गरौँ योग : भगाऔँ रोग !

प्रा. देवीभक्त ढकाल
Read Time = 19 mins

२०७९ श्रावण २८ गते मकवानपुर निवासी कार्यक्रम प्रचारप्रसार प्रमुख सावित्री पराजुलीको फोनबाट पतञ्जलि योगचौतारी योगशाला अन्तर्राष्ट्रिय अनलाइन भर्चुअल मञ्चमा श्रावण २९ गतेको प्रातः कालीन योगशालाको ८४४औं सत्रको दीप प्रज्वलनको आतिथ्य ग्रहण गर्न र शुभ भाव प्रकट गर्ने जिम्मेवारी निर्वाह गर्न मलाई अनुरोध आयो । अन्य दैनिकीको बाहनामा योग कार्यक्रमलाई नकार्न सकिन । सावित्री बहिनीको आग्रहलाई स्वीकारेपछि कार्यक्रमको शैली, अनुशासन, मर्यादा, प्रक्रिया आदि बारे जान्नुपर्ने भयो । दीप प्रज्वलनको ठाउँ, प्रक्रिया बारे कुरा भयो । बिहान चार बजेपछि नै हामी जुममा हुन्छौँ बाँकी विषयहरू कार्यक्रमले औपचारिकता पाउनुअघि सहजकर्ता र व्यवस्थाकसँग सल्लाह लिन सकिन्छ भन्ने कुरा भयो । बेलुका चाडै निद्रा देवीको शरणमा गएँ । उठ्दा ३.३० बजेको रहेछ । बिहान ४.३० बजे नै जुम खोल्दा योग चौतारीको प्रातःकालीन योगशाला ८४४औं सत्रकी व्यवस्थापिका अमेरिका निवासी ई.प्रतिभा भट्टराईसँग योग साधिका सावित्री पराजुलीमार्फत परिचय भयो । त्यसक्रममा दीप प्रज्वलन गर्ने र योगाभ्यास गर्ने ठाउँको छनौट बारे सल्लाहमा भयो ।

केही नराम्रा घटनाक्रमले पनि राम्रा कामहरूको सुरुवात हुन्छ भन्ने नजिर बन्यो जुमका माध्यमले हुने योग प्रशिक्षण । यस्तो प्रविधि आविष्कार गर्ने, विकास-विस्तार गर्ने र सर्वसाधारणसम्म पहुँच पुर्‍याउने सबै धन्यवादका पात्र छन् ।

सहजकर्ताको जिम्मेवारी निर्वाह गर्ने व्यक्तित्व श्री पुरुषोत्तम चालिसेसँग पनि परिचय हुँदै गर्दा मेरो पनि संक्षिप्त परिचयको आदानप्रदान भयो । ब्रहृम मुहूर्तमा योग साधनाको व्यवस्थापनको नेतृत्व गर्ने व्यक्तित्वसँग भएको वार्तालाप, भेट जीवनको नितान्त फरक अनुभव र अनुभूतिले विशिष्ट प्रकारको ऊर्जा प्राप्त भएको अनुभव भयो । केही महिनाअघि दिल्ली भ्रमणको क्रममा कास्की घर भई विगत तीन दशकदेखि दिल्लीमा व्यवसायरत रामचन्द्र ढुंगानाले पनि यो कार्यक्रममा जोडिन अनुरोध बारम्बार गर्दा म जोडिन सकेको थिइन । इच्छा हुँदाहुँदै समय नआइकन त्यो काम हुँदैन भन्ने कुरा आजको सहभागीताले नजिर स्थापित गर्‍यो ।

मलाई भरखरमात्रै यो कार्यक्रममा जोडिने दिन प्रभुले निश्चित गरेकाले नै होला हिजो फोनमा ईश्वरकै प्रतिनिधिको रूपमा सावित्री पराजुलीले फोन गरेको अनुभूति भएको छ । पुण्यकर्म, सामाजिक सदाचार र स्वास्थ सुरक्षासँग सम्बन्धित योगको अभ्यास जस्तो पवित्र काममा प्रातःकालमा सहभागी हुने अवसरका लागि आयोजकप्रति आभार व्यक्त गर्छु ।

केही नराम्रा घटनाक्रमले पनि राम्रा कामहरूको सुरुवात हुन्छ भन्ने नजिर बन्यो जुमका माध्यमले हुने योग प्रशिक्षण । यस्तो प्रविधि आविष्कार गर्ने, विकास–विस्तार गर्ने र सर्वसाधारणसम्म पहुँच पुर्‍याउने सबै धन्यवादका पात्र छन् । कोरोनाको समयमा सशरीर उपस्थित भएर कार्यक्रम गर्न नहुने बाध्यताले संसारभर जुम कार्यक्रमको सुरुवात भयो । योग सिक्ने आकांक्षीले सिक्ने, बुझ्ने र प्रयोगमा ल्याउने, घरघरमै योगगुरुको सेवा, सहयोग जुमले उपलब्ध गराएको छ । जुम कार्यक्रमले संसारभरका योगसँग आबद्ध हुन चाहनेलाई जोडेको छ । यो प्रविधिलाई प्रयोगमा ल्याउने चिन्तन गर्ने, व्यवहारमै प्रयोगमा ल्याउने भूमिका निर्वाह गर्ने व्यक्तित्वहरूको योगदानको प्रशंसा गर्न समाजले कन्जुस्याइँ गर्नु हुँदैन ।

समाज परिवर्तनका ती स्वप्न द्रष्टाहरूको शुभ आकांक्षालाई इतिहासले भुल्ने छैन । अहिले जुमका कार्यक्रमहरू मध्ये पतञ्जलि योगशाला अत्यधिक जनसहभागीतामूलक कार्यक्रम हो । समाजमा प्रत्यक्ष प्रभाव पार्ने सन्दर्भमा मूल्यांकन गर्नुपर्दा यो अत्यन्तै सफल प्रभावकारी र सहभागीको मन छुने कार्यक्रम हो । आयोजकहरूले योगको महत्व र जीवनमा यसको प्रभावका सन्दर्भमा प्रचारात्मक अभियानलाई प्रभावकारी बनाउँदा यसको सहभागिता वृद्धि हुने सम्भावना छ । यसबारे आयोजकबाट समयको आवश्यकता, युगको चाहाना अनुसार थप चिन्तन र योजनाको तर्जुमा हुने नै छ ।

योगले समाजलाई कुबाटोबाट सुबाटोमा लाग्न प्रेरित गरेका कारण समाजमा परिवर्तनका संकेत भेटिन थालेका छन् भन्दै भगवानको शरणको बाटोमा घर, परिवार छरछिमेकलाई पनि लगाउन हामी सबैले प्रयत्न गर्नुपर्छ भन्नुभयो ।

कार्यक्रमको प्रसंशा गर्ने अर्को पक्ष के देखियो भने यो पूर्वनिर्धारित समयमै सुरु भयो । समाजमा स्खलित आध्यात्मिक भावनालाई जागृत गर्नेसमेत काम गर्ने वाक्यहरूको प्रयोगका साथै ब्रहृम मुहूर्तमा मंगल धुनबाट कार्यक्रम प्रारम्भ हुँदा मनका भावहरूलाई सकारात्मक बनाउन यस्ता कार्यक्रमको विशिष्ट भूमिका हुन्छ । योग चौतारीको प्रातःकालीन योगशालाको ८४४औं सत्रको प्रारम्भ दीप प्रज्वलन र दीप पुजनको मन्त्र उच्चारण गर्दै प्रारम्भ भयो । यस्तो पवित्र र समाज उपयोगी कार्यक्रमको दीप प्रज्वलनको जिम्मेवारीको अवसर मलाई उपलब्ध गराएकोमा योग चौतारी परिवारप्रति हार्दिक आभार प्रकट गर्दछु ।

दीप प्रज्वलनपछि योग प्रशिक्षको सामान्य परिचय गराइएको थियो । योग प्रशिक्षणको जिम्मेवारीमा मित्रराष्ट्र भारतकी शिक्षाविद आदरणीय रचना पाण्डे हुनुहुन्थ्यो । संयोग नै भन्नुपर्छ व्यवस्थापनको जिम्मेवारीको भूमिका निर्वाह गर्ने प्रतिभा भट्टराई अमेरिकामा, प्रशिक्षणको जिम्मेवारीमा हुने रचना पाण्डेजी भारतको दिल्ली प्रदेशको नोयडामा र दीप प्रज्वलनको जिम्मेवारीमा हुने म आफैँ भने काठमाडौंको स्युचाटारमा थियौँ । यसका साथै सहमागीहरू युरोप, अमेरिका, अष्ट्रेलिया आदि महादेशहरूमा बसेर योगको प्रशिक्षण लिँदै गर्दा योग चौतारी संसारलाई एकसाथ जोड्न कति सफल छ भन्ने कार्यक्रमको संरचनाले देखायो ।

योगले हामीलाई जोड्न कसरी सफल भएको छ भन्ने कुरामा कार्यक्रम स्वयं प्रमाण बन्यो । योग चौतारीले योग गुरुआमाको रूपमा भारतीय प्रशिक्षक रचना पाण्डेलाई जोड्ने कामले दुई देशका नागरिकबीच नागरिक तहमा सम्बन्धलाई विकसित र सुमधुर बनाउने कोणबाट मूल्यांकन गर्दा कार्यक्रमको सकारात्मक र दूरगामी भूमिका अर्को मननीय र प्रशंसनीय विषय भन्नुपर्छ । योग चौतारीको लोकप्रियतालाई र सहमागितालाई अभिवृद्धि गर्ने अनुकूल वातावरण निर्माण गर्ने भूमिका प्रशिक्षकको प्रशिक्षण शैली र विषयवस्तुको गहिरो ज्ञानसँग सम्बन्धित हुन्छ । कार्यक्रमलाई आकर्षक बनाउने मुख्य भूमिका नै योग प्रशिक्षकको हुन्छ ।

प्रशिक्षकको रूपमा छानिएकी गुरुआमा रचना पाण्डेको प्रस्तुति सहभागीको मन छुने खालको थियो । योगका विभिन्न आसनहरूले स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावका विषयमा गर्नुभएको व्याख्या र विश्लेषणले उहाँको योगसम्बन्धी योग्यता र विज्ञतालाई प्रदर्शन गरेको अनुभूति सबै सहभागीलाई भएको हुनुपर्छ । योगको सैद्धान्तिक र प्रयोगात्मक पक्षको व्याख्या र प्रयोगले उहाँमा योगसम्बन्धी विशिष्ट ज्ञान र अनुभव भएको अनुभूति सबैले गरेको हुनुपर्छ । हिन्दी भाषी प्रशिक्षकले पनि सरल र सजिलोसँग नेपालीहरूले बुझ्ने हिन्दीको प्रयोग गर्नु अर्को विशिष्ट योग्यता भएको कुरा प्रमाणित हुन्छ ।

योग चौतारी नेपालको प्रशिक्षक छनौटको काम प्रशंसनीय छ । रचान पाण्डेले निर्धारित समयमै प्रशिक्षण कक्षा समाप्त गर्दै सहभागी र आयोजक समेतलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको जानकारी गराउने बित्तिकै कार्यक्रम शुभ भाव व्यक्त गर्ने चरणमा प्रवेश गरेको कुरा सहजकर्ता पुरुषोत्तम चालिसेले जानकारी गराउनुभयो । शुभ भाव प्रकट गर्ने पहिलो वक्ताको रूपमा दीप प्रज्वलनकर्ताको हैसियतले म आफैँ भएँ । आफ्नो अध्ययन, प्राध्यापनभन्दा छुट्टै विषयवस्तुमा प्रवेश गर्ने कुरा मेरा लागि सहज थिएन । तथापि कार्यक्रममा सहभागी भएकाले कार्यक्रमको अनुभव र अनुभूति साटासाट गर्ने विषय भने खासै असहज हुने विषय पनि भएन ।

योग विज्ञानका आविष्कारक र प्रयोगका विषयमा प्रवेश गर्ने काम सहज छैन । योगले मानव जीवनमा पार्ने सकारात्मक प्रभावका कारण अहिले संसारका सबैजसो देशका नागरिकहरू विशेष आकर्षित भएको अवस्था छ । हाम्रा ऋषिमुनिहरूले अनादिकालदेखि अनुसन्धान र प्रयोग गर्दै आएको योग विधा समयको कालखण्डमा ओझेलमा परेको कुरा यसको इतिहासको अध्ययनले थाह हुन्छ । आधुनिक औषधि विज्ञानको प्रयोगले शरीर, मन, वातावरण तथा प्रकृतिसमेतलाई स्वस्थ राख्न असफल भएका कारण योग विधाको लोकप्रियतामा वृद्धि भएको वर्तमान अवस्थामा योगप्रति मानव जातिको झुकाव अत्यधिक बढेको छ ।

यसलाई संसारभर क्रान्तिकारी प्रचारात्मक अभियानको नेतृत्व गर्ने जिम्मेवारी निर्वाह गर्ने काम योगीराज रामदेव र आचार्य बालकृष्णको भूमिका अत्यन्तै प्रशंसनीय छ । अहिले संसारका नागरिकहरू योगप्रति किन र कसरी आकर्षित भए यसको लेखाजोखा इतिहासले गर्दा रामदेव र आचार्य बालकृष्ण नै प्रमुख पात्र हुन् भन्ने विषयमा शंका छैन । यस विधालाई लोकप्रिय बनाउन कोरोना महामारीको भूमिका पनि कम छैन । सशरीर उपस्थिति हुन प्रतिबन्ध हुँदा र औषधि नभएको रोगलाई नियन्त्रण गर्न प्राकृतिक चिकित्सा र योग आदि प्रभावकारी प्रमाणित भए ।

योगले जीवनमा पर्ने सकारात्मक प्रभाव उदाहरणका लागि शरीर स्वस्थ्य हुने, मन प्रशन्न हुने, विचार परिष्कृत हुने, मानसिक रोगको अचुक उपचार हुने, कार्यक्षमतामा वृद्धि हुने, व्यक्तित्व विकासमा सहयोगी हुने, निद्रा राम्रो पर्ने, खराब आदतबाट मुक्त हुने, सिद्धि प्राप्त गर्ने र अन्ततः मोक्षसमेत प्राप्त गर्ने हुँदा यो सानु आलेखमा यसबारे विस्तृत व्याख्यान सम्भव छैन । जे होस् योगको अनुसरणबाट आधुनिकताको नाममा प्रकृति र मानवबीच विकसित नकारात्मक सम्बन्धको प्रभावबाट बच्ने अचुक मन्त्र हो योग भन्दै सहभागी बन्ने र शुभ भाव प्रकट गर्ने अवसरका लागि सम्बन्धित सबैलाई धन्यवाद दिएँ ।

अब सहजकर्ताले नेपाली योग साधनामा ख्यातिप्राप्त व्यक्तित्व तथा कार्यक्रमका संस्थापक लवदेव भट्टलाई शुभ भाव प्रकट गर्ने पालो निर्धारण गर्नुभयो । अत्यन्तै सालीन शब्दमा आफ्ना भावहरू भित्र इतिहासका विषयलाई समेट्दै गर्दा उहाँको विशेष क्षमताको परिचयसमेत मन्तव्यमा झल्कन्थ्यो । इतिहासलाई सम्झँदै योग साधनाको नितान्त खडेरीमा हाम्रा गीता, भागवत, वेद, उपनिषद् आदि बहुमूल्य ग्रन्थ पढ्नेहरू चामलको बियाँ जस्तै भएको बेला जासुसी उपन्यास, फिल्म हेर्नेहरूको बिगबिगीका बीच सुरुवात भएको योग साधक प्रबद्र्धन गर्न सुरुवात गरेको कार्यक्रमको प्रभावले हाम्रा पूर्वीय ग्रन्थहरूलाई अध्ययन गर्ने र योग साधनामा जुट्नेको संख्यात्मक वृद्धिले हामी उत्साहित छौँ ।

योग साधकहरूको संख्यात्मक प्रबद्र्धनमा योगी महाराज र आचार्य बालकृष्णको योगदानको चर्चा गर्दै योगमा आबद्ध हुन कसैलाई रोगी बनाएर कसैलाई शिक्षा, प्रशिक्षण तथा जनसम्पर्क जस्ता माध्यमले जोडिएको इतिहासका संगीन कालखण्डहरूलाई स्मरण गर्नुभयो । योगले समाजलाई कुबाटोबाट सुबाटोमा लाग्न प्रेरित गरेका कारण समाजमा परिवर्तनका संकेतहरू भेटिन थालेका छन् भन्दै भगवानको शरणको बाटोमा घर, परिवार छरछिमेकलाई लगाउन हामी सबैले प्रयत्न गर्नुपर्छ भन्नुभयो । शुभ भावमा दीप प्रज्वलनकर्ता देवीभक्त ढकाललाई सहभागीता र शारीरिक स्वस्थताको महत्व बारे प्रकट विचारलाई धन्यवाद दिनुभयो ।

कार्यक्रमसँग सम्बन्धित सबैलाई नमन, प्रणाम गर्दै मन्तव्यमा हाम्रा चाडपर्वहरू नै हाम्रो पहिचान हुन् । नजिकैको तीज र सुदूरपश्चिमको धर्म संस्कृतिको धरोहर गौरा पर्वको कार्यक्रमले अन्य प्रदेशका संस्कृतिहरूलाई पनि जोगाउन उत्प्रेरित गर्ने विश्वास गरियो । यस संस्थाले योगका अतिरिक्त अनाथ, वृद्धहरू, असहायहरूका साथै सकेजति र भ्याएजति सेवा गर्ने हाम्रो भावनालाई सधैँ भगबण्डाको साथ रहनेछ भन्दै योगले सधैँ यसका लागि अभिप्रेरित गर्ने हुँदा बर्वाद भएकालाई सही बाटोमा लैजान सधैँ हामी प्रयत्नशील हुने प्रतिबद्धता व्यक्त गरियो । आयोजकहरू मध्ये पुरुषोत्तम चालिसे, प्रतिभा भट्टराई र निर्मला रामदामसमेतले शुभ भाव दिनुभयो ।

सावित्री पराजुलीले आफ्नो शुभ भावमा दीप प्रज्वलन गर्ने व्यक्तिको व्यवस्थापनमा सहयोग गर्ने ऋषिभक्त ढकाललगायत सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रमको अन्तिममा सहभागीहरू कल्पना दर्शन, जमुना श्रेष्ठ, अष्ट्रेलियाबाट छायाँ जोशीले शुभ भाव दिनुभयो भने कञ्चनपुरकी मञ्जु पन्तले डोटेली भाषामा गौरा पर्वलाई शुभ भावमा समेट्नु भएको थियोे । समग्र कार्यक्रम र शुभ भावभित्र ‘गरौँ योग भगाऔँ रोग’ भन्ने भावना मुखरित भएको थियोे ।

Subscribe
Notify of
guest
6 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
devibhakta dhakal
devibhakta dhakal
2022-08-16 10:19 am

धन्यवाद हिमालय टाइम्स परिवारलाई ।

Hom nath sapkota
Hom nath sapkota
2022-08-16 11:02 am

Veri nice work you did good i ‘m proud of you . Thank you too much.

Pratibha bhattarai
Pratibha bhattarai
2022-08-17 7:27 am

Yog chaurati has taught me many many things. I would love to share with you. Om

रिलेटेड न्युज

छुटाउनुभयो कि ?