आठ वर्षसम्म पनि बनेन नौवस्ता औद्योगिक क्षेत्र, बस्ती व्यवस्थापन गर्न नसक्दा अनिर्णयको बन्दी

हिमालय टाइम्स
Read Time = 8 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । निर्माण घोषणाको आठ वर्ष बित्दासमेत बाँकेको बैजनाथ-३ स्थित नौवस्ता औद्योगिक क्षेत्र निर्माण कार्य सुरु हुन सकेको छैन । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सरकारी लगानीमा बन्ने औद्योगिक क्षेत्र निर्माण अझै पनि कछुवा गतिमा छ । हालसम्म डिपिआर र उद्घाटनमै सीमित छ, यो परियोजना । बस्ती व्यवस्थापन हुन नसक्दा औद्योगिक क्षेत्र निर्माण हुन नसकेको हो । औद्योगिक क्षेत्र निर्माणको विषयमा स्थानीय, राजनीतिक दल र सरकारी पक्ष सहमत छन् । तर, बस्ती व्यवस्थापनका विषयमा एकमत हुन नसक्दा महत्वाकांक्षी परियोजना ओझेलमा छ । सरकारी लगानीमै निर्माण हुने नौवस्ता औद्योगिक क्षेत्र हाल ३३८ बिघा क्षेत्रफलमा फैलिएको छ ।

२०७२/१२/०१ गते नौवस्ता औद्योगिक क्षेत्र घोषणा गर्दा यसको मूल क्षेत्रफल ५२५ बिघा कायम गरिएको थियो । त्यहाँको ६१ बिघा जग्गा अन्य संरचना निर्माणको लागि दिन सहमति नै भइसकेको छ । जग्गा बस्ती व्यवस्थापन र सशस्त्र प्रहरी तालिम केन्द्र तथा क्षेत्रीय कारागार निर्माणको लागि प्रयोग भएको छ ।

नौवस्ता औद्योगिक क्षेत्र व्यवस्थापन परियोजना कार्यालयका प्रमुख कृष्णबहादुर पुन त्यसमा पनि सुकुमवासी बस्तीका ३० र क्षेत्रीय कारागारका लागि ३० बिघा दिने सहमति भइसकेको बताउनुहुन्छ । बस्ती क्षेत्रमा बसोबास गर्नेहरूको संख्याका विषयमा सरकार र स्थानीयबीच सहमति हुन नसक्दा सिंगो परियोजना नै अनिर्णयको बन्दी बन्न पुगेको हो । सरकारले तयार गरेको डिपिआरमा यस क्षेत्रका २५९ घरधुरी रहेको तथ्यांक संकलन गरिएको थियो । तर, स्थानीय घरधनीको संघर्ष समितिले औद्योगिक क्षेत्र निर्माणस्थलमा ४५० बढी घर रहेको दाबी गर्दै आएको छ । यो विषयमा सहमति गराउन सरकार असफल देखिएको छ । परियोजना कार्यालयका प्रमुख पुनले स्थानीयहरूसँग बारम्बार छलफल भइरहेको बताउनुभएको छ । सरकारी पक्षले स्थानान्तरणको विकल्पमा समेत प्रक्रिया अघि बढाएको थियो । सरकारी प्रस्तावमा उक्त क्षेत्रका नागरिक सहमत छैनन् । पुनका अनुसार औद्योगिक क्षेत्र निर्माणपछि रोजगारीमा प्राथमिकता दिने सहमति गर्ने प्रयाससमेत असफल भइरहेको छ । सामान्य उपस्थिति जनाउनको लागि परियोजना कार्यालय सञ्चालनमा ल्याइएको छ । हाल परियोजना कार्यालयसमेत सञ्चालनमा छ । त्यहाँ दुईजना कर्मचारी थिए । एकजनाको सरुवा भइसकेको छ । सरकारले परियोजना कार्यालयका लागि केही कर्मचारीसमेत खटाएको छ ।

नौवस्ता औद्योगिक क्षेत्रको कुल अनुमानित लागत आठ अर्ब ७७ करोड छ । निर्माण घोषणाको आठ वर्षमा प्रारम्भिक कामसमेत हुन सकेको छैन । तर, अहिलेसम्म औद्योगिक क्षेत्र निर्माणको काम अपेक्षाकृत रूपमा हुन सकेको छैन । सरकार प्रत्येक वर्ष औद्योगिक क्षेत्र निर्माणका लागि बजेट विनियोजन गर्दै आएको छ । बस्ती व्यवस्थापन हुन नसक्दा बर्सेनि करोडौँ बजेट फ्रिज हुने गरेको छ । नौवस्ता औद्योगिक क्षेत्र व्यवस्थापन परियोजना कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा संघीय सरकारले ३० करोड बजेट विनियोजन गरेको थियो ।
त्यतिबेला लुम्बिनी प्रदेश सरकारले १० करोड विनियोजन गरेको कार्यालयका प्रमुख कृष्णबहादुर पुनले बताउनुभयो । कुल ४० करोड बजेट कामै हुन नसकेर फ्रिज भयो । सरकारले गत आर्थिक वर्ष २०७८/०७९ का लागि ७८ करोड रुपैयाँ विनियोजन गरेको थियो । पुनले जग्गा विकास, जंगल व्यवस्थापन र प्रशासकीय भवन निर्माणको लागि विनियोजन गरिएको उहाँले बताउनुभयो । ७५ करोड जग्गा विकास र दुई करोड जंगल व्यवस्थापन र एक करोड प्रशासकीय भवन निर्माणको लागि विनियोजित गरिएको थियो । बस्ती व्यवस्थापन हुन नसक्दा बजेट कार्यान्वयनसमेत हुन नसकेको उक्त परियोजना कार्यालयले जनाएको छ ।

चलु आर्थिक वर्ष २०७९÷०८० का लागि भने सरकारले औद्योगिक पूर्वाधार निर्माणका लागि भनेर तीन अर्ब विनियोजन गरेको छ । पुनका अनुसार नौवस्ताका लागि भने कति बजेट आएको छ यकिन छैन । उक्त बजेटलाई क्यारी ओभर शीर्षकमा राखिन्छ । क्यारी ओभर भनेको (एक चालु आवमा बजेट खर्च हुन सकेन भने अर्को आवमा प्रयोग गर्न सक्ने गरी निश्चित कोषमा राखिने) बजेट हो ।

सिंगो गाउँपालिकाको विकास र समृद्धिसँग जोडिएको औद्योगिक निर्माण कार्य अघि बढाउन तथा समस्या समाधानका लागि स्थानीय सरकारले चासो दिएको छ । स्थानीय तह निर्वाचनमार्फत निर्वाचित जनप्रतिधिहरूले नौवस्तालाई अविलम्ब सुरु गर्नको लागि स्थानीय सरकारले चासो देखाएको हो ।

साउन दोस्रो सातादेखि बैजनाथका विभिन्न समस्या लिएर अध्यक्षसहितको प्रतिनिधि टोली डेलिगेसन गएको थियो । उक्त टोलीले विभागीय मन्त्रीसँगै प्रधानमन्त्री समेतलाई भेटेर आफ्ना कुरा राखेको छ । बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले ‘नौवस्ता औद्योगिक क्षेत्र’ सञ्चालनसँगै त्यस क्षेत्रका स्थानीय बासिन्दाको मुआब्जा र उचित व्यवस्थापनका लागि नेपाल सरकारका उद्योग तथा वाणिज्यमन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?