कृषि औजार कारखाना चलाउन महावीरले सघाउने

Read Time = 5 mins

काठमाडौं । लामो समयदेखि बन्द अवस्थामा रहेको वीरगञ्जस्थित कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउन सरकारले डा. महावीर पुनलाई सहयोगका लागि आग्रह गरेको छ । अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. पुनबीच सोही सन्दर्भमा सोमबार अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ । सो अवसरमा अर्थमन्त्री शर्माले कृषि औजार कारखाना सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई अध्ययन गर्न आग्रह गर्नुभयो । उहाँले सरकारले कृषि औजार कारखाना सञ्चालन गर्ने निर्णय गरेको जानकारी गराउँदै कारखानाको हालको अवस्था अध्ययन गरी सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कृषि औजार कारखानाको अवस्थाको अध्ययन गरी छिट्टै सञ्चालनमा ल्याउने र यसलाई कृषि औजार उत्पादन कारखानामात्र नभई कृषि औजार आविष्कार केन्द्रका रूपमा पनि विकास गर्ने सरकारको लक्ष्य रहेको छ ।’

अध्यक्ष महावीर पुनले कृषि औजार कारखानाले नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उत्पादन गर्ने, मर्मतसम्भार गर्ने तथा नयाँ उपकरणको आविष्कार गर्नुपर्ने बताउनुभयो । कारखानालाई पुनर्जीवन दिई उक्त स्थानमा कृषि औजार आविष्कार केन्द्रसमेत बनाउने अर्थमन्त्रीको योजनाप्रति आफ्नो समर्थन रहेको उहाँले जानकारी गराउनुभयो । केन्द्रका अध्यक्ष डा. पुनले भन्नुभयो, ‘कृषि औजार कारखानाबाट नेपालका ग्रामीण किसानलाई आवश्यक पर्ने कृषि औजार निर्माण गर्नुका साथै साना तथा मझौला उद्योगलाई आवश्यक पर्ने औजारसमेत निर्माण गर्न सकिन्छ ।’

महावीर पुनले कृषि औजार कारखानाले नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उत्पादन गर्ने, मर्मतसम्भार गर्ने तथा नयाँ उपकरणको आविष्कार गर्नुपर्ने बताउनुभएको छ ।

कृषि औजार कारखानालाई कम्प्युटर प्रविधिबाट समेत सञ्चालन हुने गरी आधुनिकीकरणसमेत गर्न सकिने पुनले बताउनुभयो । अर्थमन्त्री शर्माले राष्ट्रिय आविष्कार केन्द्रको अध्ययनको सुझावअनुसार सरकारले छिट्टै कृषि औजार कारखानालाई पुनर्जीवन दिने बताउनुभएको अर्थमन्त्रीका जनसम्पर्क सल्लाहकार मनऋषि धितालले जानकारी दिनुभएको छ ।

कृषि कार्यमा प्रयोग हुने मानव, पशु र यान्त्रिक शक्तिबाट सञ्चालन हुने सस्तो, सरल, तथा सुलभ तरिकाबाट भूगोल सुहाउँदो कृषि यन्त्र र उपकरण उत्पादन गरी आयात प्रतिस्थापन गर्ने तथा कृषि क्षेत्रमा रोजगारी सिर्जना गरेर आयआर्जन क्षमता बढाउने उद्देश्यका साथ नेपाल सरकार र तत्कालीन सोभियत संघको संयुक्त लगानीमा २०२१ सालमा कृषि औजार कारखाना वीरगञ्जमा स्थापना भएको थियो ।

कम्पनीमा परिणत भएको कृषि औजार कारखाना, वीरगञ्जले सुरुका वर्षमा कृषि औजारको पर्याप्त उत्पादन गरी आपूर्ति गर्दै आएको भए पनि विविध कारणबाट कृषि औजार उत्पादनमा कमी हुँदै गयो । हाल देशमा कृषि यन्त्रको माग तथा आपूर्तिसमेत बढ्दै गइरहेको अवस्थामा कृषि यन्त्र आयातलाई कम गर्न तथा नेपालको भूगोल सुहाउँदो कृषि यान्त्रीकरण प्रवद्र्धन गर्न स्वदेशमै कृषि यन्त्र उत्पादन, विकास र विस्तारका लागि कृषि औजार कारखाना पुनर्जीवनको आवश्यकता महसुस भएको छ । कारखानाको आफ्नै स्वामित्वमा वीरगञ्ज उपमहानगरपालिका मजडिहा पिपरा ८ र ९ मा नौ बिगाह जग्गामा कार्यालय भवन, कारखाना भवन, आवास भवन तथा अन्य भवन र मेसिनरी रहेका छन् ।

२०४८ सालमा निजीकरण भएको कारखाना २०५१ मा फुकुवा गरी सञ्चालनमा आएकोमा २०५३ असारसम्म उद्योग न्यून क्षमतामा सञ्चालनमा रहेको थियो । निजीकरणपछि घाटामा सञ्चालन भएको र व्यवस्थापकीयलगायत विविध समस्याका कारण पटक–पटक उत्पादन बन्द हुँदै आएको कारखाना २०५९ सालदेखि पूर्णरूपमा बन्द भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?