पहिरोले दैलेखको सल्लेरी गाउँ जोखिममा, गाउँले भोकभोकै बस्नुपर्ने बाध्यतामा

हिमालय टाइम्स
Read Time = 5 mins

-नवीनकुमार शर्मा

दैलेख । अविरल वर्षातका कारण दैलेखको नौमुले गाउँपालिका–६ सल्लेरी गाउँ नै जोखिममा परेको छ । केही दिनदेखिको वर्षाका कारण गएको पहिरोले यहाँका २० घर पुरेको छ भने सात स्थानीयको ३५ रोपनी खेतीयोग्य जमिन बगाएको छ । शनिबार राती गएको पहिरोका कारण विस्थापित बनेकाहरू अहिले छिमेकीको घरमा बसिरहेका छन् । उक्त गाउँमा ४५ घर रहेका गाउँपालिकाले जनाएको छ । बाली उत्पादनका लागि राम्रो क्षेत्र मानिएको नौमुले क्षेत्रका बढी उत्पादन हुने खेतबारी पहिरोले बगाउँदा उक्त क्षेत्रका बासिन्दालाई पुग्ने धान सबैै नष्ट भएको हो । असारमा रोपाइँ गरेर वर्षभरि खान पुग्ने बाली भित्र्याउने आशामा बसेका स्थानीयहरूमाथि ठूलो बज्रपात परेको छ ।

सल्लेरीकी ५६ वर्षीया तुलसा सिंह केही दिनअगाडि आफूले रोपेको खेत सम्झेर भक्कानिनुहुन्छ । ६ हलगोरु र एक सयजनाभन्दा बढी खेताला लगाएर रोपेको खेत छिनभरमै पहिरोमा परिणत भएपछि अहिले उहाँलाई मर्नु न बाँच्नु भएको छ । उहाँ भन्नुहुन्छ, ‘केही दिनअगाडि ६ हलगोरु र एक सयजनाभन्दा बढी खेताला लगाएर रोपेको खेतको अहिले नामोनिसान छैन । खेताला लगाएको पैसा पनि पूरा तिर्न बाँकी छ । खेत पनि रहेन मिहिनेत पनि रहेन । कसरी बसौँ जतिबेला पनि खेतकै याद आउँछ ।’ घरछेउमै रहेको झण्डै १६ रोपनी खेत पहिरोले बगाएपछि कसरी परिवार पाल्ने भन्ने चिन्ताले सताएको पीडित सिंहले बताउनुभयो ।

पहिरोले उक्त गाउँका सात परिवारको ३५ रोपनी खेत बगाएको छ । कृषिमा निर्भर परिवारको सबै खेतबारीमा लगाएको धानसमेत पहिरोले बगाएर लग्दा कसरी घरपरिवार पाल्ने भन्ने चिन्तामा स्थानीय रहेको वडाध्यक्ष लालबहादुर चन्द बताउनुहुन्छ । उहाँले सबैसँग राहतका लागि आह्वानसमेत गरेको बताउनुभयो । पहिरोले नरबहादुर सिंह, कमला शाही, कमला सिंह, कुमबहादुर कटुवाल, दत्तबहादुर चन्द, नन्दे कटुवालसहितको २० घर पुरेको छ । उक्त स्थानमा गएको पहिरोले गर्दा त्यस क्षेत्रका २० देखि २५ घर र ठाडाखोलामा रहेका १७ घर उच्च जोखिममा रहेका नौमुले गाउँपालिका अध्यक्ष छवि सुवेदीले बताउनुभयो ।

अविरल वर्षातका कारण पहिरोले क्षति पु¥याएपछि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रहरी, पत्रकारलगायतको टोली प्रभावित क्षेत्रमा पुगी अनुगमन गरेको थियो । पहिरोले दर्जनौँ कृषकको बालीमा पुर्याएको क्षतिबारे नौमुले गाउँपालिका अध्यक्ष छवि सुवेदीले दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष सुवेदीले कृषकहरूले रोपेको धानको उत्पादनका आधारमा क्षति विवरण संकलन गरी पीडितहरूलाई गाउँपालिकाले राहतको व्यवस्थापन गर्ने बताउनुभयो । पहिरोको जोखिममा रहेका घरहरूलाई त्यहाँको अवस्था हेरी आवश्यक प्रक्रिया अगाडि बढाउने उहाँले बताउनुभयो । तत्काल क्षति विवरण संकलन गरी कामको प्रक्रिया अगाडि बढाउँछौँ,’ अध्यक्ष सुवेदीले भन्नुभयो ।

पहिरोका कारण सोही स्थानमा रहेको २० लाख लागतको निर्माणाधीन गुरुङखोला सिलाडी तल्लो नाउपानी मिलमा पनि पूर्णरूपमा क्षति पुर्याएको छ । भवन सम्पन्न भएको र मिलका सामान जोड्न बाँकी रहेका बेला पहिरोले क्षति पुर्याएको समितिका अध्यक्ष खड्कबहादुर रानाले बताउनुभयो । त्यस्तै पहिरोले तल्लो नाउली गाउँमा सञ्चालनमा रहेको खानेपानी आयोजनाको पाइपलाइनसमेत बगाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?