-विवेक खड्का
दाङ । पूर्वपश्चिम राजमार्गको लमहीबाट ३३ दशमलब ४४ किलोमिटर दक्षिणमा रहेको छ दाङको कोइलावास । कोइलावासको कुवामा बाह्रैमास पानी हुन्थ्यो । त्यही पानीबाट भातभान्सादेखि सबै काम गर्न पुग्थ्यो । उतिबेला कोइलावास खोलामा पनि पानी हुन्थ्यो । जबसम्म कोइलावास खोलामा पानी बग्यो, कुवामा पनि पानी अडियो । कोइलावास खोलामा ढुंगा उत्खनन् गरिएपछि पानीको सतह पनि गहिरिन पुग्यो । जसले गर्दा अहिले कोइलावासमा पानीको दुःख छ ।
खानेपानीका लागि धेरैपटक बजेट आयो । धारा जोडिए तर ती धाराले पानी दिएनन् । चैत-वैशाख लाग्यो कि भारतमा पानी थाप्न जानुपर्ने बाध्यता अहिले पनि छ । कोइलावासमा पानी र बिजुली एक्सचेञ्ज छ । भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालको बिजुली बाल्छ भने कोइलावासका नेपालीलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले खानेपानी दिन्छ । यो क्रम अहिले पनि जारी छ तर पछिल्लोपटक कोइलावासमा नेपाली भूमिबाट पानी तानेर वितरण गर्ने योजना अघि बढेको छ । जसअन्तर्गत एक सय धारा कोइलावासमा वितरण गरिएको छ । धारामा पानी झार्न भरपर्दाे पानीको स्रोत नहुँदा कोइलावासमा पानीको दुःख बढ्दै गएको स्थानीय कल्लु सिद्धिकीले बताउनुभयो ।
‘पानीको दुःख अहिले पनि उस्तै छ । खानेपानीका धारा वितरण गरिएको छ । त्यसमा पानीभन्दा बढी हावा आउँछ,’ उहाँले भन्नुभयो, ‘महिनामा मुस्किलले एक हप्ता पानी आउँछ ।’ कोइलावासका स्थानीयले इनारको पानी खाँदै आएका थिए तर त्यो इनार सुकेपछि पानीको संकट गहिरिएको हो । स्थानीय तहमा जनप्रतिनिधि आएपछि बितेको पाँच वर्ष पानीले प्राथमिकता पायो । पानीट्यांकी बन्यो । एक सय घरमा धारा पनि वितरण भयो । पहिलो डिप बोरिङबाट केही समय पानी चल्यो तर त्यो डिप बोरिङबाट राम्रो पानी आएन । त्यसपछि अर्काे बोरिङ धसियो । यसबाट सबैलाई पुग्ने पानी आएको छैन । हरेक दिन बिहान ७ बजेदेखि साढे ८ बजे डेढ घण्टामात्रै धारामा पानी छोडिन्छ । ‘पानीको मूल छैन । जमिनमुनिको पानी पनि राम्रोसँग भेटिएको छैन,’ स्थानीय अतिउल्लाह खानले भन्नुभयो, ‘चाहिएको बेलामा धारामा पानी आउँदैन । समितिले राम्रोसँग काम गर्न सकेको छैन ।’
कोइलावास खानेपानी उपभोक्ता समितिले करिब एक सय धारा वितरण गरेको छ । तर, ती धारामा पानी राम्रोसँग आउँदैन । यस वर्ष पनि कोइलावासको पानीका लागि प्रदेश सरकारले ३४ लाख बजेट विनियोजन गरेको छ । अघिल्लोपटक करिब एक करोडको हाराहारीमा बजेट थियो । त्यो बजेटबाट पूर्णरूपमा पानी सञ्चालन हुन सकेको छैन । यसपालिको बजेटबाट डिप बोरिङ, पानीट्यांकी र बजार क्षेत्रमा पाइपलाइन पुनर्निर्माणमा काम हुने वडाध्यक्ष खालिक सिद्धिकीले बताउनुभयो । ‘पानी पुर्याउने कोसिस त भएको हो तर डिप बोरिङबाट पानी राम्रोसँग आएन,’ उहाँले भन्नुभयो, ‘अब नयाँ डिप बोरिङसहित नयाँ पानीट्यांकी पनि बनाउनुपर्नेछ । त्यसपछि पानी पुग्छ कि ।’ कोइलावास बजारमा अहिले पनि पानीको समस्या रहेको उहाँले सुनाउनुभयो । ‘कतै मोटो पाइप छ । कतै मसिनो पाइप छ । जसले गर्दा पानी वितरण सहज भएको छैन,’ उहाँले भन्नुभयो, ‘खानेपानी आयोजनालाई पुनर्निर्माण गरेर सञ्चालन गर्नुपर्ने देखिन्छ ।’
कोइलावासमा १२० घरधुरीको बसोबास छ । कोइलावास नाका सुरु भएपछि कोइलावासमा चहलहपल बढ्छ । पानीको संकट उतिबेला धेरै पर्ने देखिन्छ । कोइलावासमा पानीको भरपर्दाे आयोजना सञ्चालन गर्न सरकारले ध्यान दिन सकेको छैन । यहाँको पानी संकट नयाँ होइन । तीन दशकअघिबाट यहाँ पानीको समस्या पर्दै आएको छ । भारतीय भूमिबाट पानी ल्याएर खानुपर्ने बाध्यता छ । एसएसबीको क्याम्पबाट पानी बोकेर प्यास मेटाउनुपर्ने बाध्यता कोइलावासले भुलेको छैन । भूमिगत पानीको संकटका कारण कोइलावासमा पानीको समस्या गहिरिएको हो । कोइलावास खोलामा पानी नहुँदा कोइलावास काकाकुल हुँदै आएको छ ।
पानी पुनर्भरणका लागि बाँध
कोइलावास खोलाको संरक्षण र बाँध निर्माण गरेर पानीको पुनर्भरणको योजना अघि सारिएको छ । जसका लागि गाउँपालिकाको प्राविधिक टोलीले खोलाको सर्वे गरेको छ । नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम (लापा) को आर्थिक तथा प्राविधिक सहयोगमा यस वर्ष खोलामा बाँध निर्माण गरेर पानीको पुनर्भरणको योजना छ । आर्थिक वर्ष २०७७/०७८ मा पनि कोइलावासमा बाँध बनाइएको थियो तर त्यो बाँध अधुरो छ । यसपटक पुनः बाँध निर्माण गरेर पानीको पुनर्भरणको योजना रहेको इन्जिनियर शेषमणि पौडेलले बताउनुभयो । ‘विगतमा खोलाको ढुंगा, गिट्टी, बालुवा उत्खनन् भएर निकासी भएको रहेछ ।
जसले खोलाको सतह गहिरिन पुग्यो । छेउछाउमा पहिरो गएको पाइयो,’ उहाँले भन्नुभयो, ‘खोलामा बनाइने बाँधले पानीको सतह बढ्ने आशा छ ।’ बाँध निर्माण गर्न ५५ लाख बजेट छ । यो बजेट अपुग हुने भएकाले थप बजेट आवश्यक पर्ने इन्जिनियर पौडेलले बताउनुभयो । कोइलावासमा पानीको जलाशय निर्माण आवश्यक रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बताउनुभयो । ‘कोइलावासको विकासका लागि यहाँ पानीको उपलब्धता जरुरी छ । त्यसका लागि जलाशय बनाउन आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘कोइलावास शहर निर्माणका क्रममा पानीको जलाशयको पनि योजना निर्माण हुनेछ ।’
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका