानुनबमोजिमको सबूद प्रमाणसहित प्रक्रियामा जाने गर्नु पर्‍याे । अदालतले गरेका फैसला र आदेशउपर तल्लो स्तरको प्रतिक्रिया दिनका लागि देशका कम्युनिष्ट हौं भन्ने नेताहरु पर्याप्त छन् । त्यस्ता विषयमा प्रतिस्पर्धा गर्न थाल्नु भयो भने तपाइँको असफलता निश्चित छ ।

७. तपाइँसँग हामी जनताले ठूलो आशा र भरोसा गरेका छौं । हामी तपाइँबाट राम्रा कामकुराको मात्र आशा गर्छौं । हाम्रो आशा र भरोसामा तुषारापात हुने छैन भन्ने विश्वास छ ।

(लेखक शारदाप्रसाद त्रिताल नेपाल सरकारका पूर्वसचिव हुनु हो ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?