Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

आन्तरिक पर्यटक तान्दै सोलेडाँडा

Read Time = 10 mins
A A- A+

-डम्मर बुढा मगर
बागलुङ । लोक गायक खड्ग गर्बुजाले ‘हेर्दाहेर्दै कान्छीले सोलेडाँडा काट्यो मायाली’ भन्ने गीत गाउनुभयो । जसले गर्दा यो डाँडा सबैतिर चर्चित बन्न पुग्यो । बागलुङको तमानखोला गाउँपालिकामा अवस्थित एउटा डाँडा । जसको नाम सोलेडाँडा हो । सोलेडाँडा सबैमा परिचित एउटा नाम हो । सोलेडाँडा म्याग्दी र बागलुङ बीचको सिमानामा पर्छ ।

त्यसले गर्दा पनि गायक गर्बुजाले प्रतीकात्मक रुपमा म्याग्दी तिरबाट हिँडेकी मायालु सोलेडाँडा काटेर बागलुङ प्रवेश गरेको कुरालाई गीतमा उल्लेख गर्नुभएको छ । कुनै बेला यो डाँडा म्याग्दी बागलुङ तिरका गोठाला भेट हुने डाँडाको रुपमा रहेको थियो । अहिले यो डाँडा पर्यटकीय ठाउँको रोजाइमा पर्दै जान थालेको छ । अहिले मानिसहरु शहरतिरभन्दा गाउँघर अग्ला डाँडाकाँडा र वन जंगलमा घुम्न मन पराउँछन् ।
पर्यटकले मन पराउने डाँडामध्ये सोलेडाँडा पश्चिम बागलुङको तमानखोलाको मुख्य डाँडा पनि हो । अग्लो डाँडाबाट देखिने सुन्दर दृश्य नियाल्नका लागि लालायित हुनेहरु त्यहाँ पुग्न आतुर हुन्छन् । सोलेडाँडाबाट देखिने दृश्यले जो कोहीलाई मोहित बनाउँछ । बागलुङको तमानखोला गाउँपालिका र म्याग्दीको मालिका गाउँपालिकाको सिमाना हो, सोलेडाँडा । यो ठाउँमा दुबै जिल्लाका आन्तरिक पर्यटकहरु दैनिक पुग्ने गर्छन् ।

हिउँद लाग्दा पिकनिक मनाउने र फागुन चैतमा गुराँसको फूलसंग रमाउनेहरुको ओइरो नै लाग्ने गर्छ । सोलेडाँडा केही वर्ष यता पर्यटकको रोजाइको ठाउँ बन्न पुगेको तमानका वसन्त घर्ती बताउँनुहुन्छ । ‘सोलेडाँडा बागलुङको तमान र म्याग्दीका विभीन्न ठाउँका व्यक्तिहरुका लागि पनि पहिलो रोजाइको ठाउँ हो,’ उहाँले भन्नुभयो, ‘अचेल विस्तारै यहाँ अन्य ठाउँहरुबाट पनि घुम्न आउनेहरुको संख्या बढ्दै गएको छ । काम विशेषले तमान आइपुग्नेहरु पनि एक पटक सोले नपुगी फर्किदैनन् ।’

प्रकृतिमा रमाउन चाहानेहरुका लागि २६३० मिटरको उचाइमा अवस्थित सोलेडाँडा गज्जबको गन्तव्य हो । यहाँबाट देखिने हिमश्रृङ्खला र प्राकृतिक सौन्दर्यता साँच्चै लोभलाग्दो छ । सूर्योदय र सूर्यास्तको बेला देखिने मोहक दृश्य धेरैको रोजाइ हुन्छ । फागुन चैतमा जब गुराँस फुल्न थाल्छ । सोलेडाँडाको सुन्दरता थप खुलेर आउँछ । म्याग्दी बागलुङ दुबैतिरबाट सडक सञ्जालले जोडिएपछि अहिले त्यहाँ वनभोज र क्याम्प फायरका लागि पुग्नेहरु धेरै देखिन्छन् । पदयात्रामा रमाउनेहरु पनि त्यो क्षेत्रमा पुग्छन् ।

डाँडोसंगैको घना जंगलबाट आउने चराको चिरबिर चिरबिरले पनि आगन्तुकहरुको मन लोभ्याउँछ । आनन्दको महशुस गराउँछ । शोलेबाट म्याग्दी र बागलुङका विभिन्न ठाउँसंगै धौलागिरी, माछापुच्छ«े, मानापाथी लगायतका हिमालहरु आँखै अगाडि देख्न सकिन्छ । सोलेडाँडा पर्यटकहरुको रोजाइमा पर्न थालेपछि स्थानीय सरकारले पनि त्यसतर्फ लगानी बढाएको छ ।

सोलेडाँडामा पूर्वाधारहरु निर्माण गरेर त्यसको सुन्दरतामा थप आकर्षण थप्ने योजना तमानखोला गाउँपालिका लागेको छ । स्थानीय तहको निर्वाचन भएपछि सोलेडाँडामा तमानखोलाले लगानी थप्दै गएको छ । अहिले पूर्वाधार निर्माणको कामले तीब्रता पाएको छ । सोलेडाँडामा बगैचा सहितको सहिद पार्क, ‘पिकनिक स्पट’ लगायतका पूर्वाधार निर्माण सुरु गरेको तमानखोला गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष छप्रसाद सिर्पालीले बताउनुभयो ।

‘यो ठाउँमा मानिसहरुको चहलपहल त पहिलेदेखि हुन्थ्यो, हामीले निर्वाचित भएपछि यसले यो ठाउँलाई पर्यटकीय क्षेत्रको रुपमा थप विकास गर्नुपर्छ भनेर पूर्वाधार निर्माणको काम गरेका छौं,’ उहाँले भन्नुभयो, ‘बागलुङ म्याग्दीबाट वनभोज खान र घुम्न आउनेहरु उत्तिकै छन् । हामीले उनीहरुलाई थप भुलाउनका लागि सहिद पार्क लगायतका अन्य संरचनाहरु निर्माणको काम अगाडि बढाएका छौं ।’
सोलेडाँडामा पुगेका पर्यटकहरुलाई दिनभरी सोलेमै भुलाउने र साँझमा लाममेला तथा तमानमा बास बस्ने व्यवस्था मिलाउने योजना पनि छ । ‘यहाँ केही पूर्वाधारहरु थप भयो भने पर्यटकहरुलाई दिनभरी भुल्ने वातावरण बन्छ र साँझमा लाममेला तमानमा गएर बास बस्ने अवस्था बन्छ भन्ने लागेको छ,’ उहाँले भन्नुभयो,‘त्यसका लागि घरबास कार्यक्रम पनि सञ्चालन गर्ने कि भन्ने विषयमा छलफलहरु चलेका छन् ।’
सोलेडाँडामा निर्माण भैरहेको सहिद पार्कमा नेपालका प्रथम सहिद लखन थापा मगरको शालिक राखिनेछ । उहाँसंगै नेपालको प्रजातन्त्र प्राप्तीका लागि ज्यानको बलिदानी दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिक रहनेछन् । नेपालको १० वर्षे द्वन्द्वमा मारिएका तमानका स्थानीय दुर्गाबहादुर बुढा, प्रेम घर्ती, ओमकार बुढा र गंगबहादुर पुनको शालिक पनि त्यहाँ राखिनेछ ।
तमानखोलाको मुख्य पर्यटकीय गन्तव्यको रुपमा सोलेडाँडाको विकास गर्ने योजना अगाडि सारिएको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा बताउँनुहुन्छ । केही पूर्वाधार निर्माणको काम भैसकेको अरु थप पूर्वाधारहरु थपिदै जाने उहाँले बताउनुभयो ।

‘हामीले हरेक वर्षको कार्यक्रममा सोलेडाँडालाई कही न कही समेटेका छौं,’ उहाँले भन्नुभयो, ‘यो तमानको मुख्य पर्यटन गन्तव्यको ठाउँ हो, खानेपानीको व्यवस्थापन, पिकनिक स्थल र उद्यान लगायतका संरचनाहरुले पाहुनालाई थप यहाँ आउन प्रेरित गर्ने विश्वास छ ।’
सोलेडाँडामा १० लाख रुपैयाँ खर्चेर खानेपानी र शौचालयको निर्माण गरिएको छ । शहिद पार्कका लागि पनि लगानी भएको छ । ‘यो ठाउँमा अब आन्तरिक मात्र होइन बाह्य पर्यटकहरु समेत ल्याउने गरी काम अगाडि बढ्छ,’ उहाँले भन्नुभयो, ‘पर्यटन पदमार्गबाट जोडेर विदेशी पाहुनाहरुलाई पनि यहाँ ल्याउने योजना छ ।’

बागलुङ काठेखोला हुँदै तारोखालाको दुरलेकबाट सोलेडाँडा हुँदै ढोरपाटन पुग्ने पर्यटन पदमार्ग निर्माणका लागि पहल भैरहेको उहाँले बताउनुभयो । ‘यी ठाउँहरु जोडेर पर्यटन पदमार्ग बनाउन सकिन्छ भन्ने विषयमा कुराकानी चलेको छ,’ उहाँले भन्नुभयो, ‘प्रदेश र केन्द्र सरकारसंगको समन्वयमा पदमार्गलाई व्यवस्थित गर्न सकियो भने सोलेडाँडा मात्रै होइन बागलुङका धेरै ठाउँको पर्यटन विकास हुन्छ ।’

सोलेडाँडामा आउने पर्यटकलाई स्थानीयको जीवनस्तर उकास्ने माध्यमको रुपमा कसरी विकास गर्ने भन्ने विषयमा पनि छलफल भैरहेको उनी बताउनुहुन्छ । सोलेडाँडामै पनि खाजा खानका लागि होटल रेष्टुरेन्टहरु सञ्चालनको विकल्पबारे पनि चर्चा हुने गरेको छ । सोलेडाँडामा हिउँद र बर्खा दुबै सिजनमा पर्यटक पुग्ने गर्छन् । हिउँदमा हिउँ खेल्न र बर्खाको समयमा गर्मी छल्नका लागि पनि सोलेडाँडा उपयुक्त ठाउँ हो । सडकको पहुँच समेत सहज भएको हुँदा यहाँ पर्यटक पुग्न समस्या छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?