पूजाले साफ च्याम्पियनसिप गुमाउने सम्भावना

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर पूजा रानाले महिला साफ च्याम्पियनसिप गुमाउने सम्भावना देखिएको छ । प्रशिक्षणका दौरान चोट बोकेका कारण उहाँले साफ च्याम्पियनसिप गुमाउने सम्भावना बढेको हो । आइतबार प्रशिक्षणका दौरान गोलरक्षकसँग ठोक्किँदा उहाँको बायाँ खुट्टामा चोट लागेको थियो । साफको तयारीस्वरूप नेपाली टोलीले आइतबार जावलाखेल युथ क्लबको मैदानमा अपराहृन गरेको प्रशिक्षणका क्रममा उहाँ गोलकिपरसँग ठोक्किन पुग्नुभएको थियो । घाइते पूजालाई तत्कालै ग्वार्काेस्थित बि एन्ड बि अस्पताल पुर्‍याइएको थियो ।

सन् २०१९ मा विराटनगरमा भएको साफ च्याम्पियनसिपबाट राष्ट्रिय टोलीमा डेब्यु गर्नुभएकी पूजा निरन्तर टोलीमा रहनुभएको छ । उहाँ नेपाल पुलिस क्लबको पहिलो रोजाइमा खेल्दै आउनुभएको छ । उमेर समूहमा नेपालको कप्तानीसमेत गर्नुभएकी उहाँले सन् २०१५ मा यू-१४ टोलीलाई दशरथ रंगशालामा खेल्दा नै कप्तानी गर्दै फाइनल पु¥याउनुभएको थियो ।

साफका लागि राष्ट्रिय टोलीको दोस्रो चरणको छनोटमा हाल ३५ खेलाडी रहेका छन् । दशरथ रंगशालामा हुने प्रतियोगिता भदौ २१ देखि असोज ३ गतेसम्म चल्नेछ । नेपाल रहेको समूह ‘बी’ मा भुटान र श्रीलंका रहेका छन् । आयोजक नेपालले उद्घाटन खेलमा भुटानको सामना गर्नेछ । खेल भदौ २१ गते साँझ ५ः३० बजे हुनेछ । दोस्रो तथा समूह चरणको अन्तिम खेलमा नेपालले भदौ २८ गते श्रीलंकासँग खेल्नेछ ।
भदौ ३१ गते सेमिफाइनलका दुई खेल हुनेछन् । त्यसपछि असोज ३ गते फाइनल हुनेछ । सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह चरणको खेलपछि समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । यस्तै समूह ‘ए’ मा साबिक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् ।

नेपाली टोलीको गोलरक्षकमा एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ र कविता विक रहनुभएको छ । टोलीको डिफेन्डरमा हिराकुमारी भुजेल, सिर्जना सिंह ठकुरी, गंगा गुरुङ, अमृता जैशी, गीता राना, पूजा राना, पुनम जर्घा मगर, निशा थोकर, सिर्जना चेमजोङ, विमला विक, समीक्षा घिमिरे हुनुहुन्छ ।

यस्तै मिडफिल्डरमा विमला चौधरी, मञ्जलीकुमारी योञ्जन, सविता राना मगर, प्रीति राई, सरु लिम्बू, दीपा राई, दीपा शाही, इन्दिरा राई, सरस्वती ऐर, अनिता बस्नेत, हिमा चौधरी र कुसुम खतिवडा र फरवार्डमा सावित्रा भण्डारी, अमिषा कार्की, रेखा पौडेल, अनिता केसी, रश्मीकुमारी घिसिङ, रजनी थोकर, निर्मला विक र चन्द्रा भण्डारी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?