काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा राजनीति हुन थालेको छ । लामो समयदेखि उठ्न नसकेको फोहोर विसर्जनमा राजनीति हुन थालेको हो । यसअघि स्थानीयका नाममा अवरोध हुँदै आए पनि पछिल्लो समय दलहरू नै विसर्जनमा बाधक देखिएका छन् । प्रमुख दलका नेता-कार्यकर्ता खुलेरै फोहोर विसर्जनमा अवरोध गर्न आन्दोलनमा उत्रिएका छन् । यसअघि स्थानीय संघर्ष समितिका नाममा अवरोध र आन्दोलन हुँदै आएको थियो । सोमबार बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जन गर्न गएका गाडी सत्तारूढ दलका कार्यकर्ताले अवरोध पु¥याएका छन् । धुनिबेंसी-१ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ताहरूले फोहोर बोकेका गाडीलाई रोकेका हुन् ।
सम्झौता कार्यान्वयन नभएको भन्दै उनीहरूले सदाका लागि फोहोर विसर्जन अन्त्य गरिनुपर्ने भन्दै अवरुद्ध गरेका हुन् । सत्तारूढ दलको वडा समितिको अगुवाइमा सोमबार बिहानदेखि आन्दोलन सुरु भएको थियो । सदाका लागि फोहोर विसर्जन बन्द गर्नुपर्ने उनीहरूको माग छ । बञ्चरेडाँडामा सदाका लागि फोहोर विसर्जन कार्य बन्द गरिनुपर्ने मागसहित आन्दोलनमा उत्रिएको नेपाली कांग्रेस धुनिबेंसी–१ का वडा सभापति पूर्णसिंह तामाङले बताउनुभयो । अब सदाका लागि फोहोर विसर्जन बन्द गराउने निर्णय नभएसम्म आन्दोलन जारी रहने उहाँले बताउनुभयो ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका विष्णु तामाङले रहरले नभएर बाध्यताका कारण आन्दोलन गर्नुपरेको बताउनुभयो । नेकपा एकीकृत समाजवादीका वडा संयोजक भीषण धितालले राज्यबाट पटक-पटक भएका कुनै पनि सम्झौता कार्यान्वयन नभएकाले आन्दोलनमा उत्रिनु परेको बताउनुभयो ।
यसअघि आइतबार सत्तारूढ तीन दलका स्थानीय नेताहरूले विज्ञप्ति जारी गर्दै फोहोर विसर्जन सदाका लागि अन्त्य गर्नुपर्ने माग गरेका थिए । धुनिवेंशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केन्द्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त वक्तव्य जारी गर्दै बञ्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गर्नुभएको थियो ।
लामो समयदेखि फोहोर व्यवस्थापन नहुँदा काठमाडौंमा दुर्गन्ध फैलिएको छ । सडक, चोक र गल्लीमा थुप्रिएको फोहोर बर्खाको पानीले असरल्ल बगाएपछि थप दुर्गन्ध फैलिएको हो । गत वैशाखदेखि काठमाडौं उपत्यकाको फोहोर नियमित उठ्न सकेको छैन । कहिले स्थानीयवासीको अवरोधका कारण त कहिले सडक मर्मत भइरहँदा फोहोर नियमित जान सकिरहेको छैन । महानगरले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याउन भनेको थियो । तर, नियमित फोहोर नउठ्दा छुट्याएको फोहोर पनि मिसिएर सडकमा आउन थालेको छ । काठमाडौं उपत्यकाको १८ पालिकाको फोहोर दैनिक रूपमा सिसडोलमा पुग्छ । हाल काठमाडौंमा झण्डै एक हजार ३०० टन फोहोर उत्पादन हुँदै आएको छ । त्यसमध्ये झण्डै ६०० टन काठमाडौं महानगरको मात्रै हुन्छ ।
सत्तारूढ दलका स्थानीय नेताविरुद्ध उजुरी
फोहोर बोकेको गाडी पार्किङ गरेर राखिएको स्थानमा तोडफोड गरेको भन्दै सत्तारूढ दलका स्थानीय नेताहरूविरुद्ध जाहेरी दर्ता भएको छ । नेपाली कांग्रेस धुनीबेंशी नगरपालिका–१ का वडा सभापति पूर्ण सिंह तामाङ, माओवादी केन्द्र वडा कमिटी अध्यक्ष विष्णु तामाङ र नेकपा एसका वडा कमिटी अध्यक्ष भीषण धिताल लगायतविरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी परेको हो । उनीहरूविरुद्ध तोडफोड गरेको, तोडफोड गराउन अरूलाई उक्साएको भन्दै सम्बन्धित गाडी धनीहरूले किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । गत सोमबार राति बञ्चरेडाँडा ल्याण्डफिल क्षेत्रमा फोहोर बोकेर गएका गाडीहरू तोडफोड भएको थियो । उजुरी परेका स्थानीय नेताहरूले नै आइतबार बञ्चरेडाँडामा फोहोर फाल्न नदिने भन्दै विज्ञप्ति जारी गरेका थिए ।
प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर विसर्जन
काठमाडौं महानगरपालिकाले धादिङको बञ्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरेको छ । काठमाडौं, धादिङ र नुवाकोटका गरी करिब २५० प्रहरी परिचालन गरेर सोमबार फोहोर विसर्जन गरिएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले जानकारी दिनुभयो । सोमबार बिहान सत्तारूढ कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीको धुनिबेंशी वडा नम्बर १ का वडा समितिको अगुवाइमा फोहोर बोकेका टिपरलाई ढाँडेमा अवरोध गरेपछि प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको महानगरले जनाएको छ ।
प्रहरी परिचालन गरेर फोहोर विसर्जन गर्न खोजिए पनि स्थानीयले अवरोध भने जारी राखेका थिए । फोहोर बोकेर गएको गाडी र सुरक्षाकर्मीलाई रोक्न बञ्चरेडाँडाका बासिन्दाले डाँडाबाट गुलेली हानेको मेयर साहले बताउनुभयो । स्थानीय बासिन्दाको अवरोध खुलाउन पुगेको प्रहरी र स्थानीय बासिन्दाबीच ठाउँठाउँमा झडप भएको थियो । प्रहरीले स्थानीयबासिन्दालाई लखेटेर सोमबार अबेरसम्म बञ्चरेडाँडामा करिब दुई सय ट्रक फोहोर झारेको छ । प्रहरीले लखेटेपछि स्थानीयबासीले डाँडामा बसेर गुलेली र ढुंगा प्रहार गरेको मेयर साहले जानकारी दिनुभयो ।
फोहोर विसर्जनमा दलहरूकै अवरोध : मेयर साह
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले दलहरूकै कारण फोहोर विसर्जन गर्न नसकिएको बताउनुभएको छ । विसर्जनमा सत्तारूढ दलको अवरोध र त्यसमा विपक्षी एमाले र राप्रपाको समेत साथ रहेको उहाँको भनाइ छ । ‘फोहोर लैजाने कुरा सोमबार पनि सहज भएन । सत्तारूढ दलहरूकै स्थानीय नेताहरूको अगुवाइमा सडक अवरुद्ध गरियो,’ उहाँले भन्नुभएको छ, ‘जसलाई विपक्षी दल एमाले र राप्रपाका स्थानीय नेताहरूले पनि साथ दिएको देखियो ।’
राज्यले दुई दशकदेखि पाँच अर्ब बढी खर्च गरेर बनाएको ल्याण्डफिल्डमा फोहोर लैजान माथापच्ची हुनुमा गहिरो कारण रहेको उहाँको दाबी छ । विगतदेखि नै केही गल्ती भएको बताउँदै अब आफूहरू विगत दोहोर्याएर अपराध नगर्ने विश्वास दिलाउनुभएको छ । यसका लागि केही समय लाग्ने उहाँको भनाइ छ । सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेको दिगो उपयोगिताका लागि महानगर संवेदनशील रहेको उहाँले बताउनुभयो । ‘व्यवस्थापन हाम्रो स्वार्थहरूको गर्नुपर्ने होइन, फोहोरको हो । आफ्ना कुत्सित स्वार्थहरूको व्यवस्थापन महानगरले गरिदेला भन्ने सोच्नुभएको छ भने त्यो भ्रम हो,’ उहाँले भन्नुभएको छ, ‘त्यसो भन्दैमा कसैलाई हराउने खेलमा महानगर छैन । सबैले जित्ने कार्यक्रम लागू गर्ने योजनामा महानगर छ ।’ आइतबार मेयर साहले उपत्यकाको फोहोर व्यवस्थापनमा असहयोग भएको भन्दै आपत्ति जनाउनुभएको थियो । सत्ता गठबन्धनकै नेताहरूले फोहोर फाल्न नदिने भन्दै विज्ञप्ति जारी गरेपछि आपत्ति जनाउँदै बालेनले फोहोरमाथि कुहिएको खेल खेलिएको टिप्पणी गर्नुभएको थियो ।
प्रभावितद्वारा तत्काललाई आन्दोलन स्थगितको घोषणा
बञ्चरेडाँडाका प्रभावितले तत्काललाई आन्दोलन स्थगितको घोषणा गरेका छन् । सरकारले मागेको तीन महिना अवधि हेरेर भावी कदम चाल्ने भन्दै तत्काललाई उनीहरूले आन्दोलन स्थगित गरेका हुन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बञ्चरेडाँडा फोहोर ल्याडफिल्ड साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिले सरकारले प्रभावित क्षेत्रमा परेको असर र समस्या समाधानको उपायबारे प्रतिवेदन तयार पार्न तीन महिना समय मागेपछि हाललाई आन्दोलन रोकेको जानकारी दिएको हो ।
गत साउन २९ गते सहरी विकास मन्त्रालयले प्राविधिक परामर्श टोली गठन गर्ने र उक्त टोलीले तयार पारेको प्रतिवेदनअनुसार काम अघि बढाउने निर्णय गरेसँगै आन्दोलनका कार्यक्रम हाललाई स्थगित गरिएको समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिनुभयो । ‘सरकार र सहरी विकास मन्त्रालयले तीन महिनाभित्र प्राविधिक प्रतिवेदन तयार पार्ने र त्यसलाई विधानको रूपमा प्रयोग गरिने भनेसँगै आन्दोलन अहिलेलाई स्थगित गर्न तयार भयौँ, उहाँले भन्नुभयो, ‘राष्ट्रप्रतिको दायित्वबोध गर्दै आन्दोलनलाई स्थगित नभई यसको रूप मात्रै परिवर्तन गरेका छौँ ।’ ढुंगानाले काठमाडौं महानगरको काम र भूमिका हेरेर आगामी आन्दोलन तय हुने बताउनुभयो । उहाँले राज्यको प्रतिनिधित्व गर्ने काठमाडौं महानगरले धेरै वर्षदेखि स्थानीयहरूलाई अवाञ्चित रूपमा समस्या खडा गरेर चुप बसेको भन्दै उक्त कार्य फेरि नदोहो¥याउन चेतावनीसमेत दिनुभयो ।
त्यस्तै, स्थानीय मनोज तामाङले फोहोरको गाडी गुड्ने सडकमा फोहोर धेरै चुहिएको भन्दै उक्त सडकमा तत्काल पानी हालेर सफा गर्न सरकारसमक्ष आग्रह गर्नुभयो ।
युवा संघद्वारा फोहोर संकलन
नेकपा एमालेनिकट युवा संघ नेपालले काठमाडौंको नयाँ बानेश्वरमा फोहोर संकलन गरेको छ । लामो समयदेखि व्यवस्थापन हुन नसकेको फोहोर असरल्ल भएपछि सोमबार युवा संघका नेता–कार्यकर्ताले फोहोर संकलन गरेका हुन् । संघले काठमाडौं महानगरमा चुलिएको फोहोरको समस्यालाई सहयोग गर्न सरसफाइ कार्यक्रम आयोजना गरेको जनाएको छ । लामो समयसम्म पनि उपत्यकाको फोहोर व्यवस्थापनमा राज्यको ध्यान जान नसकेको भन्दै प्रतिकात्मक रूपमा फोहोर संकलन गरिएको युवा संघले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका