बिरामी भएँ भने उपचार गराउने पैसा छैन, घर दान गरिसकेँ : ओली

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिरामी भइहाले उपचार गराउने पैसा आफूसँग नभएको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूले व्यक्तिगत सम्पत्ति राज्यलाई दिएको बताउनुभयो । ‘मैले आफ्नो व्यक्तिगत सम्पत्ति राज्यको सम्पत्ति भनेर पास गरिदिएको छु,’ ओलीले भन्नुभयोे, ‘म देशका लागि समर्पित छु ।’

उहाँले आफू र श्रीमती बाँचुन्जेल घरमा बस्न पाउने बताउनुभयो । ‘अहिले पनि त्यो घर म बेच्न पाउँदिनँ,’ उहाँले भन्नुभयो, ‘बन्धकी राख्न पाउँदिनँ । बेचेर खर्च चलाउन सक्दिनँ । बिरामी भएँ भने तपाईंहरूले उपचार गराउनुभयो भने कुन्नि, नत्र मसँग पैसा छैन ।’ उहाँले सांसद भएकोले केही पैसा भने आउने बताउनुभयो । ‘घर बेचेर उपचार गर्छु भन्ने पनि छैन, घर दान गरिसक्या छ । दान ग¥या बेच्न मिल्दैन,’ ओलीले भन्नुभयो । उहाँले आफू युवाहरू जत्तिकै सक्रिय रहेको पनि बताउनुभयो । ‘म युवाभन्दा कम सक्रिय छैन । मसँग बसेर काम गर्ने युवा मेरो साथमा रहँदा थाक्छन् म थाकेको छैन,’ ओलीले भन्नुभयो ।

ओलीले आफू नातावाद कृपावादमा नलागेको व्यक्ति भएको दाबी गर्नुभयो । आफूले श्रीमती, भाइ र अन्य नाता पर्नेहरूलाई पनि राजनीतिमा नतानेकाले नातावाद कृपावादबाट टाढै रहेको बताउनुभयो । उहाँले आफ्नो भाइसमेत राजनीतिमा भए पनि कुनै लोभमा नपरेको दाबी गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयोे, ‘१० कठ्ठा जमिन लिएर हलो जोतेर बसेको छ मेरो भाइ । उसलाई कुनै असन्तुष्टि छैन । र, ऊ वडा कमिटीमा सदस्य छ ।’ पार्टीमा योगदानअनुसार पद र जिम्मेवारी पाउने अध्यक्ष ओलीले बताउनुभयो । आफ्नो भाइले संघीय र प्रदेश कुनैको पनि टिकट नपाउने बताउनुभयो । ‘अरू जस्तो भाइ, बुहारी, छोराछोरी, श्रीमती, सालो त्यसको लागि मरिहत्ते गरेर हिँड्ने एमाले चाहिँ होइन,’ उहाँले भन्नुभयो । आफ्नो स्वास्थ्य समस्या भइरहेकाले सधैँ स्वास्थ्यलाई सन्तुलित ढंगमा राख्नुपर्ने अध्यक्ष ओलीले बताउनुभयो । उहाँले सर्कसमा डोरीमा हिँड्ने मानिसको झै आफ्नो स्वास्थ्य मिलाएर राख्नुपर्ने अवस्था भएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?