सम्पन्नता र समृद्धि हामीभित्रै छन्

हिमालय टाइम्स
Read Time = 13 mins
A A- A+

✍️ डा. डीआर उपाध्याय

विकास र समृद्धिको बहस धेरै पहिलेदेखि हुँदै आएको हो । यो नेपालका लागि नौलो बहस होइन । राणा शासनको अन्त्यपछि विकासको प्रयास सुरु भएको हो । तर पनि अहिलेसम्म विकास, समृद्धिको बहस, नारा र गफमै सीमित छ, पार्टीका घोषणापत्रमै सीमित छ, नेताका भाषणमै सीमित छ । हामीसँगै विकास प्रक्रिया थालेका देशले विश्व अर्थतन्त्रमा प्रभुत्व जमाइसकेका छन् । विकासको मुख्य मियो राजनीति हो । राजनीति सही बाटोमा जाँदामात्र विकास सम्भव छ । राजनीति सही बाटोमा जान राजनीतिक स्थिरता चाहिन्छ । नेपालमा आर्थिक विकास र समृद्धि नेपाली जनताको चाहना हो ।

गणतन्त्र घोषणासँगै समावेशी विकासको अभ्यास सुरु भयो । संविधान सभाबाट नेपालको संविधान जारी गरियो । संविधानले दिगो शान्ति, सुशासन, विकासलाई मुख्य लक्ष्य राखेर ‘समाजवाद उन्मुख’ लोकतान्त्रिक व्यवस्थालाई अवलम्बन गरेको छ । नेपालको विकासको दीर्घकालीन सोच के हो ? विकासको मोडेल के हुने ? विकासका मूलभूत प्राथमिकता के हुन् ? विकास र समृद्धिको यात्रा कसरी सम्भव छ ? लगायतका यी यावत विषयमा खासै बहस र चर्चा परिचर्चा भएको पाइँदैन । राज्यले पनि यस विषयमा स्पष्ट खाका तय गर्न सकेको छैन । गन्तव्य नै अन्धधुन्ध छ ।

अहिले राज्यले उचित व्यवस्थापन गर्न नसक्दा भएको जनशक्ति काम नपाएर सडकमा भौँतारिनु परिरहेको छ । युवा जनशक्ति विदेश पलायन भएको छ । देशको युवा र दक्ष जनशक्ति विदेश पलायन हुँदा विकास प्रक्रियामा धक्का लागेको छ ।

नेपालको संविधानले समाजवाद उन्मुख राज्यको निर्माण गर्ने कल्पना गरेको छ । राज्यका नीतिहरूको माध्यमबाट विकास र समृद्धिका सम्भावना तय गरेको छ । यिनै कुरालाई मुख्य आधार बनाएर विकासको मार्गचित्र तय गरिनुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन । देशमा उपलब्ध श्रमशक्तिको समुचित परिचालन गरी विकासको गति अगाडि बढाउनु आवश्यक छ । त्यसका लागि मानवीय क्षमता अभिवृद्धि गरिनुपर्छ । शिक्षा र स्वास्थ्यमा लगानी गरी मानवीय क्षमता अभिवृद्धि गर्न सकिन्छ । गुणस्तरीय, सीपयुक्त र प्रविधिमैत्री शिक्षा तथा भरपर्दो र पहुँचयोग्य स्वास्थ्य सेवा प्रत्येक प्रदान गरी मानवीय क्षमता अभिवृद्धि गर्न सक्छ ।

त्यसैले शिक्षा र स्वास्थ्यको जिम्मा राज्यले नै लिनुपर्छ । अहिले राज्यले उचित व्यवस्थापन गर्न नसक्दा भएको जनशक्ति काम नपाएर सडकमा भौँतारिनु परिरहेको छ । युवा जनशक्ति विदेश पलायन भएको छ । देशको युवा र दक्ष जनशक्ति विदेश पलायन हुँदा विकास प्रकियामा धक्का लागेको छ । त्यसैले देश बनाउनु छ भने शिक्षा र स्वास्थ्यमा लगानी गरी दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ र दक्ष जनशक्तिलाई देशमा काम गर्नसक्ने वातावरण निर्माण गरिनुपर्छ ।

देश बनाउने र विकास गर्ने मूल दायित्व सरकारको हो तर जनताको पनि देश विकासमा उत्तिकै भूमिका रहन्छ । आफू ढलेको सिन्को ठाडो नपार्ने तर देश बनेन वा नेताले देश बिगारे भनेर गफ गरेर समय खेर फाल्ने प्रवृत्तिले हामी पछि परेका हौँ । देशको आर्थिक सामाजिक विकासमा नागरिकको भूमिका गहन हुन्छ । देशप्रति माया, सद्भाव र आपसमा भातृत्व कायम राख्दै सकारात्मक सोच बनाई विकासमा योगदान गर्न सकिन्छ । देश विकासको लागि सकारात्मक सोच राख्ने नागरिकको खाँचो हुन्छ । देशलाई हामी सबै मिलेर बनाउनुपर्छ, देश बनाउने जिम्मा हाम्रो हो । देश बनाउने जिम्मा सरकारको मात्र होइन । निजी क्षेत्र, नागरिक समाज सबैले यसमा हातेमालो गर्नु आवश्यक छ ।

नेपाल विकास र समृद्धिको सुनौलो चरणमा छ । प्रत्येक व्यक्तिले आफ्नो राष्ट्रियतालाई माया गर्नुपर्छ । राज्य सञ्चालन र राष्ट्र निर्माणमा सबै नेपाली जनताको एउटै मन हुनुपर्छ । प्रत्येक राष्ट्रको समृद्धि यात्रामा देशका सशक्त जनशक्तिको महत्वपूर्ण भूमिका र योगदान रहेको हुन्छ । देशको विकास र समृद्धिको यात्रा युवाले सुरु गर्नुपर्छ । उद्यमशीलताको पूर्वाधार तयार गर्न देशले सक्षम र दक्ष जनशक्ति खोजेको छ । युवाका विचार, सीप र जाँगरको राज्यले सही रूपमा सदुपयोग गर्न जान्नुपर्छ । समृद्घिको चाहना सबैलाई हुन्छ ।

विकास र उन्नतिका लागि युवालाई दायित्व सुम्पनु पर्छ । युवाले दिशाबोधको गोरेटो खन्न सक्छन् । नेपालको समृद्धि कृषि र पशुपालनमा छ । युवाले कृषि, पशुपालनको व्यवसायीकरण र आधुनिकीकरण गर्न सक्छन् । कठोर मिहिनेतले देश बनाउन सकिन्छ । सम्पन्नता, समृद्घि हामीभित्रै छन् । सकारात्मक सोचले नै देश बनाउन सकिन्छ । देश बनाउने हो भने हामी सबैले परिश्रम गर्नुपर्छ । नेपाली समाज परिश्रम गर्न आत्तुर छ । तर, सरकारले उचित वातावरण मिलाउन सक्नुपर्छ । समाजमा गरिबी छ । गरिब र धनीबीचको खाडल झन्पछि झन् गहिरिँदै छ । सबै बराबर हुने समाज निर्माणको बहस सुरु नभएको होइन, अहिले सबै हरायो ।

देशमा इमानदार नेता नै भएनन् । त्यसले समस्या भएको छ । समाजमा इमानको राजनीति हराउँदै गएको छ । राजनीतिमा बेइमानी, षड्यन्त्रकारी धेरै भए । जनताको नाममा राजनीति भयो तर स्वार्थ आफ्नोमात्र पूरा भयो । राजनीतिमा बेइमानी भयो । बेइमानीको राजनीतिले नेपाली समाज थला परेको छ । राजनीतिमा जति बेइमानी गरिएको छ अरूमा छैन । समय बदलियो । राजनीति फेरियो । देशमा प्रजातन्त्र आयो । लोकतन्त्र आयो । गणतन्त्र सबै आयो तर जनताको अवस्थामा परिवर्तन आएन । समाजमा हरेक दिन हत्या, हिंसाका घटनाहरू बढिरहेका छन् । हरेक क्षेत्रमा विकृतिमात्र मौलाइरहेका छन् ।

सामाजिक इमानदारीता, जातीय एकता, राष्ट्रिय भावना र सामाजिक सद्भावलाई खल्बलाएर राजनीति गर्ने दलहरूका कारण सबै ध्वस्त बनाइँदै छ । यसरी राजनीति चल्दैन । नेपालमा राजनीति क्षेत्र धेरै बदनामी हुँदै गएको छ । राजनीतिलाई जनताले घृणा गर्न थाले । नेताका बोली, भाषा, व्यवहारमा लागू भएनन् । नेताहरू एकले अर्कोलाई सिध्याउने काममा व्यस्त छन् । नेपाली समाज लामो समयसम्म अन्याय, अत्याचार, गरिबी, अभाव र पिछडा जीवन बाँच्न बाध्य छ । नेपाली समाजले प्रजातन्त्र आएपछि देश विकासको आशा गरेको थियो तर जनताले महँगी, बेरोजगार र बेथिति पाए ।

बेइमानको राजनीतिले नेपालको समृद्घि र नेपालीहरूको भविष्यमाथि ठूलो खेलबाड भइरहेको छ । राजनीतिक नेतृत्व नबदलिने भएपछि अब नेपाली मतदाता बदलिन जरुरी छ । अहिले असफल, वृद्धभत्ता खाने उमेरका शीर्ष भनिने राजनीतिक खेलाडीहरूलाई अबको चुनावपछि बिदा गर्नुपर्छ ।

गणतन्त्र नागरिकहरूका लागि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भनेझैँ भयो । राजनीतिक दलहरूले देश विकासको बाटोमा काम गर्नुपर्ने बखतमा आन्तरिक कलह र एकले अर्कोलाई सिध्याउने खेलमै समय बिताउँदै आएका छन् । राज्य निर्माण गर्न भिजिनरी नेतृत्व, व्यावहारिक कार्ययोजना, विधिको शासन, भ्रष्टाचार मुक्त राजनीति र प्रशासनतन्त्र एवं सामाजिक अनुशासनको आवश्यकता पर्छ । अझै मुलुकले भिजिनरी राजनेता पाउन सकेको छैन । राजनीतिक दलहरूले देशलाई बदल्न सक्ने क्षमता राख्न सकेनन् । दलहरूले देशलाई ठीक ढंगले हाँक्न नसक्नु, देशको दुर्भाग्य हो । मुलुक आफैँ बन्दैन । विकासका लागि प्रस्ट खाका चाहिन्छ । सुशासन कायम गर्न सक्ने क्षमता चाहिन्छ । सामाजिक अनुशासन कायम गरी जनपक्षमा काम गर्ने इच्छाशक्ति चाहिन्छ ।

बेइमानको राजनीतिले नेपालको समृद्घि र नेपालीहरूको भविष्यमाथि ठूलो खेलबाड भइरहेको छ । राजनीतिक नेतृत्व नबदलिने भएपछि अब नेपाली मतदाता बदलिन जरुरी छ । अहिले असफल, वृद्धभत्ता खाने उमेरका शीर्ष भनिने राजनीतिक खेलाडीलाई अबको चुनावपछि बिदा गर्नुपर्छ । राजनीतिका उच्च तहमा पुगेका नेताहरूले विदेशी बैंकमा रकम राखेका छन् भन्ने सुनिन्छ । अर्बाैंको कमिसनसँग यिनीहरूकै नाम जोडिएको छ । देशको सुविधामा रमाउने र जनतालाई दुःख दिने काम नेताहरूले गरिरहेका छन् । प्रजातन्त्रको नाममा बदनाम काम गरिरहेका छन् । सत्ताकै लागि गठबन्धन गरेका छन् ।

यिनीहरूलाई देश, समाज, जनता कसैको चिन्ता छैन । यस्तै देखिएको छ । राजनीतिक कर्मले नेपाली जनतामाथि अत्याचार भइरहेको छ । देशको ढुकुटी पालैपालो स्वाहा पार्ने काम गरिरहेका छन् । अब असफल भइसकेको मान्छेलाई फेरि भोट दिएर सांसद बनाउने काम कुनै नेपाली मतदाताले नगरौँ । अब नेपाली मतदाताहरू बदलिन आवश्यक छ । अहिलेको नेतृत्व बदल्ने भनेको जिम्मा हामी मतदाताको हातमा छ ।

यो नेतृत्व र यिनीहरूबाट अब आश नगरौँ । सम्पन्नता र समृद्घि हामीभित्रै छन् त्यसलाई पहिचान गरौँ । कुहिराको काग जस्तै नबनौँ । सचेत र सजग नागरिकले मतदानमार्फत आफ्नो अभिमत जाहेर गरौँ । अन्यथा पुनः पाँच वर्ष हाम्रा लागि आफैंले आफैंलाई धिकार्दै बित्नेछन् । सबैमा चेतना भया ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
suman
suman
2022-08-17 7:59 pm

अहिले राज्यले उचित व्यवस्थापन गर्न नसक्दा भएको जनशक्ति काम नपाएर सडकमा भौँतारिनु परिरहेको छ ।

Ramesh
Ramesh
2022-08-22 11:12 am

अहिले राज्यले उचित व्यवस्थापन गर्न नसक्दा भएको जनशक्ति काम नपाएर सडकमा भौँतारिनु परिरहेको छ । युवा जनशक्ति विदेश पलायन भएको छ । देशको युवा र दक्ष जनशक्ति विदेश पलायन हुँदा विकास प्रक्रियामा धक्का लागेको छ ।

छुटाउनुभयो कि ?