पाँच दलीय गठबन्धन संविधान र कानुनी दुबै हिसाबले अप्राकृतिक र दुषित : नेम्वाङ

Read Time = 3 mins

-श्याम घिमिरे
अर्घाखाँची । नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पाँच दलीय गठबन्धन संविधान र कानुनी दुबै हिसाबले अप्राकृतिक र दुषित रहेको आरोप लगाउनु भएको छ ।

प्रेस चौतारी नेपाल अर्घाखाँचीले सोमबार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेम्वाङले यस्तो बताउनु भएको हो ।

नेम्वाङले एमाले बिरुद्ध ५ दलीय परमादेशी गठबन्धन लागीपरिरहेको भन्दै आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनले गठबन्धनलाई परास्तगर्ने दाबी गर्नुभयो । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेको लोकप्रिय मत आएको भन्दै नेम्वाङले एमालेलाई जनताको साथ र समर्थन रहेकोले आगामी निर्वाचनमापनि एमालेका उमेद्वाहरु विजय हुनेमा आफुहरु विश्वस्त रहेको बताउनुभयो ।

यस्तै अर्को प्रसंगमा नेम्वाङले राष्ट्रपति बिद्यादेवि भण्डारीले फिर्ता गरेको नागरिकता सम्बन्धी विधेयक संविधानमा भएको व्यवस्था अनुसारनै भएको टिप्पणी गर्नुभयो । विधेयकको एमालेले स्वागत पनि नगर्ने र बिरोधपनि नगर्ने भन्दै नेम्वाङले नागरीकताजस्तो संवेदनशिल बिषय संसदमा गहन छलफल नगरी सरकारले अगाडी बढाएकोले राष्ट्रपतिबाट संसदमा फिर्ता भएको बताउनुभयो । संविधानसभाका अध्यक्ष समेत रहनुभएका नेम्वाङले संसदमा फिर्ता आएको विधेयकका केही बुँदाहरु परिमार्जन गर्नुपर्नेमा जोड समेत दिनुभयो ।

कार्यक्रममा उपाध्यक्ष नेम्वाङ सहित सचिव टोपबहादुर रायमाझी, पोलीटव्युरो सदस्य बिमला घिमिरे, सूर्य थापा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
नेम्वाङ नेकपा एमाले अर्घाखाँचीले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन अर्घाखाँची आउनुभएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?