काकाकुल दगातुम्डाँडावासीको घर-घरमा धारा

हिमालय टाइम्स
Read Time = 5 mins

-डम्मर बुढा मगर

बागलुङ केही समयअगाडिसम्म बडिगाड गाउँपालिका–२ दगातुम्डाँडामा खानेपानीको चरम समस्या थियो । खानेपानीको अभावले स्थानीयले विभिन्न समस्या खेप्नुपरेको थियो । अहिले घर–घरमा चिटिक्कका धाराहरू बनेका छन् । घरमै धारो बनेर पानी आउन थालेपछि गाउँले हर्षित भएका छन् । खानेपानीको अभावमा काकाकुल बनेका स्थानीयले अब धीत मर्ने गरी पानी पिउन पाउने भएका छन् ।

यस वडामा ‘एक घर एक धारा’ कार्यक्रम सञ्चालन भइरहेको छ । योजनाको काम पनि अन्तिम चरणमा पुगेको नेपाल स्वास्थ्यका लागि पानी (नेवा) का सामाजिक प्राविधिक कुशल थापाले जानकारी दिनुभयो । सात सय घरधुरी रहेको यस वडामा करिब पाँच सय घरमा ‘एक घर एक धारा’ सञ्चालनमा आइसकेको गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले जानकारी दिनुभयो ।

साबिक दगातुम्डाँडा गाविसका वडा नम्बर ६, ७, ८ र ९ वडामध्ये ८ र ९ वडामा ‘एक घर एक धारा’ तयार भइसकेको र साबिकका वडा नम्बर ६ र ७ मा पनि तीव्रगतिमा काम भएको उहाँको भनाइ छ । बडिगाड गाउँपालिका र नेवासँगको सहकार्यमा एक घर एक धारा निर्माण भइरहेको छ । सक्न्यार, लफरे सिरसिरे र राक्से बडहरे खानेपानी आयोजनाको काम पनि सकिएको उपाध्यक्ष वनले जानकारी दिनुभयो ।

हाँडिखोलामा पनि खानेपानी आयोजनाको काम सुरु भएको उहाँको भनाइ छ । जिमी सक्न्यार खानेपानी आयोजनाबाट तीन विद्यालयसहित १२७ धारा, लफरे सिरसिरे खानेपानी आयोजनाबाट ५९ धारा र राक्से बडहरे खानेपानी आयोजनाबाट ६० धारा निर्माण गरी साबिक वडा नम्बर ८ र ९ का सबै घरधुरीमा खानेपानी पुगेको उहाँले बताउनुभयो ।

जिमी सक्न्यार खानेपानी आयोजनामा नेवाको ६२ लाख, गाउँपालिकाको २९ लाख ३९ हजार ४१२, स्थानीयको तीन लाख ९९ हजार सहयोग र २९ लाख बराबरको जनश्रमदान गरी कुल एक करोड २४ लाख ३८ हजार ४१२ मा सम्पन्न भएको हो । बडिगाड वडा नम्बर १ बेतिनीमा खानेपानी मुहान रहेको उक्त आयोजनामा १२ वटा खानेपानी ट्यांकी निर्माण गरिएको छ भने २६ हजार ९११ मिटरमा पाइप बिछ्याइएको नेवाका सामाजिक प्राविधिक कुशल थापाको भनाइ छ ।

नेवाको २९ लाख ३४ हजार ५७३, बडिगाड गाउँपालिकाको पाँच लाख ८३ हजार ७२९, स्थानीयको एक लाख ५६ हजार ६ सय र जनश्रमदान १३ लाख ६ हजार २६० गरी कुल ३८ लाख ११ हजार १६२ रुपैयाँ लागतमा लफरे सिरसिरे खानेपानी आयोजनासमेत सम्पन्न भएको थापाले बताउनुभयो ।

१५ लाख ९९ हजार २२२ नेपाल स्वास्थ्यका लागि पानी (नेवा), बडिगाडको पाँच लाख, समुदायको दुई लाख ३६ हजार र जनश्रमदान चार लाख ९१ हजार ७०५ गरी कुल २८ लाख २६ हजार ९२७ को लागतमा राक्से बडहरे खानेपानी आयोजनासमेत सम्पन्न भएको उहाँको भनाइ छ । बडहरेमा मुहान रहेको उक्त खानेपानी आयोजनाका लागि चारवटा ट्यांकी निर्माण गरिएको छ । जसबाट ६० धारामा खानेपानी पुगेको छ । राक्से बडहरे खानेपानी आयोजनाका लागि सात हजार ५६० मिटर लामो पाइपलाइन निर्माण गरिएको छ ।

साबिक दगातुम्डाँडा गाविसका वडा नम्बर ६ र ७ का चार सय घरधुरी लाभान्वित हुने गरी प्रदेश सरकारमार्फत् खर्बाङ दनिया लिफ्टिङ खानेपानी आयोजनाको काम भइरहेको थापाको भनाइ छ । नेवा र बडिगाड गाउँपालिकाको सहकार्यमा अन्य वडाहरूमा पनि खानेपानी योजना सञ्चालनमा छन् । त्यसमध्ये केही सम्पन्न भइसके भने केही निर्माणकै चरणमा रहेको गाउँपालिकाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?