सर्‍यो नेपालगञ्ज म्याराथन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपालगञ्ज म्याराथनको आठौँ संस्करण पूर्वनिर्धारित समयभन्दा तीन साता पछि सरेको छ । मंसिर ४ गते हुने निर्वाचनका कारण नेपालगञ्ज म्याराथन मंसिर २४ गते आयोजना हुने भएको छ । यसअघि मंसिर ३ गतेका लागि म्याराथन तय भएको थियो ।
नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत् शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शनिबार म्याराथन हुँदै आएको थियो । म्याराथनको तयारी सुरु भएको आयोजक नेपालगञ्ज म्याराथनले जनाएको छ ।

क्रियटिभगञ्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको म्याराथनको आठौँ संस्करणका लागि साउन १५ गतेदेखि खेलाडी दर्ता खुला गरिसकेको छ । नेपालगञ्ज म्याराथनको वेबसाइटमा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिने आयोजकले जनाएको छ ।

गत वर्षझैं यस बर्ष पनि विभिन्न दसवटा विधामा स्पर्धा समावेश हुने बताइएको छ । जसमा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१किमी), १० किमी पुरुष खुला, ५ किमी महिला खुला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुलस्तरीय छात्रा, किड्स रन (८ देखि १२ बर्ष उमेरसमूह), २ किमी कर्पोरेट रन, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौड भने बाँके जिल्लास्तरीयमात्र हुनेछ ।

केही विधातर्फ नगद पुरस्कार राशिमा वृद्धि गरिने र केही सरप्राइज प्याकेज पनि घोषणा गरिने नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरीले जानकारी दिनुभएको छ । आठौँ संस्करणमा कम्तीमा आठ देशका धावकलाई सहभागी गराउने तयारी भइरहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?