साउन १ गतेदेखि नै नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । मन्त्रिपरिषद् बैठकले साउन १ गतेदेखि नै नयाँ तलबमान र ग्रेड लागू गर्ने निर्णय गरेको छ । साउन २६ मा बसेको मन्त्रिपरिषद् बैठकले सबै तहका निजामती कर्मचारीसहित शिक्षकसम्मको नयाँ तलबमान र ग्रेड वृद्धि गर्ने निर्णय गरेको हो । सरकारले बजेटमार्फत सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको थियो । सोहीअनुसार नै नयाँ तलबमान र ग्रेड वृद्धि गरिएको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्का निर्णय सुनाउँदै भन्नुभयो, ‘सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालय शिक्षकको साउन १ देखि लागू हुने गरी नयाँ तलबमान र ग्रेड स्वीकृत गर्ने निर्णय भएको छ ।’

मन्त्री कार्कीले विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि प्राप्त हुने एक सय मिलियन अमेरिकी डलर (झण्डै १२ अर्ब ७० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले जापान सरकारबाट पूर्वी तराईको सिँचाइ प्रणाली पुनःस्थापना आयोजनाका लागि प्राप्त हुने जापानी ऐन २२ सय ५६ मिलियन अर्थात् झण्डै दुई अर्ब १३ करोड ६४ लाख रुपैयाँ अनुदान सहायता पनि सरकारले स्वीकार गरेको बताउनुभयो ।

प्रवक्ता कार्कीले मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७८/०७९ का लागि मन्त्रालयअन्तर्गत विभिन्न आयोजनाका लागि राजपत्रांकित श्रेणीका पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको बताउनुभयो । आउँदो भदौ ७ देखि ९ गतेसम्म संयुक्त राष्ट्रसंघको आयोजनामा थाइल्याण्डको राजधानी बैंककमा हुने दक्षिण एक्सेन्ज एण्ड प्रिपेरिङ स्मुथ ट्रान्जिसन स्टाटेजी कार्यक्रममा सहभागीका लागि राष्ट्रिय योजना आयोगका सचिवलाई स्वीकृत दिने निर्णय भएको छ ।

प्रवक्ता कार्कीले आर्थिक वर्ष २०७८/०७९ का लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत राजपत्रांकित श्रेणीका ५१ वटा पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको बताउनुभयो । कानुन तथा संसदीय मामिला मन्त्रालयअन्तर्गत राजपत्रांकित श्रेणीका ५८ वटा पदको स्थायी दरबन्दी र कृषि तथा पशु विकास मन्त्रालयअन्तर्गत राजपत्रांकित श्रेणीका २० वटा पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ ।

प्रवक्ता कार्कीले सरकारले सशस्त्र प्रहरी सेवा आयोगको सदस्य तोक्ने निर्णय गरेको पनि बताउनुभयो । उहाँका अनुसार विदेशी नागरिक नासिम नाइनको नागरिकता खारेज गर्ने निर्णय भएको छ । प्रवक्ता कार्कीले सप्तकोसी नदीमा आएको बाढीबाट बढी क्षति भएका भौगोलिक क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारले निर्णय गरेको बताउनुभयो । उहाँले पर्वतको कुश्मा नगरपालिका-५ मा रहेको १३ रोपनी १५ आना जग्गामध्ये जिल्ला समन्वय समिति पर्वतले भोगचलन गरेको ६ रोपनी ६ आना दुई पैसा एक दाम रोपनी जग्गामध्ये दुई रोपनी आठ आना तीन पैसा तीन दाम रोपनी जग्गा कुश्मा नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि उपयोग गर्न स्वीकृत दिने निर्णय गरेको बताउनुभयो । सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत राजपत्रांकित श्रेणीका तीन सय ५५ वटा पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने भएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ का लागि युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राजपत्रांकित श्रेणीका १५ वटा पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । उहाँले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन पहिलो निर्देशिका २०७९ स्वीकृत गर्ने सरकारले निर्णय गरेको बताउनुभयो । सरकारले भारतीय सेनाका स्थल सेना अध्यक्षलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने निर्णय पनि गरेको छ । आर्थिक वर्ष २०७८/७९ का लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत राजपत्रांकित श्रेणीका २३ वटा पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय सरकारले गरेको छ । त्यस्तै, नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को अनुसूची ३ को हेरफेर गर्ने र राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?