जुम्लामा थपिए १ हजार ९२७ नयाँ मतदाता

Read Time = 3 mins

-विजय रावत

जुम्ला । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जुम्ला जिल्लामा १ हजार ९२७ जना मात्र नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

आयोगले असारबाट सुरु गरेको मतदाता नामावली सङ्कलन कार्यअन्तर्गत जिल्ला प्रशासन कार्यालय जुम्लाबाट ८८४ जना, इलाका प्रशासन कार्यालय सिंजा नराकोटबाट ४९० र जिल्ला निर्वाचन कार्यालयबाट ५२६ र बाहिरी जिल्लाबाट २७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका कम्प्युटर अपरेटर धनबहादुर रावलले जानकारी दिनुभयो ।

गत साउन १९ गते सरकारले आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेपछि साउन २० गतेबाट मतदाता नामावली सङ्कलन कार्य बन्द भएको थियो । कम्प्युटर अपरेटर रावलले भन्नुभयो, “निर्वाचन कार्यालय जुम्ला तथा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय नराकोट गरी तीन ठाउँबाट जिल्लामा मतदाता नामावली सङ्कलन भएको थियो । सो अवधिमा ३० जनाले मतदाता नामावलीमा आफ्नो नाम सच्याएका छन् । ३१ जनाले मतदाता नामावली सारेको कम्प्युटर अपरेट रावलले जानकारी दिनुभयो ।”
गएको स्थानीय तहको निर्वाचनमा जिल्लाबाट ६७ हजार ७४४ जनाको नाम मतदाता नामावलीमा दर्ता भएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । एक नगरपालिका सहित सातवटा गाउँपालिका गरी आठवटा स्थानीय तह रहेको जुम्लामा जिल्लाभरि ७९ मतदान स्थल र १०२ मतदान केन्द्र स्थानीय तहको निर्वाचनमा कायम गरिएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

जिल्लाको कुल मतदाता संख्याको आधारमा केही मतदान स्थल र मतदान केन्द्रको संख्या बढ्न सक्ने आयोगले जनाएको छ । आयोगको केन्द्रिय कार्यालयबाट जुम्लाको मतदाता संख्याको विवरण पठाएपछि मात्र मतदान स्थल र मतदान केन्द्रको टुंगो लाग्ने जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । निर्वाचन आयोगले मतदाता नामावली थप्नका लागि देशका जुनसुकै निर्वाचन कार्यालयमा आवेदन दिन सक्ने व्यवस्था गरेको थियो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?